काठमाडौ, चैत्र १२ - महेन्द्र पुलिस क्लबको स्विमिङ पुल परिसरमा उभिरहँदा बुधबार साँझ रक्षा सिंहले बाह्र वर्ष अघिका घटना सम्झिन । तिनताक उनी भर्खरै अट्ठार वर्षकी थिइन् र उनी नेपाली सेल्युल्वाइड फिल्मको पहिलो महिला सम्पादक बन्ने तरखरमा थिइन् । त्रिपुरेश्वरस्थित सिनेम्याटि्रक स्टुडियोमा काम थाल्नै लाग्दा केही चिनारु निर्देशकले मुखै फोरे, 'केटीबाट पनि फिल्म सम्पादन हुन्छ र ? तुरुन्त अरू नै खोजेर ल्याऊ ।'
बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने भनाइ रक्षाको करिअरमा पनि लागू भयो । यतिन्जेल पहिलो महिला फिल्म सम्पादकको छवि बनाइसकेका उनी बुधबार साँझबाट निर्देशक बन्दै थिइन् । 'ती निर्देशकको भनाइ मेरो जीवनमा प्रेरणाका रूपमा लागू भयो' ३० वर्षीया रक्षाले आफ्नो फिल्मको शुभमुहुर्त हुनुभन्दा केही अघि भनिन्, 'निर्देशक बन्ने सपना आज पूरा हुँदै छ ।'
कुराकानी क्रममा उनी घरिघरि स्विमिङ पुलको दायाँ छेउतिर आँखा लाउँथिन्, जहाँ धमाधम मुहुर्तका लागि स्टेज बनिरहेको छ । भित्तामा टाँगिएको थियो, 'द गेम' । लामो प्रतीक्षापछि कलाकारहरू सुमन सिंह, बालनरसिंह राणा, नायिका निरुता सिंह र झरना थापा स्टेजमा देखापरे । शिव रेग्मीको निर्देशनमा राजकुमार राईले क्लापिङ गरेपछि कलाकारले लगातार मुहुर्त संवाद बोल्न थाले ।
'सानैदेखि निर्देशक बन्ने सोचेकी थिएँ,' मुहुर्तको भीडभाडबीच आगन्तुकलाई स्वागत र बिदाइ गर्दै रक्षा बोलिन्, 'त्यही भएर फिल्म सम्पादनबाट सुरु गरेकी ।' यसबीचमा उनले 'माया नमार', 'कर्तव्य', 'जीवनरेखा', 'मुग्लान' लगायत साढे दुई दर्जन नेपाली फिल्म सम्पादन गरिसकेकी छन् । पछिल्लोपटक नवीन सुब्बा निर्देशित टेलिसिरियल 'दलन' को सम्पादन गरेपछि पारिवारिक आराममा बसेकी उनी आठ महिनापछि निर्देशकका रूपमा झुल्किएकी हुन् ।
'निर्देशनसम्बन्धी विशेष कोर्स नलिए पनि' उनले थपिन्, 'बाह्र वर्षे अनुभवले धेरै सिकाएको छ ।' त्यही भएर पनि होला उनले आफ्नो फिल्म एकदमै फरक धारको हुने दाबी
गरिन् । 'चल्तीको ट्रयाकबाट नेपाली फिल्मलाई बाहिर ल्याउने कोसिस गर्ने छु,' भनिन्, 'प्रस्तुति र कथावस्तु पनि फरक हुने छन् ।' सस्पेन्स थि्रलर बताइएको 'द गेम' मा सहरी निम्नमध्यम र मध्यमवर्गीय कथा हुने छ, जहाँ जीवनलाई फगत 'गेम' का रूपमा चित्रण गरिने छ । 'सहरको मोर्डन स्टोरी हो यो' उनले भनिन्, 'काठमाडौंमा हुर्किंदै गइरहेको मेट्रो कल्चरभित्रका संवेदना फिल्ममा हुने छ ।'
उनले यसो भन्दै गर्दा फिल्ममा नायक बनेका बालनरसिंह राणा पाहुनामाझ झुम्मिरहेका थिए, जो रक्षाका पति र फिल्मका कथाकार पनि हुन् । '४० दिनमै फिल्म खिचिसक्ने योजना छ,' उनले परिवारलाई जस दिन खोज्दै भनिन्, 'सबैबाट हौसला मिलिरहेको छ ।' हौसलाका लागि मुम्बईमा 'इन्टेरियर डेकोरेसन' पढ्न गएकी नायिका निरुता सिंह पनि आइपुगेकी छन् । दुई वर्षपछि निरुता रक्षाकै फिल्म 'द गेम' मार्फत देखिन थालेकी हुन् । 'मुम्बईमा थिएँ, रक्षा बहिनीले बोलाइन्' निरुताले भनिन्, 'यही फिल्मकै लागि आएकी हुँ ।' निरुताको बोलीलाई रक्षाले मुसुक्क हाँसेर साथ दिइन् ।
source: - ekantipur.com for promotional news.