Your Ad Here
Showing posts with label nepali plays. Show all posts
Showing posts with label nepali plays. Show all posts

पोखरा पुगे इरफान

मेरोसिनेमा २८ कात्तिक,

irphan_khan_in_400_01अन्तराष्ट्रिय नाट्य महोत्सवमा सहभागि हुन सपत्नी नेपाल आएका बलिउड अभिनेता इरफान खान र संगीतकार अभिषेकले आइतबार तालनगरी घुमेका छन् । पत्नी सुतापासहित इरफान बिहान पर्यटकीय नगरी पोखरा उडेका थिए । केही दिन पोखरामा बिताउने बताइएका इरफानले मनोरम फेवाताल, सराङकोट, डेभिडफल्स र अन्नपूर्ण संरक्षण क्षेत्रमा पुग्नेछन् । इरफान जोमसोमको मुक्तिनाथ पनि पुग्न चाहन्छन् तर मौसम प्रतिकुल हुनसक्छ ।

मंसिर १ बाट सुरु हुने अन्तराष्ट्रिय नाट्य महोत्सवमा भाग लिन आरोहण गुरुकुलको निम्तोमा उनी नेपाल आएका हुन् । कुनै नाटक प्रस्तुत गर्ने नभई इरफानलाई अतिथिका रुपमा मात्र निम्ताइएको नाटक निर्देशक सुनिल पोखरेलले बताए । दिल्लीको राष्ट्रिय नाट्य स्कुलमा खान दम्पतिका सहपाठी थिए सुनिल । संयोगवश अर्का अभिनेता अनुप बराल पनि उक्त स्कुलका विद्यार्थी र इरफानका सहपाठी हुन् । इरफान स्वयम नाटकका विद्यार्थी भएपनि उनको रुचि पर्दामा छ ।

खानले 'सलाम बाम्बे', 'कसुर', 'मकबुल', 'मेट्रो', 'न्यूयोर्क', 'द माइटी हार्ट', 'स्लमडग मिलेनियर', 'द नेमसेक' लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । 'स्लमडग मिलेनियर'ले त केही विधामा प्रतिष्ठित एकेडेमी अवार्ड जितेको थियो ।

युरोपमा प्रतिबन्धित जुली मैया काठमाडौंमा




बद्रीकुमार न्यौपाने, काठमाडौं, भदौ २१- यौनसम्बन्धी विषयवस्तु समेटेकैले प्रारम्भमा युरोपमै प्रतिबन्ध खेप्नु परेको नाटक यतिबेला काठमाडौंमा चलिरहेको छ। धन सम्पत्तिको उन्मादमा बिग्रिएकी एउटी छोरीको कथा 'जुली मैया'लाई मण्डला थिएटरले भदौको पहिलो सातादेखि वर्ल्ड ट्रेड सेन्टरमा देखाउन सुरु गरेको हो। 'यौन जानेदेखि आनन्द, नजाने दुःखको घर' भन्ने सन्देश बोकेको यो नाटककी मुख्य पात्र मिस जुलीमा जति यौन उन्माद र घमण्ड हुन्छ उत्तिकै मुर्खता पनि।अन्त्यमा त्यसैले उसको सर्वस्व हरण गरिदिन्छ।
             झन्डै सवा सय वर्षअघि स्वीडेनका नाटककार अगस्ट स्टिनबर्गले लेखेको नाटक 'मिस जुली'लाई निर्देशक राजन खतिवडाले नेपाली परिवेशमा रूपान्तर गरेका हुन्। नाटकका तीन पात्रमध्ये जुलीबाहेक जोम र क्रिस्टिनलाई क्रमशः जय र कृष्णमाया नाम दिइएको छ।त्यसैगरी राजनले पृष्ठ संगीतमा पनि नेपाली धुन र गीतको प्रयोग गरेका छन्। स्टेजको साजसज्जा हाम्रै सहरी परिवेशमा तयार पारिएको छ भने पात्रहरूले पनि काठमाडौं, भैरहवा र गोरखपुर जस्ता ठाउँको वर्णन गर्छन्। मूल नाटकमा गल्ती गर्ने मुख्य चरित्रले स्वीट्जरल्यान्ड भागेर जाने योजना बुन्छ भने यहाँ चाहिँ नैनीताल छ।
आफूले पालेका सुगा, कुकुर र नोकरलाई समान दर्जामा राख्ने जुली यी सबैलाई खेलौना भन्ठान्छे। जुत्ता पालिस गरिसकेपछि त्यसैमा चुम्बन पनि गरिदिनु पर्ने उसका नोकरलाई साथै नाच्ने र पिउने दायित्व त हुन्छ नै, साथमा यौन चाहना पनि पूरा गरिदिनु पर्ने। त्यसैले जुलीलाई फसाउँछ।
धन पाएपछि आफ्नो अनुभव र सिप प्रयोग गरी मालिककै हैसियतमा पुग्ने सपना देखेको नोकर अर्कैसँग बिहे गर्ने तयारीमा छ। त्यो युवती पनि यो सबै थाहा पाउँदापाउँदै सम्पत्तिकै लोभमा आँखा चिम्लिरहेकी हुन्छे।
'अति भएपछि खति हुन्छ' यही उक्तिलाई मनन गर्दै नोकरकी हुनेवाला श्रीमती झस्किँदा उता मालिक्नी गर्भवती भैसकेकी हुन्छे। अब नाटकले कोलाहलको रूप लिन्छ। यति भइसक्दा मालिक्नीले नोकरलाई माया गर्न थालिसकेकी हुन्छे।
'तिमीलाई म रिसोर्ट खोलेर त्यसको बिजनेस पार्टनर बनाउँछु,' नोकरले बिहे हुन लागेकी युवतीलाई दिएको यस्तो प्रलोभनले पनि काम गर्दैन र परिस्थिति झन् जटिल बन्न पुग्छ।
घटनाक्रम विकास हुँदै गएपछि सबै पात्र एकले अर्कालाई निकृष्ट आरोप प्रत्यारोप गर्न थाल्छन् र अन्त्यमा सबै पात्र ग्लानीमा पुगेर नाटक सकिन्छ।
मिस जुलीको भूमिकामा समुना केसी, नोकरमा नरेन्द्र बराल र नोकरको प्रेमिकामा सिर्जना सुब्बाले सशक्त अभिनय गरेका छन्।
'उतिबेला युरोपको परिवेशमा लेखिएको भए पनि अहिले यो हाम्रै समाजको कथा हो,' निर्देशक खतिवडाले हामीकहाँ नाटकको सान्दर्भिकताबारे प्रष्ट पारे, 'यहाँ समाजमा पनि यस्ता पात्रहरू बेलाबेलामा देखिन थालेका छन्।'
विश्वभर चर्चित यो नाटकको छनोटले दुई फरक समाजका समानता र दुरी पनि देखाउने उनको भनाइ छ। नाटक भदौ महिनाभर शुक्रबार, शनिबार र आइतबार चल्नेछ।
source: nagariknews.com