|

फ्रेन्च र स्पेनी भाषामा बनेको यो चलचित्रको निर्देशन डगलस गोर्डन र फिलिपी पोर्रेनोले गरेका हुन्। जिदानको सम्पूर्ण खेल शिल्प र कौशल उजागर गर्न सफल यो फिल्म खिच्न खेलमैदानमा एकसाथ १७ क्यामरा राखिएका थिए। अर्को फिल्म 'बेन्ड इट लाइक बेकह्याम' बेलायतमा बस्दै आएका भारतीय आप्रवासी परिवारकी एक युवतीले डेभिड बेकह्यामजस्तै विख्यात फुटबल खेलाडी बन्ने सपना पुरा गर्न अगाडि बढाएको यात्रा र उनको संघर्ष चित्रण गरिएको छ। यस चलचित्रका निर्देशक आप्रवासी भारतीय गुरिन्डर चड्डा हुन्।
फुटबल खेलमा मात्र आफ्नो कौशल देखाउँदै आएका जिदान र बेकह्यामले सन् २००५ मा बनेको 'गोल! द ड्रिम बिगिन्स'मा पनि सानो भूमिका खेलेका छन्। एकजना मेक्सिन युवाको फुटबल खेलाडी बन्ने सपनामा आधारित यो चलचित्रमा जिदान र बेकह्यामलगायत रोनाल्डिह्नो पनि फुटबल खेलाडीकै रूपमा प्रस्तुत भएका छन्।
धेरै राष्ट्रमा फुटबलको विषयमा फिल्म बन्छन्। फुटबल खेलाडी बन्न गर्नुपर्ने संघर्षका यात्रा नै यी फिल्मका मुल विषय हुने गर्छन्। 'द यर माइ प्यारेन्ट्स वेन्ट टु भ्याकेसन' त्यस्तै फिल्म हो। यसमा आफ्ना आमाबुबासामु खेलशिल्प देखाउन आतुरी माउरो नामक फुटबल खेलाडीको संघर्षको कथा छ। १९७० को विश्वकप नजिकिँदै गरेको पृष्ठभूमिमा तयार यस चलचित्रमा ब्राजिलको तत्कालीन राजनीतिक जटिलताको चित्रण छ। आफ्ना अभिभावक राजनीतिक परिस्थितिकै कारण विदेशिनुपरेकोबाट अनभिज्ञ माउरो उनीहरूलाई बिदा मनाएर छिट्टै फर्कियोस् र आफ्नो खेल कुशलता हेरिदिओस् भन्ने पर्खाइमा हुन्छ। अत्यन्त भावुक परिवेश बोकेको यो एउटा उल्लेखनीय फिल्म हो।
भुटानमा धेरै कम फिल्म बन्छन्। ती थोरै फिल्ममध्ये 'द कप' महत्वपूर्ण छ। यस फिल्मका निर्देशक बौद्धलामा गुरु खेन्छे नोर्बु हुन्। निर्देशक नोर्बुले 'द कप' मा विश्वकप १९९८ को प्रत्यक्ष प्रसारण हेर्न बौद्ध गुम्बामा टेलिभिजन भित्र्याउन एउटा बालक लामाले गरेको संघर्षको कथा देखाएका छन्।
नेपाली फिल्मको सन्दर्भमा 'जीवनरेखा'मा नायक शिव श्रेष्ठ र खलनायक गौतमरत्न तुलाधरबीच दशरथ रंगशालामा फुटबल खेलेको एउटा दृश्य छ। यस्तै एउटा फिल्म 'साओलिन सकर' पनि हो। हङकङको यस फिल्मका निर्देशक स्टिफन चाओ हुन्। यस फिल्ममा 'साओलिन' मन्दिरभित्र प्रचलित मार्सल आर्ट्सअन्तर्गतको खेल 'कुंग्फु'लाई पुनः विश्वसामु पुर्याउन फुटबल खेलसँग फ्युजन गरी नयाँ खालको मार्सल आर्टको प्रादुर्भाव देखाइएको छ।
हलिउड र बलिउडमा पनि फुटबल विषयमा केही उल्लेख्य फिल्म बनेका छन्। तीमध्ये सबभन्दा पहिलो 'द आर्सनल स्टेडियम मिस्ट्री' हो। यो सन् १९३९ मा बनेको हो। थोरोल्ड डिकिन्सनले निर्देशन गरेको यस फिल्ममा एकजना खेलाडीलाई खेलकै बेला हत्याको प्रयास भएको देखाइएको छ। आन्ड्रेस वुडले निर्देशन गरेको 'फुटबल स्टोरिज' पनि एउटा उल्लेख्य फिल्म हो। यसैगरी २००८ मा बनेको स्पेनी फिल्म 'रुडो बाई कर्सी' पनि फुटबलमै आधारित फिल्म हो। यसमा गायक बन्न चाहने एकजना फुटबल खेलाडीको मर्मस्पर्शी कथा छ। यसका निर्देशक कार्लोस कौरान हुन्।
हलिउडका विश्वविख्यात अभिनेता सिल्भिस्टर स्ट्यालोन र माइकल केनको प्रमुख भूमिका रहेको 'इस्केप टु भिक्ट्री'लाई पनि फुटबलको कथामा बनेको राम्रो फिल्म मानिन्छ। युद्धबन्दीहरूको व्यथा समेटिएको फिल्ममा बन्दीहरूको टोलीले जर्मनीको राष्ट्रिय फुटबल टोलीमा सम्मिलित भई फुटबल खेल्ने देखाइएको छ। यस फिल्ममा पेलेले आफ्नै रूपमा फुटबल मैदानमा फुटबल खेलेका दृश्य छन्। 'कालो मोती' उपनामले चिनिने फुटबलका जादुगर पेलेले 'द यर माई प्यारेन्ट्स वेन्ट टु भ्याकेसन'मा पनि आफ्नो झलक देखाएका छन्।
निर्देशक डेभिड सेर्रानोको स्पेनी फिल्म 'डियास डे फुटबल'मा आफ्नो एक साथीको आत्मविश्वास फर्काउन फुटबल टिम खडा गर्ने कथा छ। स्कटल्यान्डमा निर्माण भएको 'ग्रेगरिज गर्ल' शीर्षकको फिल्ममा ग्रेगरी नामका एक युवाले आफ्नी प्रेमिका फुटबल खेलाडी भएका कारण आफू पनि फुटबलको अध्ययनमा लाग्नुपरेको रोचक प्रसंग हास्यात्मक स्थितिमा देखाइएको छ। वाल्ट डिज्नेको प्रस्तुति 'गोल' युरोपको सुपरलिग खेल्ने एक खेलाडीको सपनामा आधारित फिल्म हो।
फुटबलमा आधारित बलिउडका केही मत्वपूर्ण फिल्ममध्ये प्रकाश झाको 'हिप हिप हुर्रे', अनिल गांगुलीको 'साहेब', करण जोहरको 'कभि अलविदा ना कहना', यस चोपडाको 'मसाल', विवेक अग्निहोत्रीको 'दे दनादन गोल' प्रमुख रूपमा अगाडि आउँछन्। 'हिप हिप हुर्रे'मा विद्यार्थीलाई फुटबल प्रशिक्षण दिन नियुक्त नयाँ प्रशिक्षक र विद्यार्थीबीचको तनाव चित्रित छ भने 'साहेब'मा एक मध्यमवर्गीय युवाको फुटबल खेलाडी बन्ने सपना र आर्थिक अभावका कारण मिर्गौला बेच्नुपर्दा खेल जीवनमा आइपर्ने समस्या देखाइएको छ।
'कभि अलविदा ना केहेना'मा फुटबल खेलको दौरान दुर्घटनामा परी आफ्नो खुट्टामा उभिन नसक्ने नायकले जीवनमा भोग्नुपरेका कठिनाइ समेटिएको छ। फुटबलको खेलमा मध्यान्तरसम्म मैदानको एउटा भागमा खेल्ने टोली मध्यान्तरपछि अर्कै भागबाट खेल्नुपर्ने नियमलाई प्रतीकात्मक रूपमा प्रयोग गरी 'मसाल'मा मध्यान्तरअघिसम्मका सकारात्मक चरित्रको पात्र पछि नकारात्मक र पहिले नकारात्मक देखिएको पात्र मध्यान्तरपछि सकारात्मक बनेको देखाइएको छ।
फुटबलको विषयमा बनेका अरू भारतीय फिल्ममध्ये बंगाली भाषाको 'मोहन बागानेर मेये' र 'धान्नी मेये' चर्चित छन्। 'धान्नी मेये'मा गाउँमा फुटबलको कारण सिर्जिएको समस्या र त्यसको निराकरण चित्रित छ भने हास्यप्रधान फिल्म 'मोहन बागानेर मेये'मा तत्कालीन कलकत्ताको सुप्रसिद्ध फुटबल टिम मोहन बागानका एक प्रशंसकले आफ्ना छोराको विवाह बागानकै प्रशंसकसँग हुने सर्त राखेपछि सिर्जित कठिन परिस्थितिलाई हास्यरूपमा देखाइएको छ।
nagariknews.com