
काठमाडौँ, साउन १४ (नागरिक)- कलाकार झरना बज्राचार्यले आफ्नै साइट सुरु गरेकी छिन्। झरनाबज्राचार्य डट कम ठेगाना भएको वेबसाइटमा पाठकले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन्। पूर्व मिस नेपाल बज्राचार्यले आफ्नो साइटमा आध्यात्मलाई जोड दिने बताएकी छन्। साइटमा 'लिभिङ' र 'स्पिरिट' गरी दुई भाग छन्। 'लिभिङ'मा झरनाको मोडलिङ, फिल्मी करिअर र जीवन यात्रा बारे उल्लेख छ। 'स्पिरिट'को भागमा उनका लेख पाठकले पढ्न पाउने छन्। 'मलाई थाहा छ धेरै मान्छे सोचभित्र आफूलाई गुमाइरहेका हुन्छन्' वाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन्- 'धेरै समस्याका मुख्य स्रोत मान्छेकै नकारात्मक स्रोत हुन्।'
२८ वटा नेपाली फिल्म र बलिउडको 'लभ इन नेपाल'मा अभिनय गरेकी झरनाले विपश्यना ध्यान र त्यसको अनुभव साइटमा लेख्ने बताएकी छन्। फिल्मी क्षेत्रमा काम गरिरहे पनि ६ वर्ष देखि उनी विपश्यना ध्यान गर्दै आएकी छन्। 'फिल्म र ग्ल्यामर बारे केही नै लेख्दिन भन्ने पनि हैन',- 'प्रदर्शनको पर्खाइमा रहेको 'कोही मेरो' चलचित्रकी हिरोइनले भनिन् 'आफू जुन अवस्थामा पुग्छु त्यही लेख्छु त्यो ध्यान होस वा फिल्म।'
यसअघि कलाकार निखिल उप्रेतीको पनि साइट सञ्चालनमा आइसकेको छ।
nagariknews.com