Your Ad Here

संस्कृत पढ्ने हिरो

                  



सन्तोष रिमाल, काठमाडौं, वैशाख २३- आठ कक्षादेखि संस्कृत पाठशालाको पढाइ। उत्तरमध्यमा, शास्त्री र आचार्य तहको अध्ययन बाल्मिकी विद्यापीठमा। ज्योतिषशास्त्रको शास्त्रीपछि बौद्ध दर्शनमा आचार्य गर्दै गरेका व्यक्तिले के लक्ष्य बनाउँलान्? पुराण भन्ने पण्डित, धर्मिक प्रवचन दिने धर्मगुरु वा सोही विषयको अध्यापनमध्ये केही हुनसक्ला।

सुरुमा यस्तै लक्ष्य थियो धादिङका एक ब्राह्मण ठिटोको पनि। तर, लक्ष्य बदलियो। सबै सम्भावनाभन्दा फरक बाटोमा लागे उनी। संस्कृत पढेर संस्कृतिको क्षेत्रमा। कलाको विभिन्न पाटोमा सक्रिए हुँदै उनी फिल्मको हिरो भएका छन् अहिले। त्यो पनि एक्सन भूमिकामा राम्रो सम्भावना देखाउँदै। यहाँ चर्चा हुँदैछ देशभर चलिरहेको फिल्म 'हिफाजत'का हिरो आयुष रिजालको।
'अहिलेको पेशा पढाइभन्दा फरक भएन?' उनले जवाफ दिए, 'म एकदम ठीक क्षेत्रमा छु। संस्कृत पढेर पण्डित्याइँ नै गर्नुपर्छ भन्ने मान्यता पुरानो हो। यसको ज्ञान कलामा मजाले पोख्न सकिन्छ।' उनले कलाको मूल स्रोतका रूपमा व्याख्या गरे संस्कृत शिक्षालाई। सामवेदको उदाहरण दिँदै उनले थपे, 'यो संगीत शिक्षाको वेद हो। भरतमुनीको नाट्यशास्त्र पूर्वीय कला क्षेत्रमा निकै प्रसिद्ध छ। यसका अनुयायी धेरै छन्। अनि कसरी कलालाई संस्कृतभन्दा फरक ठान्ने?' संस्कृतले सभ्यता जन्माएको उल्लेख गर्दै कलालाई सभ्यताबाटै आएको तत्वको रूपमा व्याख्या गरे उनले।
 द्वन्द्व कलाकारका रूपमा सुरु भएको हो, आयुषको कलाकारिता। यिनी पढ्ने वाल्मीकि कलेजको मैदानमा मार्सल आर्टको तालिम हुन्थ्यो। वेदको ऋचा कण्ठ गर्ने अभियानमा लागेका यी अल्लारेलाई मार्सल आर्टको मोहले सजिलै तान्यो। त्यहाँ सिक्न आउनेमध्ये केही द्वन्द्वकलाकार पनि थिए। उनीहरूको संगतले आयुषको बाटो बदल्यो। कलेजको समय मिलाएर भागवत पाठ गर्न त्यसबेलाको राजदरबारदेखि अरु गन्यमान्यकहाँ पुग्ने यी पण्डित फिल्मको सुटिङ स्पटमा धेरै देखिन थाले। फुर्सदमा यजमानकहाँ होइन हिरोको कुटाइ खान गए। राम्रो द्वन्द्व गर्ने आयुष फिल्मको द्वन्द्वकलामा फस्दै गए बिस्तारै। 'कलाकारितामा सानैदेखिको रुचि थियो। माहोल पाएपछि मेहनत पनि बढ्यो,' सबैको जस्तो जवाफ दिए उनले।
यो पार्टटाइम कामले मात्र उनलाई पुगेन। त्यसैले भिडियो क्यामेरा चलाउन थाले। टेलिभिजन कार्यक्रम र डकुमेन्ट्री निर्माणमा उनको क्रियाशीलता बढ्यो। सानो पर्दा, ठूलो पर्दा, क्यामेरा अगाडि, पछाडि केही नभनी उनी काममा लागे। सबैखाले कामको रफ्तारबारे जिज्ञासा राख्दा उनले गीताको श्लोक सुनाए,
कर्मन्येवाधिकारस्तेमा फलेषुकदाचन :
अर्थ पनि आफैंले बताए, 'कर्म गर्ने मात्र हाम्रो अधिकारको कुरा हो। सफलता/असफलता हाम्रो वशमा छैन।' यही श्लोकलाई आत्मसात गर्दै काम गरेको प्रमाण दिन खोज्दै थिए उनी। 'मैले पनि अगाडि परेको काम सक्दिन नभनी गर्दै गएँ।'
यिनले हिरो बन्ने सपना सुरुमै देखिसकेका थिएनन्। तर, त्यो बाटोको खुड्किलो बन्यो मोडलिङ। यसको पनि रोचक कथा रहेछ। 'स्वरुपराज आचार्यले गाएको 'म ढलेँ' गीतको म्युजिक भिडियो बनाउने जिम्मा पाएको थिएँ। कन्सेप्ट तयार पारेपछि आफैं अभिनय गर्न मन लाग्यो,' उनलाई यसरी हिरो बन्ने चिठ्ठा परेछ, 'हिरोइन रेखा थापा नयाँ हिरोको खोजीमा रहिछिन्। यही गीतको भिडियो हेरेर उनले मलाई अफर गरिन्।' रेखा क्याम्प फाप्यो उनलाई। एक्सन रोलबाट फिल्ममा डेब्यु गरेका आयुषले 'हिफाजत' रिलिज नहुँदै 'सडक'को सुटिङ पूरा गरे। 'खुशी', 'तुलसी' र 'च्यालेन्ज' नामक फिल्ममा पनि हिरो बन्दैछन् उनी। यी सबैमा एक्सन रोल उनको काँधमा छ।
'कसको प्रभावले एक्सन रोलको मोह बढ्यो?' अरूले लिनेभन्दा फरक नाम लिए, 'कर्ण'। ती योद्धाबाट प्रभावित भएर द्वन्द्वकलामा आकर्षित भएको उनले बताए। पात्रमात्र होइन 'महाभारत' ग्रन्थ नै अनुसरण योग्य भएको उनले बताए। 'युद्ध र राजनीति बुझ्न यो ग्रन्थ निकै उपयोगी लाग्यो,' उनले प्रेम, युद्ध र राजनीतिमाथि फिल्म बनाउन पूर्वीय ग्रन्थ र साहित्य उपयोगी हुने बताए। 'नेपाली फिल्मको विषय यसकै सेरोफेरोमा घुमे पनि त्यति गहिरो रूपमा आउन सकेको छैन,' उनलाई विश्वास छ, कुनैबेला फिल्म निर्देशन गर्न पाए ती ग्रन्थको अध्ययनले ठूलै मद्दत पुर्‍याउनेछ।
पेशा बदलिँदै गए पनि आफ्नो दैनिकी उस्तै रहेको आयुषले बताए। 'म पहिलाकै जस्तो आस्तिक छु। बिहान सधैं भगवानलाई स्मरण गर्छु,' समय मिलाएर भागवत, रुद्री, चण्डीलगायतका ग्रन्थ पाठ गर्ने गरेको समेत उनले जानकारी दिए। 'यी शास्त्रको सारलाई व्यवहारमा उतार्ने प्रयत्न गर्छु,' उनलाई लाग्छ, भौतिक र आध्यात्मिक चिन्तनलाई व्यवहारमा उतार्न सके सफल भइन्छ।
फिल्म खेल्नु अघि उनी सोच्थे, 'यो क्षेत्र महासागरमा पौडने डल्पि्कन झैं निश्चल छ।' जब फिल्म खेले उनले त्यो अनुमानमा खोट देखे। 'यहाँ त कुवाका भ्यागुता पनि रहेछन्।' 'फिल्मी करिअर'मा डोब बस्दैथियो मेटाउन खोज्नेहरू सक्रिय भएको भान परेको छ उनलाई। यस्तोबेला आफूलाई शान्त बनाउने श्लोक सुनाए आयुषले।

निन्दन्तु नीति निपुणा यदिवास्तु वन्तु
लक्ष्मी समाविसतु गच्छतु वायथेष्टम्
अद्यैववामरणमस्तु युगान्तरेवा
न्याञ्यात्पथ : प्रविचलान्ति पदंन धीरा :


र, यसको अर्थ समेत लगाइदिए। 'कसैले निन्दा गरे पनि स्तुति गरे पनि, धन भए पनि नभए पनि, मरण जहिले भए पनि धीर पुरुष न्यायपथबाट विचलित हुँदैनन्।'
source: nagariknews.comA Promise to Remember