Your Ad Here
Showing posts with label cine box office. Show all posts
Showing posts with label cine box office. Show all posts

'अत्तो न पत्तो'को बक्स अफिस



सन्तोष रिमाल, काठमाडौं, असोज ९ - नेपाली चलचित्र क्षेत्रको निर्माण संख्यात्मक रूपमा बढे पनि व्यापारको तथ्यांक राख्ने संयन्त्र छैन। त्यही भएर फिल्मको 'बक्स अफिस' सम्बन्धित निर्माताबाहेक अरूले अनुमानमात्र गर्न सक्छन्। 'फस्ट लभ' का नरेन्द्रको भनाइमा अधिकांश निर्माता हचुवा भरमा फिल्म बनाउँछन्, अनि ठगिन्छन्। 'पचास लाखको फिल्म बनाउनेलाई कतिवटा हलमा चल्छ भन्नेसम्म थाहा हुँदैन,' उनको भनाइ छ, 'खाली ठूलो महत्त्वाकांक्षा र रंगीन दुनियाँको मोहले फिल्म बनाउने होडबाजी छ।'
नेपालमा मोटामोटी वर्षको ६० वटा फिल्म बन्छन् र त्यसमध्ये ६ वटाले मात्र लगानी उठाउने गरेको पाइन्छ। बजारमा 'सुपरहिट' भनिने फिल्म तिनै हुन्। निर्माणको संख्या हेर्दा बजार मागको हिसाबले पनि यो निकै बढी हो।
'एक वर्षमा १८ देखि २४ वटा फिल्म भए नेपालका हललाई पुग्छ,' फिल्म निर्माण, वितरण र प्रदर्शनमा समेत संलग्न नरेन्द्र भन्छन्, 'वर्षको ६० वटा बनेपछि कतिले लगानी उठाउनु?'
माग र आपूर्तिको सिद्धान्त फिल्म निर्माणको क्षेत्रमा पनि उत्तिकै लागू हुन्छ। मागभन्दा आपूर्ति बेसी भएपछि उत्पादकले घाटा खानुपर्छ। उत्पादन धेरै भएपछि बिक्रेता (हल सञ्चालक) हरूको एकाधिकार बढ्दै जान्छ।
नेपाल फिल्म उद्योगमा भएको यही हो। त्यसमाथि विदेशीको नक्कल र अस्तव्यस्त प्रदर्शन प्रणाली व्यापार घाटाका अन्य कारण हुन्।
यसबीच भर्खरै सुरु भएको डिजिटल सिनेमा नेपाल (डिसिएन) ले नयाँ डिजिटल पद्दति भित्र्याएको छ। देशभरका करिब ६५ हलमा नेटवर्क विस्तार गरेको डिसिएनमार्फत् ४० हलमा एकसाथ फिल्म देखाउन सकिन्छ। यसले फिल्म प्रदर्शन प्रणालीमा सुधार आउनुका साथै व्यापार बढ्दै गएको कम्पनीका महाप्रबन्धक अशोक शर्मा दाबी गर्छन्।
'यो प्रविधिबाट सबै सहरका दर्शकले एकसाथ नयाँ फिल्म हेर्न पाउँछन्,' उनी भन्छन्, 'तीन महिनामा व्यापारको छिनोफानो हुन्छ।' रिलिजका लागि दुई वर्षभन्दा बढी कुर्नपर्ने 'पालो प्रणाली' भन्दा यो चुस्त रहेको उनी बताउँछन्।
तथ्यपूर्ण 'बक्स अफिस' रिपोर्टमा जोड दिए पनि डिसिएनले कुन फिल्मले कति व्यापार गर्‍यो भन्ने तथ्यांक कहिल्यै खुलाउँदैन। अहिलेसम्म रेखा थापाको 'हिफजत'ले बढी व्यापार गरेको कम्पनीको दाबी छ। तर, कति कमायो त? जवाफ छैन।
फिल्मका कार्यकारी निर्माता छवि ओझा पनि कुल व्यापार र त्यसमा आफ्नो कमाइको हिस्साबारे खुल्न चाहँदैनन्। 'चालीस लाखजति कारोबार भयो कि!' उनी भन्छन्, 'लगानीसम्म उठ्यो।'
'सुपरहिट भनेको फिल्मले त लगानीमात्र उठाउँछ भने किन फिल्म बनाएर बस्नु त?'
यो प्रश्नमा उनको जवाफ यस्तो छ, 'उपकरण आफ्नै कम्पनीमा छ। घरमा हिरोइन छिन्।'
अहिले छवि 'कसले चोर्‍यो मेरो मन' रिलिजको तयारीमा छन्। यसको लगानी ६५ लाख रुपैयाँ बताइएको छ।
डिसिएनकै 'रेकर्ड ब्रेक' गर्ने फिल्मबाट जम्मा ४० लाख उठेको बताउने छविले ६५ लाखको जोखिम किन मोले त?
'एउटा बनाइहालियो। अब सानो बजेटका फिल्म बनाउँछु,' उनी भन्छन्।
डिसिएनले पनि आधिकारिक रूपमा हिफाजतको कमाइ खुलाएको छैन। कम्पनी स्रोतका अनुसार यसले ९५ लाख रुपैयाँ निर्माताको पोल्टामा पार्न सफल भयो।

हिरोकै दम
फिल्मलाई निर्देशकको माध्यम भनिन्छ। तर, नेपालमात्र यस्तो देश होला, जहाँ अझै निर्माता र वितरकले फिल्मको बागडोर सम्हाल्छन्। उनीहरू कथा टिप्छन्, कलाकार छान्छन्, अनि बल्ल निर्देशकको खोजी हुन्छ। मानौं, निर्देशक भनेका 'एक्सन' र 'कट' भनेर जागिर पकाउने कर्मचारी हो।
फिल्म बोक्ने सारथी 'हिरो'लाई मान्ने चलन अरू देशबाट 'श्यामश्वेत' सिनेमाजस्तो हराइसक्यो। नेपालमा भने कलाकार, त्यसमाथि पनि हिरोको मुख हेरेर फिल्मको मूल्य तोक्ने चलन गएको छैन।
तर, पछिल्लो समय 'पोस्टर भ्याल्यु' नभएका कलाकारको फिल्म पनि राम्रो चल्न थालेपछि यो मान्यता तोडिँदै गएको हो कि भन्ने भान पर्छ। 'कहाँ भेटिएला', 'म तिमीविना मरिहाल्छु', 'हिफाजत' र 'फस्ट लभ' नयाँ कलाकारकै दममा चले।
'फलानो हिरो लिए यति दिन्छु भनेर फिल्मको मूल्य तोक्ने अवस्था छैन,' शर्मा भन्छन्।
तर, उनले जे भने पनि फिल्मको विषयवस्तुअनुसार पात्र होइन, कलाकार छानेर 'स्क्रिप्ट' लेख्ने चलन अझै छँदैछ।

विराज सबभन्दा महंगा
बजारमा विराज भट्टको प्रभाव छ। आफ्नो माग बुझेर उनले मूल्य पनि बढाइसके। एउटा फिल्म खेलेको ४ लाख लिने भट्ट सबभन्दा महंगा कलाकार मानिन्छन्। धेरै फिल्ममा उनलाई लिएर हिट भएका निर्देशक दिपक श्रेष्ठले आफ्नै लागानीको 'हिम्मत २' मा दोहोरो भूमिका दिए। काठमाडौंबाहिर चलिरहेको यो फिल्मले दिपकलाई सोचेजति सफलता भने दिन सकेको छैन।
विराज भए जस्तो फिल्म पनि चल्छ भन्ने निर्माताको मान्यता यसले एक हदसम्म तोडेको छ।
राजेश हमाल 'पोस्टर भ्याल्यु' कै कारण २० वर्षदेखि छाइरहेका छन्। अहिले पनि उनको व्यस्तता उत्तिकै छ। एक्सन फिल्ममा राजेश र विराज सँगै निखिल उप्रेतीको माग पनि चर्को थियो। उनी मुम्बई लागेपछि आयुष रिजाल, सुमन सिंहजस्ता कलाकारले रिक्तस्थान भरेका छन्।
नेपाली चलचित्रमा एक्सनसँगै प्रेमकथाको धार समानान्तर रूपमा बढेको छ। एक्सन फिल्ममात्र चल्छ भन्ने मान्यता बोकेको उद्योगमा श्रीकृष्ण श्रेष्ठको 'कहाँ भेटिएला'ले राम्रो व्यापार गर्‍यो। त्यसपछि त प्रेमकथाको लहरै चल्यो। यो धारमा अहिले धेरैको रोजाइमा परेका नायक हुन्, आर्यन सिग्देल। राजवल्लभ कोइराला र जीवन लुइँटेल पनि यसमा 'फिट' मानिन्छन्।

रेखाकै बोलबाला
नेपाली फिल्मले हिरोइनलाई भने खासै महत्त्वमा राख्दैन। फिल्म हेर्दा लाग्छ, नाच्नु र ग्ल्यामर दृश्य दिनु नै उनीहरूको काम हो। पारिश्रमिकको मामिलामा पनि यी हिरोभन्दा निकै पछाडि छन्। हिरोइनले लिड गरेको फिल्म पनि चल्छ भनेर साबित गरेपछि रेखा थापाको मार्केट भ्याल्यु बढेको छ। धेरै समय अरूको फिल्ममा 'आइटम डान्स' गरेकी रेखाले हिरोइनको प्रभाव देखाइन्, होम प्रोडक्सनको फिल्मबाट। उनले आफ्नो भूमिका केन्द्रमा राखेर 'हिम्मत' बनाइन्। प्रचार सामग्रीमा आफ्नै रोललाई महत्त्व दिइन्। विराज र रमित ढुंगानालाई समेत छायाँमा पार्ने भूमिका थियो, रेखाको।
फिल्म चल्यो।
यसले रेखाको आत्मविश्वास चुलियो। उनी बाहिरका फिल्म छान्न थालिन्। 'किस्मत'मा विराज र आर्यन सिग्देलका साथ उनलाई सफलता मिल्यो। त्यसपछि 'हिफाजत' बनाएकी रेखाले आर्यनसँगै नयाँ हिरो आयुष रिजाललाई खेलाइन्। फिल्मले डिसिएनको बक्स अफिसमै रेकर्ड राख्यो। ५० हजार रुपैयाँ हाराहारीमा फिल्म खेल्ने हिरोइनमाझ रेखाको भाउ बढ्यो।
अहिले उनलाई डेढ लाख रुपैयाँ पारिश्रमिक दिन पनि निर्माताहरू धक मान्दैनन्। रेखा भने तीन लाख घटी फिल्म नखेल्ने बताउँछिन्। 'मैले पनि हिरोले जस्तै रिस्क मोलेर काम गर्नुपर्छ। उनीहरू ५ लाख लिने भइसके, म चाहिँ किन थोरैमा खेल्नु?' फिल्म 'जलजला'को सुटिङमा रहेकी रेखाको भनाइ छ, 'हिरोइनको पारिश्रमिक बढ्न सकेन। मैले त्यसको सुरुवात गरेँ।'
रेखापछि व्यस्त र बढी पारिश्रमिक लिने हिरोइन हुन्, झरना थापा। बाँकी हिरोइनको औसत पारिश्रमिक ५० हजारभन्दा माथि पुग्न सकेको छैन। म्युजिक भिडियोबाट आएका नम्रता श्रेष्ठ, निशा अधिकारी लगायत भने सुरुवातमै उचित पारिश्रमिक पाउनेमा गनिन्छन्।
 
बक्स अफिसका तीन दृष्य
दृश्य : १
'२ लाख ३३ हजार ५ सय ४९ रुपैयाँ।'
फिल्म 'दिपशिखा' का निर्माता-निर्देशक नरेश पौडेलले दस दिनअघि एउटा एसएमएस पठाए - 'अष्टनारायण हलमा आज नेपाली फिल्मको अहिलेसम्मकै बढी 'कलेक्सन' भयो।'
त्यसको ठिक भोलिपल्ट राजधानीकै कुमारी हलमा 'दिपशिखा' हेर्न यति कम दर्शक आए, हलले फिल्म देखाउनै सकेन। टिकट काट्नेको पैसा फिर्ता भयो। र, फिल्म फेरियो।
तर, नरेशले यो खबर 'एसएमएस' गरेनन्।
नरेशको यो व्यवहार फिल्म निर्माताहरूको साझा शैली हो। उनीहरू यति 'जाति' छन्, फिल्मले जतिसुकै नराम्रो व्यापार गरे पनि राम्रो खबरमात्र सुनाउँदै हिँड्छन्। हलमा चलुञ्जेल कीर्तिमानको डिङ हाक्ने निर्माताहरू फिल्म उत्रेपछि सानो अनुहार पारेर घुमाइफिराइ घाटाको तथ्यांक सुनाउँछन्। भन्छन्, 'फिल्म त चलेको हो, हलवाला र वितरक मिलेर ठगे।'
...
दृश्य : २
'फस्ट लभ' पछिल्लो समय सफल मानिएको फिल्म हो। लामो समय फिल्म वितरण र प्रदर्शन गर्दै आएका नरेन्द्र महर्जनले यसमा निर्माताको समेत बागडोर सम्हाले। देशभरका मुख्य सहरमा एकसाथ रिलिज भएको यो फिल्मले डेढ करोडभन्दा बढी कमाएको दाबी गरेका थिए, अर्का निर्माता माधव वाग्लेले।
'तर, हातमा १० लाख परेको छैन,' मुख्य स्टेसनबाट फिल्म उत्रिएपछि उनको बोली फेरियो, 'दर्शक नगद तिरेर टिकट काट्छन्। हामीले उधारोमा चलाउनुपर्छ।'
नरेन्द्र भने असन्तुष्ट हुने ठाउँ दैख्दैनन्। '२५ लाखसम्म घाटा परेपनि खप्न तयार भएर बनाएको फिल्मले ३० लाख फाइदा गरायो,' उनी भन्छन्, 'लगानी मात्र उठाएकोलाई 'भयंकर चलेको' भनिन्छ। हाम्रो व्यापार त उम्दा हो।'
...
दृश्य : ३
'गंगाजल'का निर्देशक प्रमोद भण्डारीले राजधानीबाहिरका हलमा राम्रो व्यापार भएको दाबी गरेका थिए। अहिले उनी वितरक र हलवालाले ठगेको गुनासो गर्दै हिँड्छन्।
'वितरकहरू निर्माताको शोषण गर्छन्। उनीहरू पहिल्यै हलबाट पैसा उठाउँछन्। हामीलाई राम्रो हल छान्न दिँदैनन्,' उनको आरोप छ, 'हलवालाहरू चाहिँ पोस्टर टाँस्ने पिठोको पनि हिसाब राख्छन्।'
from nagariknews online