Your Ad Here

क्यामेराका कारण मानेनन् विराज



काठमाडांै/ अहिलेका व्यस्त अभिनेता विराज भट्टले इ-एक्स थ्री डिजिटल क्यामेराले खिचिने फिल्ममा अभिनय गर्न आनाकानी गर्न थालेका छन् । 'इ-एक्स थ्रीमा धेरै फिल्म खेलियो । रिजल्ट पनि खासै राम्रो आएन । त्यसैले इ-एक्स थ्रीवाला फिल्म नखेल्ने सोचमा पुगेको छु,' विराजले भने, 'कहिल्यै खेल्दिनँ भन्नेचाहिँ होइन । राम्रा ब्यानर, दमदार स्त्रिप्ट भएमा कुन क्यामेराले खिचिन्छ, ठूलो कुरा होइन ।'
इ-एक्स थ्री क्यामेराले खिचिने भएकाले विराजले केही महिनाअघि नै सम्झौता गरेको निर्माता रिमेश अधिकारीको नयाँ फिल्म अंकुश नखेल्ने भएका छन् । विराजले अंकुश टु के नभए सुपर सिक्टिन क्यामेराले खिच्ने सल्लाह दिएको बताउदै निर्माता रिमेशले भने, 'एगि्रमेन्ट गर्ने वेलामै उहाँ इ-एक्स थ्रीमै काम गर्न राजी हुनुहुन्थ्यो । तर, अहिले उहाँ क्यामेराको कुरा अघि सार्नुहुन्छ । क्यामेरामा के राखेको छ ?' अभिनेता विराजले यसअघि इ-एक्स थ्रीमै खिचिएको रिमेशको फिल्म बसमा छैन यो मनमा अभिनय गरेका थिए । 'इ-एक्स थ्री, टु के, रेड, सुपर सिक्टिन, सिक्टिन जुन क्यामेराले खिचे पनि फिल्म राम्रो बनाउने हो । कलाकारको काम अभिनय गर्ने हो, जुन क्यामेरा भए पनि के फरक पर्छ ?' रिमेशले भने, 'उहाँको हातमा धेरै फिल्म भएकाले होला क्यामेराको बहाना बनाएको । तर एकजना कलाकारका लागि कुनै निर्माताले पनि आफ्नो निर्धारित बजेट बदल्छ भन्ने लाग्दैन, मलाई ।' निर्माता रिमेश विराजले समय दिन नचाहेकाले उनको भूमिकामा अभिनय गराउन अर्का नायकको खोजीमा लागेका छन् 
वासुदेव पोखरेलको निर्देशक रहेको अंकुशको असोज पहिलो सातादेखि सुटिङ सुरु गर्ने योजनामा थिए, निर्माता रिमेश । तर, फिल्मको प्रमुख पात्रले नै आफ्नो फिल्मप्रति अनिच्छा देखाएपछि सुटिङ कहिले सुरु गर्नेमा निर्माता आफैँ अन्यौलमा छन् । भन्छन्, 'अब अर्काे हिरो साइन गरेर तिहारपछि सुरु गर्नुपर्ला । फिल्मको नाम पनि चेन्ज गर्ने सोचमा छु ।' पहिला रिमेशले यो फिल्ममा विराजका साथै उनका भाइ नायक कृष्ण भट्टलाई अनुबन्धित गरेका थिए । तर, अब आफ्नो फिल्ममा दुई भाइ नै नहुने उनले बताए 
पछिल्लो समयमा अभिनेता विराज निकै व्यस्त छन् । उनको हातमा एकसँगै अर्काे फिल्म परिरहेका छन् । भोजपुरी फिल्मका लागि केही दिनमा मुम्बई जान लागेका उनी त्यहाँ झन्डै दुई महिना लाग्ने बताउँछन् । 'यहाँ-त्यहाँ फिल्मै फिल्म छन् । समय दिन गाह्रो छ,' विराज भन्छन्, 'मुम्बईमा भोजपुरीसँगै हिन्दी फिल्म गर्ने अफर आएको छ । त्यसकारण केही समय नयाँ फिल्म गर्न भ्याइँदैन ।'