मेरो सिनेमा ९ असोज २०६७,
शुक्रवार निर्देशक समाजको पहलमा फेस्टिभलमा सहभागि सिनेमाको सेन्सर सम्बन्धी छलफल गर्न गोलमेचको आयोजना गरिएको थियो । गोलमेचले निर्देशक समाजको अध्यक्ष संयोजक र बरिष्ठ चलचित्रकर्मी तथा फेस्टिभल आयोजकहरु सदस्य रहेको दवाव समिति गठन गरेको थियो । समितिलाई सबै चलचित्रकर्मीले समर्थन गरेका छन् । सो अवसरमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष अमर गिरीले आफ्नो पनि समर्थन रहेको बताए । तर गोलमेचमा डाकिएपनि सेन्सर बोर्डका पदाधिकारीहरु उपस्थित भएनन् ।
बरिष्ठ चलचित्रकर्मीहरु यादव खरेल, नवीन सुब्बा, अशोक शर्मा, नरेश पौड्याल, नकिम उद्दिन, सुरज सुब्बा, रमेश बुढाथोकी, मोहन मैनाली, बसन्त थापा, घनश्याम खतिवडा लगायतले फिल्म फेस्टिभलमा सेन्सर हटाउनुपर्ने माग गरे । सेन्सर बोर्डमा पैसाको चलखेल भएकोप्रति कडा आपत्ति जनाउँदै उनीहरुले विद्यमान सेन्सर बोर्ड भङ्ग गर्नुपर्ने धारणा पनि राखे । समारोहमा बड्स फिल्म फिएस्टा आयोजक कीपा अध्यक्ष प्रतिमा श्रेष्ठको भावुकताले सबैलाई मर्माहत तुल्याएको थियो ।