Your Ad Here

साढे चार लाखको दृष्य



काठमाडौं, वैशाख २८ (नागरिक)- यो तस्बिर 'दीपशिखा' फिल्मको हो, २०६५ पुस १६ मा खिचिएको। हेलिकोप्टरभित्र हिरो निरज बराल छन्, आफ्नी प्रेमिकाको खोजीमा। हिरो जीवन लुइँटेल र हिरोइन अरुणिमा लम्साल निरजबाट बच्न भीरबाट हाम्फल्दै छन्। निर्देशक नरेश पौडेलका अनुसार यो क्लाइमेक्सको दृश्य हो। यो दृश्य कैद गर्नका लागि तीनवटा सेलुल्वाइड क्यामेरा प्रयोग भएको उनले जानकारी दिए। यो फोटो भने 'लो एङ्गल'मा राखिएको स्टिल क्यामेराले खिचिएको हो।

चार घन्टाको साढे चार लाख भाडा तिरेर हेलिकोप्टर ल्याइएको जानकारी दिँदै नरेशले भने, 'फिल्ममा अलि ग्रेन्जर देखाउन हेलिकोप्टर प्रयोग गरेको हुँ। अघिल्लो फिल्म 'धड्कन'मा पनि हेलिकोप्टरको सट देख्दा दर्शकले खुव मनोरञ्जन लिएका थिए।' फिल्म 'रिच' देखिने र केही सनसनी फैलिने भएकोले 'दीपशिखा'मा पनि हेलिकोप्टर प्रयोग गरिएको उनले बताए।

'निकै खतरा मोलेर खिचिएको सट हो यो,' उनले दृश्य खुलाए, 'सेकेन्ड टेकमा ओके भएको सट हो यो। पहिला हेलिकोप्टर आउने टाइमिङ मिलेन। देस्रोपटक सबै चिज मिल्यो। तर, जीवनको पाता खुस्कियो।' जीवन ठीक हुन दुई महिना लागेको नरेशले बताए। उनलाई हेलिकोप्टरको खर्च गलत ठाउँमा भए जस्तो लागेको छैन। प्रचार सामग्रीमा यस्तो सट राख्दा व्यापार बढ्ला भन्ने उनको आशा हो। 'धेरै टेक खाँदा खर्च बढ्ने टेन्सन भने हुँदोरहेछ,' उनले अनुभव सुनाए, 'झन् यतिधेरै खर्च गरेर सुटिङ गर्दा त टेक खाँदा तनावै हुँदो रहेछ।'

रिलिजको तयारीमा रहेको फिल्मबारे उनले थपे, 'हामीले धेरै छलफल गरेरै फिल्ममा हेलिकोप्टरको प्रयोग गरेका हौं। दर्शकले फाइटमा नयाँ स्वाद पाउँछन् भन्ने विश्वास छ।'