Your Ad Here
Showing posts with label nepali music. Show all posts
Showing posts with label nepali music. Show all posts

सात वर्षपछि 'नेपथ्य'को लोक रक



स्मृति ढुंगाना, काठमाडौं, साउन २४ - द्वन्द्वको घाउ र देशको अवस्थामा समर्पित दुई एल्बमपछि तन्नेरी पुस्तामाझ लोकप्रिय सांगीतिक टोली 'नेपथ्य'ले फेरि आफ्नो पुरानै बाटो समातेको छ। युवा ढुकढुकीलाई समेट्ने गायकीका प्रशंसकहरुको माझमा सात वर्षको अन्तरालपछि लोक रक एल्बम लिएर उनीहरु आउन लागेका हुन्। 'नेपथ्य'को यो नवौं एल्बम हुनेछ। रेकर्डिङको काम सम्पन्न भइसके पनि अहिलेसम्म नाम सार्वजनिक नभएको उक्त एल्बम आगामी महिना बजारमा ल्याउने जानकारी टोली व्यवस्थापक 'नेपालय'ले दिएको छ।
'नेपथ्य प्रशंसकलाई नचाउने शैलीका गीतहरु समेटिएका छन्,' यसअघि लगातार गम्भीर प्रकृतिका दुई एल्बम 'घटना' र 'मेरो देश' दिएका गायक अमृत गुरुङ पछिल्लो कृतिका बारे भन्छन्,'त्यसका निम्ति फेरि गाउँले ठेट भाकालाई समेटेर लोक रकका श्रोतासम्म पुग्दैछौं।' गुरुङका अनुसार रेकर्डिङको काम भर्खरै सम्पन्न भएको छ।

पछिल्लो पटक उनीहरुले २०६० सालमा लोक रक श्रोतालाई 'भेँडाको उन जस्तो' एल्बम दिएका थिए। दुई दशकदेखि युवा पुस्तालाई नचाउँदै आएको यस समूहले त्यसको दुई वर्षमै अचानक आफ्नो गायनलाई परिवर्तन गर्दै गम्भीर प्रकृतिका गीतहरुमा ढाल्न थाल्यो। त्यतिबेलै 'नेपथ्य'ले 'शान्तिको लागि शिक्षा' नाराका साथ देशभर विभिन्न स्थानमा सांगीतिक भ्रमणसमेत गरेको थियो। 'एक त भएका विद्यालयहरु समेत युद्धरत पक्षले धमाधम कब्जामा लिन थालेका थिए,' अमृत भन्छन्,'त्यस्तो बेला शिक्षा नभइ समाजमा शान्ति संभव छैन भन्ने सन्देश बोकेर निस्केका थियौं।' यसरी गाउँ गाउँ पुगेर स्कुलहरुमा गीत सुनाउँदा त्यसले निमुखा बच्चाहरुको पढ्ने थलो कब्जामा लिनेहरु माथि दबाबसमेत सिर्जना भएको अनुभव उनीसँग छ।

'सारा देश जलिरहेको बेला हामीले मायाप्रितीका गीत गाउन सकेनौं,' गुरुङ गम्भीर हुँदै भन्छन्,'परिस्थितीले संवेदनालाई जसरी हिर्कायो, त्यसैगरि नेपथ्य पनि फरक बाटो समात्न बाध्य भएको हो।' अब आउने एल्बमले भने पुरानै बान्कीमा नेपथ्यलाई प्रस्तुत गर्ने गुरुङ सुनाउछन्।
नयाँ एल्वममा १० गीत छन्। ती सबैमा ग्रामीण लोक भाकालाई 'रिमेक' वा 'कम्पोज' गरिएको छ। ग्रामीण भेगमा पाइने विभिन्न समुदायको शब्दावली पनि गीतमा प्रयोग गरिएको छ। गण्डकी क्षेत्रको भाका रहेको 'जोगले हुन्छ भेट'को शब्दले मन रमाइलो पार्छ भने धुनले तीब्रता समात्ने बित्तिकै नाचौँ-नाचौँ लगाउछ। अर्को गीत 'पल्ला घरकी बैंका' गण्डकीकै भाकामा अघि बढे पनि यसमा कर्णालीको लवज समेटिएको छ। तेश्रो गीत 'मै मरी जाउँला'मा गोसाइकुण्ड दर्शन गर्न जादाँ पाइने भाकाको झल्को आउँछ। यसपटक गुरूङ भाकामा रहेको 'नासै छ्यावा' गीतले पनि धेरैलाई नचाउने छ।

तीब्र गतिका गीतहरु सुन्दा सुन्दै एल्बम बेग्लै मोडमा प्रवेश गर्छ। यतिबेला चाहिँ कविवर माधव घिमिरेको एउटा पुरानो रचनाले अमृतको नयाँ संगीतमा बेरिएर मिठो स्वाद श्रोताहरुलाई दिन्छ। 'ऐना झ्यालको पुतलीलाई...' संभवत गम्भीर संगीतका श्रोताहरुले सबैभन्दा बढी मनपराउने गीत बन्नेछ। त्यसपछि फेरि सुस्त गतिमै आउने 'मेरो हजुर' चाहिँ रोमान्टिक छ। चिसो ठाँउमा पुगेकोबेला रचना गरिएको गीत, 'यस्तो ठाँउमा पनि मान्छे' हिमाली जनजीवनप्रति समर्पित छ। 'अग्लनी सुरमा हिमाल'मा देशप्रेम झल्काइएको छ। अघिल्ला केहि एल्बममा झैँ यसपाला पनि 'नेपथ्यले' साना नानीहरुको निम्ति 'हो हो बाबु' भन्दै लोरी सुनाउन छाडेको छैन।

गाउले परिवेश मनपराउने अमृत फूर्सद्का प्रायः समय ग्रामीण क्षेत्रको भ्रमणमै लागि परेका हुन्छन्। 'नेपाली भाकाहरू उत्कृष्ठ छन्,' रामेछापबाहेक मुलुकका सबै जिल्ला पुगेका उनी भन्छन्,'गाउतिर पुगेका बेला सुनेका भाकाहरु तत्कालै रेकर्ड गरेर ल्याउने गर्छु र पछि त्यसैको प्रभावमा गीतहरु बनाउँदै आएको छु।' यसरी अहिलेसम्म आफ्नो संकलनमा सयौं त्यस्ता भाकाहरु जम्मा भइसकेको उनी गर्वका साथ सुनाउछन्। अमृतका अनुसार त्यसमा पनि मुलुकका पश्चिमी भेगको भाकाहरुको बाहुल्यता छ।

पछिल्लो एल्बमले 'नेपथ्य' स्थापनाको २० औं वार्षिक उत्सव पनि मनाउने भएको छ। सुरुमा अमृतसहित दिपक राना र भीम पुन मिलेर यसको स्थापना गरिएको थियो। यो अन्तरालमा कतिपय कलाकार आउने जाने गरेर २१ जनालाई स्टेजमा उभ्याइसकेको 'नेपथ्य'सँग यतिबेला अमृतबाहेक ध्रुव लामा, सुविन शाक्य, सुरज थापा र निरज गुरूङ आवद्ध छन्।
nagariknews.com

सुषमाको पुनरागमन


िसर्जना दुवाल श्रेष्७
कहिलेकाहीँ सुषमा राणालाई आफू गीत गाउनै जन्मिएकी हुँ कि जस्तो लाग्छ । उनलाई गीत गाउँदा जस्तो रमाइलो केही लाग्दैन । सानैदेखि घरमा रेडियो बोकेर गीत सुन्ने सुषमाले १०-११ वर्षकै उमेरदेखि गाउन थालिन् । लता मङेसकर, तारादेवी एवं अरुणा लामाका गीत गुनगुनाउने सुषमा साथीभाइ एवं दिदी-बहिनीहरूले तिम्रो स्वर राम्रो छ, तिमीले गाउनुपर्छ भनेकाले आफूले संगीत छोड्न नसकेको बताउँछिन् । रोमान्टिक एवं सेन्टिमेन्टल गीत गाउन र सुन्न रुचाउने सुषमालाई ँतिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें गीत निकै मनपर्छ ।

सुषमाको विवाह कलेज पढ्दापढ्दै भयो । विवाह गरेको एक वर्षभित्रै छोरा जन्मिएकाले उनले संगीत यात्रालाई चाहेर पनि निरन्तरता दिन सकिनन् । यद्यपि उनी घरको क्याराओकेमा भने जमिरहिन् । सुषमाले घरमा गाएको सुन्ने क्रममै श्रीमान् विकास राणालाई उनको स्वर बाहिर ल्याउनुपर्छ भन्ने महसुस भयो । श्रीमान्को प्रेरणा पाएपछि उनी संगीत सिक्न चन्दन श्रेष्ठकहाँ पुगिन् । गुरुले पनि स्वर एवं सुर राम्रो छ भनेपछि उनले आधा दर्जन नेवारी र आधा दर्जन नेपाली गीत रेकर्ड गराइन् । उनका नेवारी गीत प्रायः छंगु पो यव् धाय्गु र स्वयम्भुया भगवान् बुद्धया चर्चामा रहे जुन गीत विहारहरूमा खुबै बज्छन् । यद्यपि घरपरिवारका कारण उनले त्यतिबेला संगीतलाई निरन्तरता दिन सकिनन् ।

सुषमाले अहिले १० वर्षे विश्रामको अन्त्य गर्दै श्रीमान्सँग मिलेर ँलुकेर लाएको माया’ एल्बम बजारमा ल्याएकी छिन् । आलोकश्रीको संगीत रहेको उक्त एल्बम गत वर्षको हिट एल्बम साबित भएको छ । नयाँ गीतको कम्पोजिसन भैरहेको र छिट्टै नयाँ एल्बम निकाल्ने तयारीमा रहेको उनले बताइन् । सुषमा हरेक प्रकारको गीत गाउन सके पनि आधुनिक गायनमा रमाउने बताउँछिन् । बिहान नियमित हार्मोनियममा रियाज गर्ने सुषमा हरेक साँझ परिवारको जमघटमा जम्छिन् । उनी आधुनिक गायनमा छुट्टै पहिचान बनाउने चाहना बोकेर संगीत साधनामा लागेकी छिन् ।

दीलिप र नम्रता नाच्न सिक्दै





स्मृति ढुंगाना, काठमाडौं, साउन २- नेपाली फिल्ममा सबैभन्दा राम्रो नाच्ने कलाकार मानिने दीलिप रायमाझी केही दिनदेखि फेरि डान्स सिक्दैछन्। नृत्य कलाकारकै रूपमा फिल्मयात्रा सुरु गरेका दीलिप एउटा नयाँ फिल्मकै लागि नृत्य सिक्दै गरेका हुन्।
कुपन्डोलस्थित अर्जुन वेस्टर्न डान्स सेन्टरमा उनी दैनिक अभ्यासमा आउनुको कारण नयाँ फिल्म ‘मिस यु' हो, जसको निर्माता उनी आफै हुन्। फिल्ममा दीलिपलाई साल्सा, पंक, हिपहप र ब्रेक डान्स चाहिएको छ। त्यसैले उनले आफूमात्र होइन फिल्मका अरू कलाकार नम्रता श्रेष्ठ, वरूण राणा र सुजाता सिटौलालाई समोत डान्स कक्षामा राखेका छन्।
डान्स सेन्टरका इन्स्ट्रक्टर अर्जुन गौतमको इशारामा उनीहरू डान्सका नयाँ स्टेपहरू टिप्दैछन्। नम्रता फ्रि स्टाइल र मोडर्न कन्टेम्पोररी नाच्न सिक्दैछिन् भने नयाँ कलाकार वरूण राणा डान्सका सामान्य स्टेप सिक्दै छन्।
दीलिपको ‘मिस यु'को निर्देशन सुरेश दर्पण पोखरेलले गर्दैछन्। फिल्ममा बाबु बोगटीले वेस्टर्न शैलीका गीत कम्पोज गरेका छन्। फिल्मको लागि केही हप्ता सिके पुग्ने हो। तर, दीलिप भने पाँच महिनाकै कोर्स गर्ने सोचमा छन्। ‘डान्समा नयाँ शैली सिक्नु राम्रो हो। फिल्मको काम सिध्याएर डान्स कक्षालाई निरन्तरता दिनेछु,' दीलिपले भने।
‘नृत्य जोशले भरिएको जीउको हाउभाउ हो जसले मानिसलाई आनन्दित बनाउछ,' भन्ने अर्जुनले वरूण र नम्रतालाई भने सिकारू भएकाले हल्का स्टेपमै नचाइरहेका छन्।
नृत्यमा पारंगत मानिने दीलिपसँग सुहाउँदो नृत्य गर्न सक्न सम्भावना देखिन्छ सुजातामा। नम्रता मोर्डन कन्टेम्पोररी नृत्यमा उपयुक्त रहेको प्रशिक्षकको मूल्यांकन छ।
दीलिपले फिल्म ‘दर्पण छायाँ'मा गरेको नृत्यबाट प्रभावित भएर यो क्षेत्रमा लागेको बताउने अर्जुनले अहिले दीलिपलाई नै नृत्य प्रशिक्षण गराउन पाउँदा खुशी व्यक्त गरे। ‘नृत्यमा नयाँपन देखाउन सकुँ भन्ने मेरो उदेश्य हो,' उनले नागरिकसँग भने। यी कलाकारहरुलाई ज्याज डान्स सिकाउने उनको विचार छ।
केही म्युजिक भिडियोमा अभिनय गरेका वरुणलाई नाच्ने काम निकै गाह्रो लागेको छ। म्युजिक भिडियोका साथै दुई वटा फिल्म खेलेकी नम्रता ‘मिस यू'मा ‘डान्सिङ स्टार' दीलिपसँग काम गर्दैछिन्। राम्रो नृत्य नगरे आफ्नो भूमिका फिका हुने डर समेत छ उनलाई।
‘यस अघिको मेरो काम नृत्यमा फोकस थिएन। तर, यो फिल्म नृत्यमा केन्द्रित छ। मेरो लागि यो चुनौती पनि हो,' उनले भनिन्। यो फिल्मको अधिकांस सुटिङ सिंगापुर र मलेसियामा हुने बताइएको छ।
nagariknews.com 

तीन वर्ष मै गीत गाउने बालिका (गीतको अडियोसहित)

 




रुबी रौनियार, काठमाडौं, साउन ३- उज्यालो स्टेजमा तीन वर्षकी अतिथि गौतम केसीले जब माइक समातेर गाउन थालिन्, उपस्थित सबै दर्शक चकित परे।
अतिथिले राष्ट्रगानलाई लय र स्वर मिलाएर आइतबार नेपाल पर्यटन बोर्डमा गाइरहँदा नेपाल संगीतनाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङ समेत मन्त्रमुग्ध बनेका थिए।
अतिथिले दोस्रो गीत ‘जस्तो बसायो उस्तै बस्छ मानिसको बानी, बानी भित्र बसेको हुन्छ सुख र दुःखको खानी' गाउँदा हल दर्शकको थपडीले गुन्जियो।
उनको उमेरका अन्य बच्चाले राम्ररी बोल्नसम्म सक्दैनन्, तर अतिथिले स्टेजमा लगातार तीनवटा गीत प्रत्यक्ष संगीतमा गाउँदा उपस्थित दर्शक भावुक बनेका थिए। दर्शकका आँखामा खुशीको आँसुसमेत देखियो। गीत सक्नासाथ अम्बर गुरुङले अतिथिलाई काखमा उचालेका थिए। गुरुङले अतिथि विश्वकै कान्छी गायिका बन्नसक्ने आधार बलियो भएको गर्वसाथ भने।
‘मेरो संगीत क्षेत्रमा ६० वर्षको लामो यात्रामा सबैभन्दा आश्चर्य र गर्व लागेको क्षण यही हो,' गुरुङले भने, ‘नयाँ पुस्ता र पुरानो पुस्ताको मिलनको दिन पनि आजै साबित भएको छ।' अतिथिले ईश्वरप्रद्धत तरिकाबाट गीत गाएको उनको धारणा छ।
कार्यक्रममा अम्बरले अतिथिको गीति एल्बम ‘अतिथि' पनि विमोचन गरिदिए। दुई वर्षको सानै उमेरदेखि गीत गाउन थालेकी अतिथिले तीन वर्षकै उमेरमा गीति एल्बम निकालेपछि संसारकै कान्छी गायिकाको उपाधि पाउने सम्भावना बढेको हो ।
अक्षर राम्ररी चिन्न नसक्ने अतिथिले गीतका शब्दहरू स्मरण गरेर गाउने गरेकी छिन्। उनको यही कला देखेपछि अन्तर्राष्ट्रिय स्तरमा यस्तो अदभूत बालिकाको क्षमता चिनाउन अर्बिट पब्लिसरले पहल गरेको छ।
अर्बिट पब्लिसरको सक्रियतामा तयार पारिएको ‘अतिथि' एल्बममा नौवटा गीत समावेश छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि अतिथिका सबै कागजपत्र र प्रक्रिया अगाडि बढाइसकेको अतिथिका बुबा उद्धव केसीले जानकारी दिए।
विश्वको रेकर्ड हेर्दा हालसम्म रोमानियाकी चार वर्षीया बालिका क्लियोपेट्राले गीत गाएको फेला परेको छ। ठूलो संख्यामा दर्शकहरु सामु लाइभ दुई घण्टा गीत गाउने, बढी कमाउने कम उमेरकी कलाकार र सानो उमेरमा एमटिभी अवार्ड पाउने अनि रोमानियामा नम्बर १ हिट गीत बन्न सफल सानो उमेरकी गायिकाको कीर्तिमान उनको नाममा छ। सन् २००२ मा जन्मिएकी उनले चार वर्षको उमेरमा La vârsta de trei ani ("तीन वर्षको उमेरमा") शीर्षकको गीति एल्बम निकालेकी थिइन्। हालसम्म उनले तीन वटा एल्बम निकालिसकेकी छिन्।
nagariknews.com