Your Ad Here
आज शुक्रबार सार्वजनिक हुने बलिउड चलचित्र 'वन्स अपअन अ टाइम इन मुम्बई' एक्सन तथा रोमान्टिक चलचित्र हो । एकता कपुरको बालाजी  पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा अजय देवगण, इमरान हासमी, कंगना रानावत, प्राची देसाई, रणदीप हुद्दा, गौहर खान, अवतार गिल आदि  कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । मिलन लुथरियाद्वारा निर्देशित यो चलचित्रलाई प्रीतमले संगीतबद्ध गरेका हुन् भने यसका गीतहरू मिका  सिंह, केके, सुनिधि चौहान, मोहित चौहान, राहत फतेह अलि खान आदिले गाएका छन् । फरक शैलीको कथामा निर्माण भएको यो चलचित्रलाई एक  जना प्रहरी अधिकृतको आँखाबाट हेर्ने प्रयास गरिएको छ । चलचित्रमा सन् ७० को दशकको कथा समावेश छ, जतिबेला मुम्बईमा अन्डरवल्र्डको  परिभाषा परिवर्तन भैरहेको थियो । मुम्बईमा अन्डरवल्र्डको चहलपहल कसरी प्रारम्भ भयो ? के कारणले भारतमा यो अपराध प्रारम्भ भयो ? यही  कुरालाई चलचित्रको मुख्य विषय बनाइएको छ । चलचित्रको कथाअनुसार १९७० मा मुम्बईमा सुल्तान -अजय देवगण) को उदय हुन्छ । अन्डरवल्र्डको  संसारमा उनी तीव्र गतिमा अघि बढ्छन् । मुम्बईमा उनको साम्राज्य चल्न थाल्छ । शोएब -इमरान हासमी) कुनै बेला सुल्तानसँगै काम गर्थे, तर अहिले  शोएबले सुल्तानको प्रभुत्वलाई चुनौती दिन थालेका छन् । अजय देवगणको चरित्र मुम्बईका पहिलो डन हाजी मस्तानबाट प्रेरित भएको बताइन्छ ।  चलचित्रमा ४० वर्षअघिको मुम्बई देखाउन प्रशस्त मेहनत गरिएको छ । कलाकारको हाउभाउ तथा पहिरनमार्फत त्यस बेलाको समय झल्काउने प्रयास  यो चलचित्रमा भएको छ ।
ekantipur.com/saptahik