Your Ad Here
Showing posts with label niruta singh. Show all posts
Showing posts with label niruta singh. Show all posts

समिक्षा : देश

मेरोसिनेमा १४ असोज २०६७,
desh_in1_400चलचित्र : देश
निर्देशक/लेखक/गीतकार : तुलसी घिमिरे
स्टारर : राजेश हमाल, निरुता सिंह, निखिल उप्रेती, मिथिला शर्मा, श्रवण घिमिरे, मुकुन्द श्रेष्ठ, बीएस राणा, हेमन्त बुढाथोकी, नर्वदा घिमिरे, केके लोहार, दीवाकर पाण्डे
निर्माता : श्रवण घिमिरे
संगीत : शम्भुजित बाँस्कोटा
छायांकन : राजु थापा
द्वन्द्व : राजेन्द्र खड्गी
ब्यानर : अजम्बरी फिल्म्स प्राली
बजेट : ४७ लाख
अवधि : २ घण्टा २५ मिनेट
रिलिज : असोज १५ उपत्यका, असोज २९ मोफसल

यथार्थ, गम्भिर र जागरणमुलक चलचित्र निर्देशकका रुपमा पहिचान बटुलेका छन् तुलसी घिमिरेले । 'देश' उनको यस्तै पछिल्लो प्रोजेक्ट हो जुन देशप्रेम र राष्ट्रियताको भावनाले ओतप्रोत छ । सिनेमामा मनोरन्जन भएर पुग्दैन विचार पनि हुनुपर्छ भन्ने उनको मान्यतासँग मेल खान्छ 'देश'ले । जुन कुरा विहिबार आयोजित प्रीमियर सोका क्रममा निर्देशक घिमिरे सबैलाई बताउँदै थिए । लाहुरे, दक्षिणा, देउताजस्ता लोकप्रीय चलचित्र निर्देशन गरिसकेका तुलसीले 'देश'लाई पनि त्यस्तै जागरणमूलक तुल्याउन खोजेका छन् । कथामा नयाँपन नभएपनि राष्ट्रियताको मुद्दा, भ्रष्टाचार, गरिबीका कारण खाडीमा श्रम बेचिरहेका युवाहरुको दुर्दान्त अवस्था, जातिय र उपभोक्तावादी राजनीति गर्ने नेताहरु निश्पक्ष र निडर पत्रकारिता युवाहरुको सपनालाई पर्दामा उतारेका छन् निर्देशकले । २०३० को अन्त्यताका भएको सुखानी विद्रोह, भारतीय सेनामा लड्दै गर्दा मृत्युवरण गर्ने नेपाली र आमनागरिकको शान्तिको चाहना वरिपरी 'देश'ले फन्को मारेको छ ।

होमप्रोडक्सनको चलचित्र 'देश'मा तुलसीले राजेश हमालसँग 'देउता'पछि दोस्रोपटक सँगै काम गरेका छन् । एक्सन हिरो निखिल उप्रेतीसँग उनको पहिलो प्रोजेक्ट हो । निरुता उनको होमप्रोडक्सनकी हिरोइन नै हुन् । आफ्ना ससुरा रन्जित गजमेरलाई रिप्लेस गरेर संगीतकारका रुपमा शम्भुजित बाँस्कोटालाई लिएका छन् तुलसीले । समग्रमा तुलसी निर्देशित 'देश'ले ती आयामलाई छोएको छ जतिबेला नेपाल देशले उस्तै समस्या भोगिरहेको छ ।

कथा : सुखानी विद्रोह र उग्रवादीहरुसँग लड्दा वीरगति प्राप्त गरेको भारतीय सैनिकको कथाबाट फिल्म सुरु हुन्छ । युद्धमा ज्यान दिने सैनिकको नाबालक टुहुरो छोरा भाष्कर (राजेश हमाल)को हेरचाहको जिम्मा बूढीआमा (नर्वदा घिमिरे) माथि आइपर्छ । उक्त बालकमा सानैदेखि राष्ट्रियताको छाप परिरहन्छ । बूढीआमाबाट पाएको कलमको मूल्य स्थापित गर्न उसले निश्पक्ष र निडर पत्रकारिता गरिरहन्छ । भ्रष्टाचार, अराजकता र कर्तुतहरुको पर्दाफास गर्छ उसले । भाष्कर एक साहसी पत्रकार हो । रजनी (निरुता सिंह) मन्त्रीकी छोरी हुन्छिन् र विद्यार्थी नेतृ पनि । रवि (निखिल उप्रेती) पनि विद्यार्थी नेता हो जो गिरिश (मुकुन्द श्रेष्ठ)को पार्टीको युवा नेता पनि । तर, पछिल्लो समय गिरिशको कर्तुत थाहा पाएपछि ऊ पनि गिरिशविरुद्ध लाग्छ । भ्रष्टाचार, अन्याय र अराजकताविरुद्ध एकभएर लड्न उनीहरुले 'जननी' नामक पार्टी खोल्छन् र मिडियामार्फत भ्रष्टाचारीको उछितो काढ्छन् । एकपल्ट खुलामन्चमा आयोजित पार्टीको भेलामा भाष्करको हत्या गिरिशद्धारा परिचालित गिरोहबाट हुन्छ । राष्ट्रियताको पक्षमा लड्ने भाष्करको हत्या गरिन्छ । यद्यपी उसको हत्यापछि पनि राष्ट्रिय मुक्तिको यात्रा रोकिदैंन नयाँ क्रान्तिका लागि रजनी र रविको नेतृत्वमा लड्न चाहनेको लस्कर लागिरहन्छ ।

निर्देशन : प्रारम्भको ३० मिनेटसम्म निर्देशकले दर्शकलाई पूर्णरुपमा आफूमा बाँधेर राखेका छन् । कथाको सुरुआती पटकथालाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ जसका कारण दर्शकहरु पात्रहरुप्रति 'सिम्प्याथी' पोख्न बाध्य हुन्छन् । त्यतिबेलासम्म पटकथाको प्रस्तुतिकरण अवरोध बिना प्रवाहित छ । उक्त समयपछि पटकथा कमजोर बन्दै जान्छ र मध्यान्तरपछि चलचित्र 'अफट्रयाक'मा बगेको छ । राष्ट्रियताको मुद्दा कथाको मुख्य सार भएपनि विकृतिका धेरै पक्षलाई एकैसाथ प्रस्तुत गर्न खोज्दा कथा कमजोर बन्न पुगेको छ । निर्देशक स्वयम पटकथाको प्रस्तुतिकरणमा अल्झिएका छन् । फिल्ममा प्रेमको पक्ष घुसाइएको त छ तर कथा अघि बढ्दै जाँदा प्रेमलाई राजनीतिक कथाले ओझेलमा पारिदिन्छ । सुरुमा प्रेमको भावना दर्शाउने पात्रहरु क्लाइमेक्समा पुग्दा विद्रोही र क्रान्तिकारी बन्न पुग्छन् । हाफटाइमपछि त फिल्मले लगभग दर्शकको सिम्प्याथी गुमाउँछ । सुरुआती तीस मिनेटसम्मको सहानुभूतिलाई निर्देशकले बाँध्न सकेका छैनन् । निर्देशकले पात्रहरुको गतिशिलताभन्दा उनीहरुको संवादलाई निकै जोड दिएका छन् । जसका कारण चलचित्र 'रेडियो ड्रामा' जस्तो बनेको छ जुन बुझ्न आँखा चाहिँदैन कान भएमात्र पुग्छ ।

अभिनय : पात्रहरुको अभिनयमा 'मुभमेन्ट' छैन । पात्रहरुले अभिनय र भावमा भन्दा संवाद र गन्थनमन्थनमा जोड दिएका छन् । अधिकांश पात्रहरुको अभिनयमा कृत्रिमता पोतिएको पाइन्छ । राजेश हमाल निडर पत्रकारको रुपमा राम्रैरुपमा प्रस्तुत भएका छन् तर राजेशले संवादमै भर गरेका छन् । क्लाइमेक्सको उनको अभिनयमा प्राकृतिकता छैन । निरुता सिँहको अभिनयमा नयाँपन छैन । निखिल उप्रेती विद्यार्थी नेताका रुपमा ठीकै छन् । मुकुन्द श्रेष्ठ र बीएस राणा खलपात्रका रुपमा दर्शनिय छन् । निर्देशककी आमा नर्वदा घिमिरेको अभिनय कास्टिङ डिरेक्टिङको रुपमा फिट छ । मिथिलाको भूमिका छोटो छ मीठो छ । हेमन्त बुढाथोकीको अभिनय मन्त्रीका रुपमा राम्रो छ । सिनेम्याट्रोग्राफरले दृश्यमा एङ्गल नाप्न सकेका छैनन् ।

संगीत : शम्भुजित बाँस्कोटाको संगीत प्रशंसनिय छ । फिल्मको बलियो पक्ष भनेको संगीत हो । फिल्ममा तीन गीत छन् तर दुई गीतलाई संगीतकारले कर्णप्रिय तुल्याएका छन् । 'भुइँको फूल टिपेर… र सपनाहरु सजाउँदै…'ले रिलिज अगावै चर्चा बटुलिसकेका थिए । 'एउटा नेपाली दुःखमा…' देशप्रेमले ओतप्रोत गीत त हो तर यो गीतमा उति दम् छैन । उदितनारायाण झा, दीपानारायाण झा, इन्द्रजित मिजार, अन्जु पन्त, दीपक लिम्बु, चाँद गजमेर, नरेन्द्र प्यासी, श्रवण घिमिरेको पाश्र्वगायन कर्णप्रिय छ । पटकथाअनुसार संगीत फिट छ । पटकथाको सेतुको रुपमा संगीत छ ।

ब्यापार : अफसिजनमा चलचित्र रिलिज गरेका छन् घिमिरेले । यो समयमा चलचित्रको कलेक्सन राम्रो हुन निकै गाह्रो पर्ने देखिन्छ । सबै वर्गका दर्शकका लागि फिल्म उपयुक्त छ तर आजको पुस्ताले चाहने फास्ट स्क्रिनप्ले, छोटा डायलग, इन्टरटेन स्टोरी फिल्ममा छैन । मनोरन्जन चाहनेलाई फिल्मले निराश तुल्याउन सक्छ । किनभने आजको पुस्ता थिएटरमा पसेपछि इन्टरटेनमेन्ट चाहन्छ, मष्तिष्कको थकान होइन । मल्टिप्लेक्स र सिङ्गल स्क्रिन दुवैमा चलचित्रको व्यापार कठिन पर्ने देखिन्छ । किनभने दसैंको उत्साहको बेला निर्देशकले 'गम्भीर' कथा लिएर आएका छन् ।
from: merocinema online

निरुताको फिटनेस फर्मुला





सन्तोष रिमाल - निरुता सिंह करिब तीन वर्ष रजतपटबाट हराइन्। फिल्म बाहेकका गतिविधिमा पनि उनलाई भेटिएन। त्यतिबेला 'इन्टेरियर डिजाइन सिक्छु' भन्दै मुम्बई लागेपछि यता कुरा काट्नेहरूले ठाउँ पाए। 'फिल्म नपाएपछि निरुताले नेपाल छोडिन्'- यो धेरै समय नेपाली सिनेक्षेत्रमा कानेखुसीको विषय बन्यो। गएको चैतमा अचानक उनी काठमाडौंमा देखिइन्। र, फेरि चर्चित भइन्।
चर्चाको कारण उनको पुनरागमन थिएन, निरुताले बनाएको 'जिरो साइज' शरीर थियो। सबैलाई चकित तुल्याउने उनको 'फिटनेस'को रहस्य के होला?
'फुर्सद,' नागरिकको जिज्ञासामा उनले भनिन्, 'फिल्ममा काम गरुन्जेल कहिल्यै फुर्सद भएन। खुब खाइयो, निकै मोटाइयो।'
पाँच वर्षअघि लन्डन गएपछि आफ्नो तौल बढ्न थालेको उनको अनुभव छ। त्यतिखेर ५२ केजीकी यी हिरोइनलाई शिव रेग्मीको फिल्म 'दुनियाँ'को सुटिङमा धेरैले मोटाएको टिप्पणी गरेका थिए। त्यसपछि प्रत्येक फिल्मसँगै उनको मोटाइ बढ्दै गयो। हरेक बिहान सुटिङमा जानुअघि उनी ऐनाअगाडि उभिन्थिन्, अनि आफ्नो शरीर छरितो राख्न नसकेकोमा आफैंलाई धिक्कार्थिन्। तर, चाहना हुँदाहुँदै पनि सुटिङको व्यस्तताबीच उनले आफ्नो शारीरिक तन्दरुस्तीमा समय दिनै भ्याइनन्।
जब फिल्म घट्न थाल्यो, त्यसपछि सुरु भयो उनको 'फिटनेस' अभियान। काठमाडौं छोडेर मुम्बई पुगेपछि उनले यसैलाई आफ्नो पहिलो प्राथमिकतमा राखिन्। 'उता गएपछि दैनिक तीन घन्टा जिम गरेँ। खानपिन एकदमै सन्तुलित थियो,' उनले भनिन्।
प्रशिक्षकको प्रत्यक्ष निगरानीमा शारीरिक व्यायाम थालेकी निरुताले भात र जंकफुड पूरै त्यागिन्। 'उनीहरूले बनाइदिएको डाइट चार्ट सिरियसली पछ्याएँ,' तौल ४५ केजीमा झरेपछि उनले बुझिन्, 'डाइट कन्ट्रोल नगरे जति एक्सरसाइज गरे पनि फिट भइँदैन।'
शरीर घटाएपछि निरुताको व्यस्तता बढेको छ। रक्षा सिंहको फिल्म 'दि गेम' सकिनेबित्तिकै भद्र भुजेलको 'मलाई मन पर्‍यो'मा व्यस्त छिन्। केही समयको अन्तरालमा भएपनि व्यस्तता बढेकोमा उनी खुसी छिन्। 'व्यस्त हुँदा एक्सरसाइजको समय पाइन्न,' उनलाई चिन्ता पनि छ, 'सुटिङले रुटिन बिग्रिएको छ। खानपिनमा भने ध्यान पुर्‍याएकी छु। यस्तै ताल हो भने फेरि मोटाउन बेर छैन।'
व्यस्त हुँदा घरमै एक्सरसाइज गर्ने निरुता फुर्सदमा क्लब जान्छिन्। अहिले उनलाई फिल्मको विषयले 'किक बक्सिङ' अभ्यास गर्न प्रेरित गरेको छ। योग अभ्यास उनको दैनिकीमै पर्छ। 'फिट हुन एक्सरसाइज गर्छु, स्वस्थ रहन योग,' नियामित प्रणायामले माइग्रेन (अत्यधिक टाउको दुख्ने रोग) को समस्या ठिक भएपछि योगतर्फ आकर्षिक भएको उनी बताउँछिन्।
फलफूल, जुस, सुख्खा रोटी र सुप उनको नियमित आहार हो। 'दुई घन्टाको अन्तरमा केही न केही खान्छु,' खाली पेटले रोग निम्त्याउने उनको भनाइ छ।
'फिटनेस'ले फिल्म पाएको भन्ने टिप्पणीसँग भने उनी सहमत छैनन्। 'फिल्म खेल्ने कुरा दिमागबाट निकालेपछि मैले फिटनेस सुरु गरेकी हुँ। निर्देशकले फिल्म खेल्ने प्रस्ताव राख्दा मलाई देखेका थिएनन्,' उनले भनिन्, 'यस्तो रूपमा देख्दा निर्देशकहरू झन् खुसी भए।'
ग्ल्यामर दुनियाँमा लागेकाले मात्र 'फिट रहनुपर्छ' भन्ने सोंच बदलिँदै गएको उनले पाएकी छन्। 'फिटनेस गृहणीका लागि पनि आवश्यक छ,' उनी भन्छिन्, 'यसको फाइदा हिरोइनहरूलाई पनि हुने हैन। म भुवन केसीसँग फिल्म खेल्न थालेको मान्छे, जीवन लुइँटेलसँग पनि सुहाउँदो देखिनु फिटनेसको कमाल हुनसक्छ।'

निरुताको फिटनेस तालिका
• दैनिक तीन घन्टा एक्सरसाइज (जिम र योग)
• नास्तामा फलफूल
• सुख्खा रोटी र चिल्लो कम भएको मासु वा तरकारी (दिउँसोको खाना)
• खाजाको समयमा जुस
• बेलुकीको खानामा सुख्खा रोटी र सुप
nagariknews.com