Your Ad Here

समिक्षा : बाटो मुनिको फुल्

विष्णु शर्मा,

review_home_400सिनेमा : बाटो मुनिको फुल
निर्देशक : सुरज सुब्बा 'नाल्बो'
प्रस्तुतकर्ता : यशकुमार
कलाकार : यशकुमार, रेखा थापा, बाबु बोगटी, नन्दिता केसी, हेमन्त बुढाथोकी, शुभद्रा अधिकारी, गणेश उप्रेती
निर्माण संस्था : रिदम फिल्म्स प्राली
निर्माता : अच्युत श्रेष्ठ, वीरेन्द्र यादव र राजेश घतानी
कथा/संगीत/गीत : यशकुमार
छायांकन : सञ्जय लामा
कोरियोग्राफी : गोविन्द प्रभात/अराज केशव
सेन्सर सर्टिफिकेट : पी/जी
श्रेणी : सोसल ड्रामा
बजेट : साठी लाख
अवधि : २ घण्टा १५ मिनेट

राष्ट्रिय योजना आयोगको अध्ययनले भन्छ : मुलुकका ४८ लाख दलितहरु अझैपनि जातिय उत्पीडनमा बाँचिरहेका छन् । प्रमुख दलका घोषणापत्रहरु भन्छन -दलित मुक्तिका लागि जातिय आन्दोलन अपरिहार्य छ । यसबीच दलित र गैरदलितबीच प्रेम र विवाह भए जुन सम्बन्धमा अहिलेपनि समाज बाधक बनिरहेको छ । चलचित्र 'बाटो मुनिको फुल'ले यसै भन्छ । सुरज सुब्बाले निर्देशन गरेको चलचित्रले दलित मुक्तिको वकालत गरेको छ ।

निर्देशकका रुपमा देखापरेका सुब्बाले जातिय भेदभावको विषयवस्तुलाई उठान त गरेका छन् तर प्रस्तुतिकरणले दर्शकलाई बैचारिक आडम्बरबाहेक केही दिँदैन । विषयवस्तुको गहिराइमा पुगेर फिल्म मेकिङ गर्न निर्देशकले मष्तिष्कको कसरत गरेका छैनन् । चलचित्रभित्र कथाको परिवेश, भौतिक स्वरुप, मनोदशा, पात्र र वर्तमानमा नेपाली समाजको जातिय छुवाछुतको यथार्थताबीच धेरै ठूलो अन्तर छ । उत्तराद्र्धमा दलित समुदायमा पैदा भएको जागरण, राजनीतिक परिवर्तन, दलित जातिमा उघि्रएको ज्ञानको क्षितिजलाई कथा र निर्देशकले पूर्णरुपमा नजरअन्दाज गरेका छन् । चलचित्र 'बाटो मुनिको फूल' नेपाली समाजको दलित आन्दोलनबाट पूर्णतः विमुख छ । आदर्श र यथार्थबीचको दुरीलाई आत्मसात गर्न लेखक यशकुमार चुकेका छन् ।

कथा : पहाडिया दलित परिवारको छोरो सुरेश (यशकुमार) र पहाडे खस बाहुनकी छोरी गुराँस (रेखा थापा) बालसखी हुन् । सानैदेखि उनीहरु एकअर्कालाई मनपराउँछन् । सुरेशका भाई (बाबु बोगटी) र विश्वकर्मा थरकी युवती तुलसी (नन्दिता केसी) पनि एकअर्कालाई मनपराउँछन् । यी जोडीहरुको प्रेममा परिवार र समाज बाधक बन्छन् । एकअर्कासँग विहे गर्ने चाहना भएपनि जातिय कट्टरताको परिवारले त्यसो हुन दिँदैन । यसबीचमा चलचित्रका अन्य पात्रहरुले जातिय विभेद खप्न नसकेर आत्महत्या पनि गरेका हुन्छन् । आवरणमा दलित एनजिओ खोलेर बसेका गुराँसका बाबुले आफ्नै छोरीलाई भगाएर सहर लैजान खोज्छन् जतिबेला सुरेशसँग द्धन्द्ध हुन्छ । उक्त द्धन्द्धमा गुराँसको मृत्यु हुन्छ । उसको हत्या खलनायकले गरेपनि दोष भने सुरेशलाई लगाएर जेलमा थुनिन्छ । प्रहरी अधिकारी राजेश हमालले गाइनेमार्फत यथार्थ बुझिसकेपछि सुरेशलाई निर्दोष बताउँछन् । गुराँसका पिताले प्रहरीसँग माफी माग्छन् । प्रेमवियोग खेपेको सुरेश जेलबाट छुट्छ र जातिय मुक्तिको न्याय पाउँछ ।

निर्देशन : सुरज सुब्बा 'नाल्बो' नाम चलेका स्क्रिप्ट राइटर हुन् । उनको निर्देशनमा 'हाइ एस्पेक्टेसन' थियो । तर चलचित्रमा 'कन्फ्लिक्ट'को परिभाषा दिन निर्देशक सक्षम देखिएका छ्रैनन् । पैंचालिस मिनेटसम्म पनि कथा 'फ्रीज' बन्दा दर्शकले मनोरन्जनको मूल्य पाएको अनुभूति गर्न सक्दैनन् । पात्रहरुको थुप्रोलाई ह्याण्डल गर्न केही हदसम्म निर्देशक सबल भएका छन् । यति भएर पनि दलित मुक्तिजस्तो गहन कथालाई निर्देशक सुब्बाले 'रियालिस्टिक' तुल्याउन सकेका छैनन् । कथावस्तुको कमजोरीलाई ढाकछोप गर्न संगीत र प्रेमको सहारा लिइएको छ । निर्देशनमा 'हाइ एस्पेक्टेसन' भएर पनि होला उनी सामान्य प्रकृति निर्देशनबाट उठन नसकेको जस्तो लाग्छ ।

अभिनय : यशकुमार चलचित्रका केन्द्रिय पात्र हुन् तर कथालाई लिड गर्न उनलाई हम्मे परेको छ । डेब्यु अभिनेताका रुपमा यशकुमार सन्तोषजनक छन् । रेखा थापा र बाबु बोगटी भने आफ्नो भूमिकामा 'लाउड' छन् । रेखाको अभिनय चलचित्रको दर्शनीय पक्ष हो । रेखा र बाबुको अभिनयलाई हटाइदिने हो भने चलचित्र बिरुप भन्छ । नन्दिताले छोटो भूमिकामा न्याय गरेकी छिन् । राजेश हमालको अतिथि भूमिका प्रशंसनिय छ । सिनेम्याट्रोग्राफीमा सञ्जय लामाले राम्रो मिहेनत गरेका छन् । फोटोग्राफी 'सार्प' र 'एमोच्युर' छ ।

संगीत : चलचित्रको राम्रो पक्ष हो संगीत । यसअगावै चलचित्रका दुई गीत 'तुलसी आँगनमा रोपौंला…' र 'कुनै पल…' दर्शकको मुखैमा झुन्डिएका छन् । चलचित्रको प्रमोसनल सङ 'कुनै पल…'ले त दर्शकको भावनासँग सुख साट्छ । यशकुमार, बाबु बोगटी, प्रकृति गिरी र प्राश्ना शाक्यको स्वर प्रशंसनिय छ । यशकुमार आफ्नो मूल पेशा संगीतमा भने अब्बल छन् । उनको हिट गीत 'मैले छोएको पानी चल्दैन…'लाई पनि फिल्ममा स्थान दिइएको छ । गोपाल रसाइलीको ब्याकग्राउन्ड म्युजिक कथानक अनुसार राम्रो छ ।

ब्यापार : यो चलचित्रले औषत ब्यापार गर्छ । ओपनिङमा जति कलेक्सन गर्‍यो उतिमै सीमित रहनेछ यसको ब्यापार । मल्टिस्टारर चलचित्र भएकाले केही प्रतिशत दर्शक आकर्षित हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।
from merocinema