Your Ad Here

'अर्धसत्य'बाट प्रभावित 'वासुदेव'!

सन्तोष रिमाल, काठमाडौं, वैशाख ६- 'वासुदेव' बनाएको झन्डै २५ वर्षपछि यसका निर्देशक नीर शाहले फिल्मकर्मीसामु रहस्य खोले। 'फिल्म अर्धसत्यबाट प्रभावित भई मैले वासुदेव बनाएको हुँ,' भारतीय फिल्मनिर्देशक गोविन्द निहलानीसँग उनले बिना हिच्किचाहट भने, 'तपाईंकै फिल्मको अन्तिम दृश्यबाट प्रभावित भएर वासुदेवको शीर्षभूमिका निर्वाह गर्ने पात्रलाई मारेको हुँ। नत्र उनलाई मार्ने स्क्रिप्ट थिएन।'
  समानान्तर फिल्मका हिमायती निहलानीलाई यो सुनाउँदा शाह गर्व गर्दै थिए, 'यो फिल्मले त्यसबेला नेपाली फिल्मको प्याटर्न चेन्ज गरेको थियो। अहिले यही फिल्मको सिक्वेल बनाउने तयारीमा छु।' नेपाल चलचित्र निर्देशक समाजले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि निहलानीका फिल्मबारे समेत प्रकाश पारे उनले। 
भारतीय सांस्कृतिक केन्द्रले आयोजना गरेको फिल्म महोत्सवमा भाग लिन नेपाल आएका निहलानीले नेपाली फिल्मको वर्तमान अवस्था देख्दा आफूलाई सत्तरीको दशक याद आएको उल्लेख गरे। 'नेपालमा समानान्तर फिल्म बनाउन जस्तो कठिनाइ छ, त्यतिबेला भारतमा त्यस्तै थियो,' उनले भने 'सत्र फिल्म बनाई सकेँ। अहिले पनि नयाँ फिल्म बनाउन उस्तै संघर्ष झेल्नु परेको छ।'
मूलधारभन्दा फरक फिल्म बनाउन सरकारले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे। यसका लागि फिल्मकर्मीले आवाज उठाउनु पर्ने उनको भनाइ थियो। 'भारतमा पनि सत्यजित रेको अगुवाइमा फिल्मलाई सरकारले सहयोग गर्नुपर्ने कुरा उठेको हो। फिल्म फाइनान्स कर्पोरेसनको स्थापना भएपछि हामीजस्ता फिल्मकर्मीलाई निकै राहत भयो,' उनले सम्भि्कए, 'न्यु वेभ फिल्मले सरकारकै आलोचना गर्थ्यो। तथापि ती फिल्मको प्रवर्द्धनमा सरकारले खर्च गर्ने गरेको थियो।'
स्थानीय भाषाका फिल्म निर्माणमा प्रान्तीय सरकारले अनुदान दिने गरेको समेत उनले सुनाए। 'मराठी फिल्ममा सरकारले ३० लाखसम्म सहयोग गर्ने गरेको छ। त्यसैले मराठी फिल्म गुणस्तरीय हुँदै गएको हो,' उनले फरक फिल्म बनाउन चाहने नेपाली फिल्मकर्मीलाई सुझाए, 'सरकारी सहयोग पाउन पहल गर्नुस्। बजेट घटाउँदा रिस्क पनि घट्छ। यसको निम्ति डिजिटल प्रविधि पनि उपयक्त हुन्छ।'
अन्तरक्रियामा उनले आफ्ना फिल्म 'अर्धसत्य', 'हजार चौरासी की मा' र 'आक्रोश'को रचनागर्भ सुनाए। कार्यक्रममा फिल्मनिर्देशक युवराज लामाले निहलानीलाई भादगाउँले टोपी लगाइदिएका थिए। कार्यक्रममा दिनेश डिसी र नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले पनि निहलानीबारे बोले।