Your Ad Here
Showing posts with label nepal. Show all posts
Showing posts with label nepal. Show all posts

मुना, मदन र भोटे




दीपेन्द्र लामा, काठमाडौं, साउन ९- नाटक 'डल्स हाउस'मा 'नोरा' बनेकी निशा शर्मा शनिबार गुरुकुलमा 'मुना'को भूमिकामा रिहर्सल गर्दैथिइन्। हेनरिक इब्सनको नाटकमा नोराले लोग्नेको घर छाडेर विद्रोह गर्छे। तर, लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन'मा चाहिँ विदेशिएको लोग्नेको वियोगमा पिरोलिन्छे 'मुना'। 'रोल फरक छ, त्यसैले मिहेनत गर्दैछु,' निशाले भनिन्।
आरोहणले बेइजिङमा मञ्चन गर्न लागेको 'मुनामदन'मा मदनको भूमिका अनिल पोखरेलले निर्वाह गर्नेछन्। उनी पनि निशासँग दाह्रीसहित रिहर्सल गर्दैथिए। 'सपनाको साबिती' नाटकमा मुसलमान पात्र बनेकाले उनको दाह्री काट्न नमिलेको हो। अनिलले 'मदन'को भूमिकालाई अवसर र चुनौती दुवै मानेका छन्।
अर्को महŒवपूर्ण पात्र भोटेलाई सौगात मल्लले जीवन्त पार्नेछन्। सौगातले यसअघि 'कागबेनी' फिल्ममा हिमाली पात्रको अभिनय गरिसकेका छन्। ज्यान र हुलियाले गर्दा उनलाई भोटे बन्न सजिलो भएको छ।
नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्षगाँठको अवसरमा 'मुनामदन' मञ्चन गर्न लागिएको हो। बेइजिङस्थित नेपाली राजदूतावासले साउन १८ मा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा नाटक देखाउन गुरुकुलको २३ सदस्यीय टोली साउन १४ मा चीन प्रस्थान गर्दैछ।
समय थोरै भएकोले 'मुनामदन'को रिहर्सल दैनिक १० घन्टा चलिरहेको छ। 'राम्रोसँग सुत्न पाइएको छैन,' नाटकका निर्देशक सुनिल पोखरेलले भने, 'सपनाको साबिती नाटकलाई निरन्तरता दिइएकोले पनि हाम्रो टोलीलाई धपेडी भएको हो।'
'मुनामदन' चिनियाँ भाषामा अनुवाद भइरहेको र यो नेपाल-चीन सम्बन्धमाथिको कथा भएकोले मञ्चनका लागि रोजिएको सुनिलले बताए। देवकोटाले छन्दमा लेखेको यो खण्डकाव्यलाई गद्यात्मक शैलीमा मञ्चन गरिँदैछ। छन्दमा लेखिएका हरफहरूलाई कवि विप्लव प्रतीकले गद्यात्मक संवादमा रूपान्तरण गरिदिएका छन्। संवादको एक ठेली उनको हातमा सधैं हुन्छ, किनभने उनी पनि नाटकमा अभिनय गर्दैछन्।
नाटकको भाषा नेपाली भएकोले संवादलाई कम र कोरियोग्राफीलाई बढी प्राथमिकता दिइएको छ। कोरियोग्राफीको जिम्मेवारी अर्जुन बिसीले सम्हालिरहेका छन्। करिब सवा घन्टा लामो हुने नाटकमा 'हातको मैला सुनको थैला', 'छेत्रीको छोरो यो पाउ छुन्छ' जस्ता कालजयी हरफहरू भने छन्दमै राखिएको विप्लवले जानकारी दिए।
निर्देशक सुनिलले एकपटक चिनियाँ रंगकर्मीको 'डल्स हाउस' नाटक हेरेका छन्। त्यसबाहेक चीनको वर्तमान रंगकर्मलाई उनले नियाल्न पाएका छैनन्। त्यसैले आरोहणको मञ्चनलाई चिनियाँ दर्शकको कस्तो प्रतिक्रिया आउलान्, उनी अनभिज्ञ छन्।
'परम्परागत र आधुनिक शैलीलाई मिसाएका छौं,' सुनिलले भने, 'नाटक मूर्त पनि छ, अमूर्त पनि छ। शरीरको भाषालाई बढी प्रयोग गरिएको छ।'
नाटकमा अरुणा कार्की मदनकी आमा, सरिता गिरी दिदी, सरस्वती चौधरी नैनी र राजकुमार पुडासैनी गुन्डा बनेका छन्। कमलमणि नेपाल, भोला सापकोटा, खगेन्द्र लामिछाने, वसन्त भट्ट, पशुपति राई, प्रमिला कटुवाल, जानकी चौधरी, सजन थापा मगर, विपीन कार्की र मणिराम पोखेरलको पनि अभिनय रहने 'मुनामदन'मा प्रवीण खतिवडाको ध्वनि संयोजन हुनेछ। बेइजिङमा नाटकले सफलता पाएमा नेपालमा देखाइने सोच निर्देशक सुनिलको छ। 
nagariknews.com

प्रधानमन्त्रीका लागि त्रिपक्षीय भिडन्त


४०१ को समर्थन नभए खनालले फिर्ता लिने
काठमाडौं, साउन ४ (नागरिक)-  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिएपछि प्रधानमन्त्री पदमा मुख्य तीन दलका नेताबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार पाँच बजेसम्म संसदको महासचिव कार्यालयमा पुष्पकमल दाहाल, रामचन्द्र पौडेल तथा झलनाथ खनालको उम्मेदवारी दर्ता भएको छ।
एमालेले प्रानमन्त्रीमा खनाललाई उठाउने निर्णय गरेको २० मिनेटपछि पोलिट्ब्युरो बैठकले गरेको निर्णय लिएर संसद भवन पुगेका माओवादी अध्यक्ष दाहालले भने-  'विगतको सरकारले शान्ति र संविधानलाई अघि बडाउन सकेन, त्यसैले विगतको जस्तो सरकार नबनोस् भन्ने चाहना छ।' दाहालले भोलि ११ बजेसम्म सहमतिका लागि प्रयास गर्ने त्यसपछिको अवस्थालाई हेर्दै अघि बढ्ने बताएका छन्। शान्ति र संविधान सुनिश्चित हुने गरी राष्ट्रिय सरकार बन्छ भन्ने आशाले आफूले मनोनयन दर्ता गराएको उनले दाबी गरे।
अध्यक्ष दाहाललाई उम्मेदवार बनाउने निर्णय गरे पनि माओवादीको संस्थापन पक्षले एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने संकेत दिएको छ। अध्यक्ष दाहालको उम्मेदवारी दर्ता गरे लगत्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो कुरा लुकाउन सकेनन्। मिडियाकर्मीको प्रश्न सामना गर्दै उनले भने, 'एमालेको निर्णयका कारण सोमबारको पोलिट्ब्युरो निर्णयमा अडिग रहन सक्ने अवस्था छैन',- दाहालको उम्मेदवारीमा समर्थक बसेका श्रेष्ठले जानकारी दिए। अन्तिम समयमा रणनीति फेर्न खप्पिस माओवादीको संस्थापन पक्षका नेता श्रेष्ठले संसद भवनमा यसो भन्न समेत भ्याए- 'हामीलाई एमालेको निर्णयले गर्दा आप्ठ्यारो पर्‍यो। एमालेले जुन निर्णय गरेको छ। त्यसैका कारणले हामीले उम्मेदवारी दिनुपर्‍यो।'

एमाले केन्द्रीय कमिटीले खनाललाई प्रधानमन्त्रीको प्रत्यासी बनाउने निर्णय गरेको २० मिनेटपछि माओवादीले दाहाललाई आफ्नो दलको उम्मेदवार चयन गरेको थियो।
अध्यक्ष खनाललाई एमालेले दुई तिहाइ बहुमत हुने अवस्थामा मात्र मतदानमा भाग लिने म्यान्डेड दिएको छ। त्यसका लागि माओवादी वा कांग्रेसको साथ लिनु खनालका लागि महत्वपूर्ण हुनेछ। '४०१ बन्ने स्थिति बनेन भने उम्मेदवारी फिर्ता लिन्छौं', खनालले भने- 'दुई तिहाइ बहुमत आउने अवस्था नबने अरु कसैलाई मत नहाल्ने निर्णय हाम्रो पार्टीको छ।' पार्टीका उम्मेदवारको पक्षमा ४०१ प्राप्त नभए एमालेका सभासद्हरुले अन्य उम्मेद्वारहरुको पक्षमा मतदान नगर्ने केन्द्रीय कमिटीको निर्णयले खनाललाई प्रधानमन्त्री बन्न सहज छैन।

मधेसी दल सहितका २२ साना दलले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेका छैनन्। साना दलहरु राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिए पनि उनीहरुको माग शान्ति र संविधान रहँदै आएको छ। दाहाल-खनाल प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराइरहँदा भएको २२ दलको बैठकले सहमतिको सरकार बनाउन नसक्ने ठूला दलप्रति खेद जनाउँदै भोलिको निर्वाचनमा विवेकको मतदान गर्ने निर्णय गरेको छ। यसको मतलब माओवादी निकट रहेका साना दलले माओवादीलाई प्रजातान्त्रिक शक्तिले पौडेललाई मतदान गर्ने सम्भावना छ।

एमालेले बुहमतीय सरकारको लागि कसैलाई सहयोग नगर्ने निर्णय कायम रहेसम्म कांग्रेसका रामचन्द्र पौडेलको पक्षमा सहमति जुट्न सहज छैन। कांग्रेसले आफ्नो नेतृत्वको सरकार गठनको निर्णय गरे पनि आफ्नो पक्षमा सहमति नजुटे कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन। 'मत माग्ने काम जारी छ', रामचन्द्र पौडेलले उम्मेदवारी दर्तापछि भने- 'राजनीतिमा विभिन्न किसिमको संयोग मिल्नुपर्छ। भोलि त भन्न सक्तिन त्यसपछिको परिस्थिति कम्तिमा बहुमत जुटाउने हो।'

दाहाल र खनाल राष्ट्रिय सहमतिका लागि अडिग रहने र कांग्रेसले अरुलाई समर्थन नगर्ने अवस्था रहँदा पौडेलले संकेत गरेजस्तै बुधबार नेपालको ३४ औं प्रधानमन्त्री चुनिने सम्भावना न्युन देखिएको छ। कसैको बहुमत नआएमा बढी मत पाउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ।
nagariknews.com

अपराह्नसम्म कसैलाई सुँइकोसम्म दिएनन् प्रधानमन्त्रीले राजीनामाको

माधव ढुङ्गेल, काठमाडौं, असार १७- प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार अपराह्नसम्म कसैलाई राजीनामाको सुँइको दिएका थिएनन्। बिहान साढे ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामाबारे कुनै जानकारी गराएका थिएनन्। नेपालले बुधबार मध्याह्नपछि आकस्मिक रूपमा मात्र राजीनामा दिने मनस्थिति बनाएका थिए।
   बिनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले राजीनामा दिने कुरा आफूले साँझ ५ बजेमात्र जानकारी पाएको बताए।
संसद्को राज्य व्यवस्था समितिले बुधबारै संसद् अधिवेशन सुरु हुने दिन असार २१ अगावै प्रधानमन्त्री र गृहमन्त्रीलाई समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार, प्रधामन्त्री नेपालसँग समय माग्न टेलिफोन सम्पर्क गरेका समितिका सभापति रामनाथ ढकाललाई दिउँसो करिब १ बजे उनले असार १९ वा २० गतेका लागि बैठक राख्न आग्रह गरेका थियो।
दिउँसो करिब साढे १ सम्म प्रधानमन्त्री नेपाल सिंहदरबारस्थित कार्यालयमा थिए। त्यसपछि उनी आफ्नो निवास बालुवाटार गएका थिए। २ बजे मुख्य सल्लाहकार रघुजी पन्त, गृहमन्त्री भीम रावल, अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बोलाएर राजीनामा दिने कुरा बताए। त्यसपछि पन्तले सात बजेका लागि राष्ट्रपतिसँग समय मागे।The Help
उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सुजाता कोइरालालाई पनि राजीनामाबारे जानकारी दिएका थिए। त्यसपछि उनी पार्टी स्थायी समितिको बैठकमा भाग लिन एमाले केन्द्रीय कार्यालय, बल्खु पुगे, सो बैठक २ बजेका लागि पूर्वनिर्धारित थियो।
दिउँसो करिब ३ बजे स्थायी समिति बैठकमा नेपालले आफूले राजीनामा दिने बताए। त्यसपछि स्थायी समिति बैठक स्थगित भयो। उनी त्यहाँबाट बाहिर निस्के र बालुवाटार गए। साढे ४ बजे सत्तारुढ गठबन्धनभित्र रहेका दलका नेताहरूलाई बोलाए। पाँच बजे आफ्नो सरकारका राज्यमन्त्री, सहायकमन्त्री सहित सबै मन्त्री बोलाए। सो बैठकलाई सम्बोधन गर्दै आफूले राजीनामा गर्नुको कारणसहित जानकारी गराएका थिए।Violet Dawn (Kanner Lake Series #1)
बैठकलाई प्रधानमन्त्री नेपाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, जनशक्ति पार्टीका नेता सूर्यबहादुर थापा र फोरम (लोकतान्त्रिक) का अध्यक्षका नाताले उपप्रधामन्त्री गच्छदारले पनि मन्तव्य राखेका थिए।
मुख्य सल्लाहकार पन्तका अनुसार, प्रधानमन्त्री नेपालले उनी लगायत केही नेतासँग असार १ गते राजीनामा दिने बताएका थिए। शान्ति र संविधान निर्माणको प्रक्रिया नबढे प्रधानमन्त्री भएर नबस्ने उनले बताएका थिए। आफ्नो कारण मुलुक निकासहीन नहोस् भनेर राजीनामा गरेको बताउँदै सल्लाहकार पन्तले भने, ‘राष्ट्रिय सरकार निर्माणको सहमति गरेर निकास पनि नदिने, प्रधानमन्त्रीको विकल्प पनि दिन नसक्ने अनि सरकार चलाउन पनि नदिने भएपछि प्रधानमन्त्रीलाई पदमा बस्न अप्ठेरो भएको हो।' आफैंले गरेको सहमति तीन दलका नेताले कार्यान्वयन गर्न नसक्नु प्रधानमन्त्रीको नभई उनीहरूको कमजोरी भएको पन्तको ठहर छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला प्रधानमन्त्रीको राजीनामा आकस्मिक भएको बताउँछन्। ‘करिब ४ बजे नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीले राजीनामा गर्ने जानकारी दिनुभएछ', प्रधानमन्त्री निवासमा सिटौलाले नागरिकसँग भने, ‘म त साढे ४ बजे मात्र बालुवाटार पुगें।'
राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने निर्णय गरेका प्रधानमन्त्री नेपालले साँझ ५ बजेका लागि मन्त्रीहरूलाई बालुवाटार बोलाएका थिए। आफ्नो ‘टीम' लाई राजीनामाबारे जानकारी र धन्यवाद दिनका लागि मन्त्रीहरू र सत्तारूढ गठबन्धनका नेताहरूलाई नेपालले राजीनामाबारे जानकारी दिएको प्रधानमन्त्रीको भनाइ उधृत गर्दै मन्त्री कर्णले भने, ‘मैले राजीनामा दिन त पहिल्यैदेखि भनिरहेको थिएँ, आज दिने निश्चय गरें।' प्रधानमन्त्री निवासमा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दुवै पुगेका थिए।
प्रधानमन्त्रीले राजीनामा दिने निर्णय सुनाउँदा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका नेता चन्द्रदेव जोशी लगायतका नेताहरूले असन्तोष व्यक्त गरेका थिए। त्यसपछि प्रधानमन्त्री नेपालले साँझ ६ बजे सञ्चरमाध्यममार्फत् ५ पृष्ठको सम्बोधनसहित राजीनामा गर्ने घोषणा गरेका थिए।
सम्बोधनपछि राजीनामापत्र बुझाउन प्रधानमन्त्री नेपाल ७ बजे मुख्य सल्लाहकार रघुजी पन्त र मुख्यसचिव माधवप्रसाद घिमिरेसहित शितल निवास गएका थिए। करिब साढे सात बजे मात्र प्रधानमन्त्रीले राजीनामा बुझाए। प्रधानमन्त्री नेपालले राष्ट्रपतिसमक्ष देश वर्बाद भएको चिन्ता प्रकट गरेका थिए। प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष राजीनामा दिनेबित्तिकै स्वतः स्वीकृत भएको मानिने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संसदलाई बिहीबार मात्र पत्र लेख्नेछ। राष्ट्रपतिले पत्रमा संविधानको धारा ३८ (१) अनुसार, राष्ट्रिय सहमतिको सरकार गठन गठन प्रक्रिया अघि बढाउन आह्वान गर्नेछन्। स्रोतका अनुसार, संसद् अधिवेशन आह्वान गरिसकेकाले असार २१ को बैठकमा सरकार गठनको ‘विजनेस' दिने गरी ४ दिनको मात्र समय दिएर राष्ट्रपति कार्यालयले पत्र लेख्ने संभावना रहेको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सहमतिको नयाँ सरकार बन्ने संभावना अहिलेसम्म नदेखिएको बताए। उनले अहिलेकै गठबन्धनभित्रबाट नयाँ प्रधानमन्त्री चयन हुने उनले बताए। ‘क्यान्टोनमेन्टमा लडाकू रहेसम्म माओवादी नेतृत्वको सरकार बन्न सक्दैन', सिटौलाले भने, ‘अहिलेकै अवस्थामा माओवादीको नेतृत्वको सरकारमा कांग्रेस र कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा माओवादी सहभागी हुने संभावना छैन।'
अन्तरिम संविधानको धारा ३८(९) अनुसार, प्रधानमन्त्री पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्मसोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरी रहने छ। 
nagariknews.com

शिक्षाको 'मुस्कान' छर्दै जेनिशा




स्मृति ढुंगाना, काठमाडौं, वैशाख २७- मिस वर्ल्डमा जानुअघि 'लौन नि के गरौं' संस्थाले आयोजना गरेको कार्यक्रममा जेनिशा मोक्तानले एक ९ वर्षे बालकलाई पुलाउ र मासु दिँदै खाऊ भनिन्। तर, ती बालकले खाएनन् बरु भने, 'अहिले खाएपछि घरमा फेरि खान मन लाग्छ। बरू अहिले नै खाएन भने घर गएर खाने रहर नै हुन्न नि, दिदी।'
असहाय बालबालिकाका लागि केही गर्छु भन्ने सोच बनाएकी मिस नेपाल जेनिशालाई ती बालकको कुराले झनै प्रेरित गर्‍यो। 'त्यो बालक आर्थिक रूपमा कमजोर भए पनि असल स्वभावका रहेछन्,' जेनिशाले नागरिकसँग भनिन्, 'मैले फेरि उसलाई भेट्न पाएको छैन।'

सरकार र विभिन्न गैरसरकारी संस्थाले यस्ता बालबालिकालाई सही अर्थमा सहयोग गर्न नसकेको अवस्थाप्रति उनी दुःखी छिन्। 'बाँच्न र पढ्न पाउनु सबैको अधिकार हो।' तर नेपालमा गरिबसम्म शिक्षाको पहुँच पुग्न सकेको छैन।

गरिब बालबालिकालाई शिक्षा दिलाउन उनले 'मुस्कान' नामक अभियान सुरु गरेकी छिन्। मिस नेपाल हुनुभन्दा अघि नै सुरु गरिएको अभियानलाई उनले मिस वर्ल्डबाट फर्केपछि सक्रिय बनाएकी छिन्। यही अभियानअन्तर्गत् उनले केही समयअघि केही जिल्लाको भ्रमण गरिन् र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिन्।

गृहयुद्धको चपेटामा परेको श्रीलंकामा समेत शिक्षाको पहुँच सबैमा पुगेको थाहा पाएपछि उनलाई अचम्म लागेको छ। मिस वर्ल्डमा सहभागी हुन जाँदा भेटिएकी मिस श्रीलंका गाम्या प्रसादिनीबाट उनले यो कुरा थाहा पाएकी हुन्। 'सानैदेखि मानसिक र शारीरिक शोषणमा हुर्किएकी गाम्या श्रीलंकामा महिलाहरूमाथि हुने हिंसाको विरुद्ध कार्यरत छिन्। गाम्याको जीवनले पनि जेनिशालाई उर्जा दिएको छ।

बीबीएमा अध्ययनरत् जेनिशा नेपालमा पनि सबैले निःशुल्क शिक्षा पाएको हेर्न चाहन्छिन्। र, त्यस कार्यमा आफ्नो 'मुस्कान'ले केही गर्न सके आफ्नो लक्ष्य पूरा हुने उनी बताउँछिन्। यही लक्ष्यका साथ उनले 'मुस्कान' नामक अभियानलाई रसुवासहित धरान, धनगढी, धादिङ, सिराहासम्म लगिसकेकी छन्। नेपालभरनै लैजाने योजना छ, उनको। भनिन्, 'अब चाहि मुस्ताङ जान्छु।'

बालबालिकासँग सजिलै घुलमिल भएर रमाउने जेनिशा आफ्नो अभियानमा साथीहरूलाई समेत समेट्दैछिन्। यही आफ्नो प्रोजेक्टका लागि पैसा जोह गर्न उनले तामाङ ल्होसारको अवसर पारेर टुँडिखेलमा सशुल्क गुलाबको फूल बाँडेकी थिइन्। त्यसबाट ४५ हजार जम्मा भएपछि उनले आफ्नो प्रोजेक्टलाई नेपालभर पुर्‍याउने मौका पाइन्।

त्यसपछि स्टेसनरीबाट कापी, किताब र कलम लिएर पहिलोपटक रसुवा पुगिन्। त्यहाँ उर्मिला तामाङले उनलाई विभिन्न स्कुलमा लिएर गइन्। उनले त्यहाँका बच्चाहरू निकै लजालु स्वभावका पाइन्। तर बच्चाका अभिभावकले उनलाई सोधेका थिए, 'तपाई पनि कुनै संस्थासित आवद्ध हुनुहुन्छ होला?'
रसुवामा अधिकांश संस्थाले केवल सामग्री बाँड्ने काममात्र गर्ने रहेछन्। त्यसैले बच्चाहरूसँग खेल्ने उनको सपना पूरा भएन। पछि धरानको यात्रा भने रमाइलो भएको उनको धारणा छ।

सडक बालबालिकाको ज्यादै दयनीय अवस्थाले पनि उनलाई सताउँछ। विशेषगरी अहिलेका सडक बालबालिकाको स्थिति देख्दा उनी निराश छिन्। महाँकालमा रहेको 'विकल्प' नामक संस्थाले सेप्टेम्बरमा आयोजना गरेको अन्तर्राष्ट्रिय कार्यक्रमपछि उनले बल्ल सडक बालबालिकाको विषयमा जानकारी बटुलेकी थिएन्।

त्यस कार्यक्रमले उनलाई बालबालिकाको मुद्दामा डुब्न अझ सघाएको थियो। थाइल्यान्ड, बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र नेपालका बालबालिकाको भेला रहेको उक्त कार्यक्रममा सबैले आफ्ना विचार आदानप्रदान गरे। बालअधिकार, बालहिंसा, शिक्षा र बालश्रमबारे कार्यक्रममा बहस चलेको थियो।
नेपाली बालबालिकाको स्थिति यी सबै पक्षमा नाजुक रहेको उनलाई थाहा छ। 'स्कुललाई शान्ति क्षेत्र भनिए पनि, व्यवहारमा लागु भएको छैन,' उनले भनिन्।

महँगीमा बाच्न नसकेपछि गरिब केटाकेटी 'सडक बालबालिका'मा परिवर्तन भएको उनको अनुमान छ। भन्छिन्, 'सहरमा मात्र सुविधा हुँदा ग्रामीण भेगका मानिस सबै कुराबाट बन्चित हुन्छन्। सडक बालबालिकालाई व्यवस्थित गर्न चरणवद्ध योजनाहरू ल्याइनुपर्ने उनी बताउँछिन्।

'उनीहरूको मानसिकता नै मागेर खानुपर्छ भन्ने भैसक्यो,' एकदिन दया लागेर १० जना सडक बालबालिकालाई खाना खुवाउने जेनिशाले भनिन्, 'उनीहरूलाई मानसिक रूपमै बदल्न जरुरी छ।'

सहयोगमात्र गर्दा पीडित पक्ष झन् परनिर्भर बन्दै जाने डर उनलाई कहिलेकाही लाग्छ। उनीसँग आठ वर्षअघि यस्तो घटना भइसकेको छ। 'शारीरिक असशक्तता भएकी र संगीतमा अध्ययनरत् २३ वर्षकी एक युवतीले मसँग आर्थिक सहयोग मागिन्। दुई महिनासम्म त सहयोग गरेँ। तर पछि धेरै नै परनिर्भर हुन थालिन्,' जेनिशाले सम्झिइन्, 'जबकि त्यतिखेर म आफैं पनि आमाबुबामथि निर्भर थिएँ। त्यसपछि मैले आर्थिक सहयोग गर्न नसक्ने बताएँ, उनी टाढिइन्।'

तामाङ महिलाहरूको केन्द्रिय संस्था नेपाल तामाङ महिला घेदुङकी उपाध्यक्ष रहेकी जेनिशा महिला हिंसाविरुद्ध जनचेतना फैलाउने अभियानमा समेत समर्पित छिन्। 'एउटा महिला शिक्षित हुनु भनेको सम्पूर्ण परिवार नै शिक्षित हुनु हो।' महिलामा रोजगारीको अवसर सिर्जना गरेर उनीहरूको जीवन उकास्ने उद्देश्यले, उनले अरूसँग मिलेर 'तामाङ महिला वचत तथा ऋण सहकारी संस्था' समेत सुरु गरेकी छिन्।

उनी माइती नेपालद्वारा आयोजना गरिने कार्यक्रमसँग सहकार्य गर्न समेत इच्छुक छिन्। उनी अहिलेसम्म थुप्रैपटक माइती नेपाल गइसकेकी छिन् र त्यस संस्थाको गुणगान गाउँछिन्, 'बेचिएका महिलालाई उद्धार गरी नयाँ जीवन दिएको छ।' उनको आफ्नै नारा छ, 'महिलाका लागि महिलाले नै सोच्नुपर्छ।'
source: nagariknews.com