Your Ad Here

निखिलको भूमिकामा राजेश

खिलानाथ ढकाल, विराटनगर, बैशाख १३ - नायक निखिल उप्रेतीले धोका दिएपछि उनको भूमिकामा राजेश हमाललाई अनुबन्धित गरिएको छ। गत फागुन अन्त्यबाट द्रुत गतिमा काम थालिएको चलचित्र 'माटो'को लागि निर्देशक किशोर सुब्बाले निखिललाई मुख्य भूमिकामा छानेका थिए। पचास प्रतिशत छायाङ्कन सम्पन्न भए पनि निखिल सुटिङमा अनुपस्थित भएपछि हमाललाई उनको भूमिकामा ल्याइएको सुब्बाले बताए।

निखिलले लामो समय धोका दिँदा छायाङ्कन पनि प्रभावित भएको उनले बताए।
'निखिलजीले बचन दिएर पनि खेल्नु भएन जसको कारण खर्च मात्र बढी भयो,' उनले नागरिकसँग भने। 'संघीय राज्यले मुलुकलाई एकताको सुत्रमा बाँध्छ' भन्ने मूल सन्देश बोकेको माटो कथा अनुसार नै चार जना समावेशी नायकको वरिपरि केन्द्रित छ। जसअनुसार चलचित्रमा खस, मधेसी, आदिवासी र जनजातिको प्रतिनिधित्व गर्न तिनै समुदायबाट नायकहरु रहेका छन्।Rab Ne Bana Di Jodi (Hindi Movie / Bollywood Film / Indian Cinema / DVD)

'यसमध्ये निखिलले खस युवाको भूमिका गर्नुपर्ने थियो', उनले भने। निखिल अनुपस्थित भएपछि उनको स्थानमा नायक राजेश हमाललाई ल्याउने उनले जानकारी दिए। निखिलको ठाउँमा राजेशलाई अनुबन्धित गर्नुपर्ने भएपछि कथा वस्तुमा केही हेरफेर गर्नुपरेको पनि निर्माण पक्षले बताएको छ।

माता पाथिभरा फिल्मस प्रालिको प्रस्तुति माटो चलचित्रमा आगामी राज्य पुनसंरचनाको खाका कस्तो हुनुपर्ने र वर्षौदेखि उत्पीडनमा रहेका आदिवासी, जनजाति र मधेसीहरुको हकअधिकार सुनिश्चितताका लागि सशक्त आवाज उठाइने जानकारी दिइएको छ।

चलचित्रमा राजेश, मेलिना मानन्धर, सिमान्त उदास, पुष्प श्रेष्ठ, मित्र लिङ्देन, मुकुन्द श्रेष्ठ आदिको अभिनय रहनेछ। राजधानी लगायत पूर्वका झापा, इलाम, धरान, धनकुटालाई केन्द्रित गरी सुटिङ हुने चलचित्रलाई पूर्ण समावेशीमूलक बनाइने निर्देशक सुब्बा बताउँछन्। ...आगामी साउन महिनाभित्रमा चलचित्रलाई प्रदर्शनमा ल्याइनेछ', उनले भने।