Your Ad Here

'उमेर मिल्ने केटी पाइएन'



सन्तोष पोखरेल, पोखरा, भदौ ९ - अढाइ सयको हाराहारीमा फिल्म खेलिसकेका अभिनेता राजेश हमाललाई पहिलोचोटि भेट्ने सबैले सोध्छन्, 'बिहे कहिले गर्ने? हमालको जवाफ पनि सहज आउँछ, 'बिहे गर्न भनेजस्तो केटी नै पाइएन।' पोखरामा भेटिएका हमालका लागि सञ्चारकर्मीको पहिलो प्रश्न पनि बिहेकै थियो। चर्चामा आउन उमेर घर्किसक्दा पनि बिहे नगरेको भन्ने चाहिँ उनी स्विकार्दैनन्। उनको एउटै गुनासो छ, 'केटीले पत्याएनन्।' 'बिहे गर्न कमसेकम एक जना केटीले त पत्याउनु पर्‍यो नि,' राजेश भन्छन्, 'उमेर मिल्ने केटी नै पाइएन।' केटीहरू १८ वर्ष हुनासाथ बिहे गर्ने भएकोले उनले रोजेको केटी नपाएको बताए।
उनले ४८ कटाइसकेका छन्। तर, आफू २१ औं शताब्दीको ४८ भए पनि २० औं शताब्दीको भने २८ वर्ष नै रहेको ठट्टा गर्छन्। 'मेरो बिहे गर्ने उमेर ढल्केको छैन,' उनी भन्छन्, '२१ औं शताब्दीको ४८ वर्षको भए पनि २० औं शताब्दीको त बल्ल २८ वर्षको भएँ, त्यसैले हतार छैन।'
उनले यसअघि पटकपटक वर्ष दिनभित्र बिहे हुनसक्छ भन्दै आएका थिए। त्यो बोली पूरा नहुनुमा केटीलाई नै दोष दिन्छन् उनी।
'केटीहरू माछा समाएसमाए जस्तै गर्दा फुत्किने रहेछन्, त्यसैले अहिलेसम्म पाएको छैन,' राजेशले भने, 'यसो केटी पाइन्छ कि भन्ने आशा भइरहँदा कुरा बिग्रिहाल्छ र फुत्किहाल्छ।'
बिहे गर्न खास उमेर नतोकिएकोले आफ्नो बिहे नभएको उनको अनुमान छ। 'विवाह यति नै उमेरमा गर्नु पर्छ भन्ने कुनै ग्रन्थमा लेखिएको छैन, त्यसैले गरौला नि कुनै दिन भने जस्तो हुन्छ,' राजेशले भने।
तपाईको विवाह गरिदिन विदेशी शक्ति नै चाहिएको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले विदेशी शक्तिलाई अस्वीकार गरे। स्वदेशी शक्ति नै आफ्नो लागि भरिपूर्ण रहेको बताउँदै भने, 'मलाई त स्वदेशीमा विश्वास लाग्छ, स्वदेशी शक्ति नै बलियो हुन्छ।'
वासुदेव पोखरेलद्वारा निर्देशित फिल्म 'पल्टन' को सुटिङ गर्न पोखरा आएका राजेशले आफ्नो बिहेको पीडासँगै देशको राजनीतिक अवस्था पनि खोतल्न भ्याए। राजनीतिक अस्थिरताले नेपाली फिल्म क्षेत्र संकटमा परेको गुनासो उनले गरे। 'लालटिन लिएर प्रधानमन्त्री खोज्न जानु पर्ने समय देशमा आएको छ,' राजेशको गुनासो थियो, 'राजनीतिक अस्थिरताले देश संकटमा परिसक्यो।'
राजनीति सुचारु नहुँदाको मारमा आफुसमेत परेको उनले बताए। 'राजनीतिक स्थिरता हुने हो भने सिनेमाको प्रगति आफै हुन्छ, राज्यले केही गर्नुपर्दैन,' राजेशले भने, 'राजनीति डामाडोल हुँदा सबैको चासो त्यतैतिर गएको हो।'
प्रसंग फेरि राजनीतिबाट बिहेमा फर्कियो। यथार्थमा दुलही नभेटिए पनि फिल्ममा भने धेरै हिरोइनहरू उनका दुलही बनिसकेका छन्। उनको फिल्मी बिहे थुप्रैपटक भइसकेको छ।
अभिनयका क्रममा उनले गरेको बिहेको लेखाजोखा नै छैन। 'फिल्ममा त बिहे कति गरियो गरियो,' उनले भने, 'साँच्चैको बिहेमात्र पो नजुरेको हो।'
फिल्ममा हिरोइनसँग थुप्रैपटक बिहे गरेको अनुभव उनीसँग छ। 'दुईपटक त तृप्तीजी सँग पनि बिहे भइसक्यो क्यार, छेउमै रहेकी अभिनेत्री तृप्ती नाडकरलाई देखाउँदै उनले भने, अरू हिरोइनसँग पनि थुपै्रपटक बिहे गरिसके।'
source:nagariknews.com