Your Ad Here
Showing posts with label miss nepal 2010. Show all posts
Showing posts with label miss nepal 2010. Show all posts

सुन्दरीहरु कस्तो कार चढ्छन?



तारा चाम्लिङ, काठमाडौं, असोज १६ - मिस नेपाल सदिक्षा श्रेष्ठ केही साताअघिसम्म माइक्रो र टेम्पो चढ्थिन्। सार्वजनिक सवारीको धक्काधक्की खाँदै र धुलोधुवाँमा नाक छोप्दै हिँड्नु उनको दिनचर्या थियो। मध्यमवर्गीय परिवारकी सदिक्षा भाग्यमानी ठहरिइन्। १९ वर्षको उमेरमा नेपाल सुन्दरीको ताजसँगै 'चेरी क्यु थ्री' कार हात पर्‍यो। कार उपहार पाउने उनी पहिलो मिस नेपाल हुन्। यसअघिका मिस नेपालहरू ताज पहिरेपछि बढीमा स्कुटरसम्म चढ्थे। 'अब सदिक्षाले सानसँग ताज सम्हाल्नेछिन्,' पूर्व मिस नेपाल माल्भिका सुब्बा भन्छिन्, 'सुरक्षा र आर्थिक हिसाबले पनि उनका लागि राम्रो हो।'
सदिक्षाले गाडी पाएपछि पहिलेका मिस नेपालहरूले सन्तुष्टि व्यक्त गरेका छन्।
माल्भिका सुब्बा
सन् २००२ मा ताज पहिरेर सेलेब्रिटी भइसकेपछि माल्भिकाले निजी सवारी साधनको आवश्यकता देखिन्। बस र ट्याम्पोमा सफर गर्नु अब उनका लागि नसुहाउने कुरा भयो। व्यक्तिगत हिसाबले भन्दा पनि ताजकै इज्जतका लागि। महंगीमा दिनहुँ ट्याक्सी चढ्नु सम्भव थिएन। त्यसैले, उनले होन्डा कम्पनीको 'डियो' स्कुटर किनिन्। जसको किस्ता निखन्न २-३ वर्ष लाग्यो।
उनी केही वर्ष स्कुटरमै कुदिन्। डाकेको ठाउँमा छिटो पुगिने, जाममा धेरै बेर नफसिने र ट्याक्सी जत्तिको पैसा खर्च नहुने हुँदा उनलाई सजिलो पनि भयो। तर, अचेल उनी स्कुटर छोडेर ट्याक्सी चढ्न थालेकी छन्।
किन त?
'हेल्मेटले कपाल बिग्रिन थाल्यो,' सांग्रिला हाउजिङमा कार्यरत माल्भिका भन्छिन्, 'रुघाखोकीले सताइरह्यो। अहिले गाडी किन्ने अवस्था छैन। त्यसैले, महंगै भए पनि ट्याक्सी चढ्छु।'
मिस नेपाल बन्नुभन्दा त्यो सार्वजनिक सम्मान 'साख' जोगाउन गाह्रो परेको उनको अनुभव छ।
जेनिसा मोक्तान
सवारीका मामिलामा सन् २००९ की ताजविजेता जेनिसा मोक्तान अरूभन्दा निकै भाग्यमानी छिन्। कहाँ कसरी पुग्ने भनेर उनले कहिल्यै सुर्ता लिनुपरेन।
व्यापारी बाबुकी छोरी जेनिसाले मिस नेपाल बन्नुअघि नै दुइटा गाडी फेरिसकेकी थिइन्। १८ वर्ष टेक्नासाथ उनले बुबाबाट 'रियो' कार उपहार पाइन्। अचेल स्याङयङको 'काइरन' चलाउँछिन्। कलेज, मिटिङ, सपिङ जहाँ जाँदा पनि उनलाई आफ्नै गाडी सजिलो लाग्छ।
'सार्वजनिक सवारी त सुरक्षितै लाग्दैन,' उनी भन्छिन्, 'ट्याक्सी चढुँ भने पनि सबै चालक राम्रो नियतका हुन्छन् भन्ने छैन।'
गाडी सर्भिसिङमा दिएका बेला भने उनी रातो पल्सर बाइक हाँक्छिन्। 'ए' लेभल पढ्दा उनी यही बाइक चलाउँथिन्। 'कलेजमा एउटा केटाले च्यालेन्ज गरेपछि उसलाई जवाफ दिन पल्सर चलाएँ,' उनी भन्छिन्, 'तर, त्योभन्दा अघि नै मलाई बाइक चलाउने सोख थियो।'
मुड चल्दा स्कुटर लिएर घुम्न निस्कनु उनको अर्को सोख हो।
रुबी राणा
पहिलो मिस नेपाल रुबी राणाको कथा जेनिसासँग मिल्दोजुल्दो छ।
वीरगन्जमा सात कक्षा पढ्दै रुबीले गाडी चलाउन सिकेकी हुन्। १६ पुग्नासाथ लाइसेन्स बनाइन् र निर्धक्क गाडी हाँक्न थालिन्। त्यसयता उनले थुप्रै गाडी फेरिसकिन्। अचेल 'निसान' चलाउने रुबी कहिलेकाहीँ आवश्यकता हेरेर ट्याक्सी र स्कुटर चढ्न पनि धकाउँदिनन्। माइक्रो चढ्नेचाहिँ आफ्नो ब्युटीपार्लरमा सिक्न आउने विद्यार्थीलाई फिल्डमा लैजाँदामात्र हो, त्यो पनि रिजर्भ गरेर।
'मिस नेपाल भइसकेपछि टेम्पो र माइक्रोमा हिँड्न अलि मिल्दैन,' रुबी भन्छिन्, 'आफ्नो स्ट्याटस पनि मेन्टेन गर्नुपर्‍यो नि।'
यी प्रथम नेपाल सुन्दरीसँग 'आपाचे' बाइक पनि छ। उनी कहिलेकाहीँ मुड चल्दा त्यही बाइक लिएर निस्कन्छिन्। कतिले त बाइक चलाएको देखाएर सोधेका पनि छन्, 'तपाईं मिस नेपाल होइन?'
'म हो भन्छु,' उनले भन्छिन्, 'उनीहरू झन् चित् खान्छन्।'
आफूले यातायातको समस्या भोग्नु नपरे पनि हरेक मिस नेपाललाई गाडी दिने व्यवस्था गरे राम्रो हुने उनको भनाइ छ। त्यसैले, यसपालि सदिक्षाले गाडी पाउँदा उनी दंग छिन्।
'कम्तिमा मिस नेपाल भएपछि गाडी त चढ्नैपर्छ,' उनी भन्छिन्, 'त्यसको अर्कै सान हुन्छ।'
उषा खड्गी
उषा खड्गीलाई भने बाइकै प्रिय लाग्छ। 'हतारमा बाइकजत्तिको सजिलो केही हुन्न,' उनी भन्छिन्, 'काठमाडौंको जाममा दिउसो गाडीमा हिँड्नु जत्तिको झन्झटिलो अरू केही हुन्न।'
सन् २००० मा मिस नेपाल जित्दा पाएको पैसाले उनले काइनेटिकको 'स्ट्रिट' बाइक किनेकी थिइन्। अचेल भने गाडी नै हाँक्छिन्, तर साँझका पार्टी वा अन्य समारोहमा जानुपर्दा मात्र।
अफिस र बुटिक दुवै भ्याउनुपर्ने भएकाले गाडीमा समय खेर जान्छ भन्ने उनलाई लाग्थ्यो। छोरी जन्मेपछि भने बर्खा र जाडोमा बाइकमा पछाडि बस्न अप्ठेरो भयो। उनले 'एउटा गाडी त चाहिने रहेछ' भन्ने महसुस गरिन्।
'सेकेन्ड ह्यान्ड भए पनि काम चल्छ, कम्तिमा चिसो, धुलोधुवाँ र पानी त छेकिन्छ,' उनी भन्छिन्। दुई वर्षअघि मात्र श्रीमानसँग मिलेर उनले 'सेन्ट्रो' कार किनेकी छन्।
गाडीको विषयमा उषा आफूलाई 'बिन्दास' ठान्छिन्। 'मिस नेपाल भएकीले गाडी चढ्नुपर्छ भन्ने कहिल्यै सोचिनँ,' उनी भन्छिन्, 'म बिन्दास छु। बाइकमा पनि मास्क नलगाई हिँड्छु। कतिपयले मिस नेपाल भएर पनि बाइक चढेको भनेर गिज्याउँछन्। मलाई फरक पर्दैन। वास्तविकतासँग चल्नु नै व्यावहारिकता हो।'
श्रीमानसँग हिँडडुल गर्दा बाइकमै रोमान्टिक लाग्ने उषाको अनुभव छ। 'गाडीमा सँगै बस्न मिल्दैन। साह्रै फर्मल लाग्छ,' उनी भन्छिन्।
धेरैले मिस नेपाल भएपछि गाडी चढ्नैपर्ने आस राखे पनि नेपालमा सम्भव नभएको उनको तर्क छ। 'कमाइ नै कम हुन्छ। हलिउड, बलिउडका सेलेब्रिटीसँग हामीलाई दाँज्न मिल्दैन,' उनी भन्छिन्।
झरना बज्राचार्य
झरना बज्राचार्य भने गाडी छोडेर स्कुटरतिर लागेकी छन्।
उनी 'कोरोला' गाडी हाँक्थिन्। अहिले 'प्लेजर' स्कुटर कुदाउँछिन्। स्कुटरमा भए कसैले नचिन्ने र जस्तो बनेर पनि हिँड्न सकिने उनको अनुभव छ। त्योभन्दा राम्रो, भनेको ठाउँमा गाडीभन्दा छिट्टै पुगिन्छ।
सुरुसुरुमा उनलाई पनि गाडी चलाउनैपर्छ भन्ने नलागेको होइन। १३ वर्षअघिकी मिस नेपाल झरना भन्छिन्, 'अचेल कसरी जानेभन्दा पुग्न पाए हुन्छ। कुनैबेला त माइक्रो र टेम्पोसमेत चढिदिन्छु।'
समयसँगै बिस्तारै सबै कुरा परिवर्तन हुँदै जाने र त्यही परिपक्वताअनुसार मान्छेले आफूलाई बदल्नुपर्ने उनको राय छ। 'स्कुटर चढ्दा एकदमै स्वतन्त्र अनुभव गर्छु,' उनी भन्छिन्, 'गाडीमा त्यो अनुभूति हुँदैन।'
'पार्टीमा सजिएर जाँदा भने आफ्नै गाडी ठिक।'
सुगरिका केसी
सन् २००५ की मिस नेपाल सुगरिका केसी प्रायः स्कुटरमै हुन्छिन्।
बजारमा धेरैथरिका स्कुटर भए पनि उसबेला आयोजकले दिएको काइनेटिक नोभा उनलाई मनपर्छ। अघिल्लो सालमात्र उनले गाडी लिएकी छन्, 'आई टेन'। तर, पार्टी या कुनै समारोहमा जानुपरे मात्र गाडी चलाउन रुचाउँछिन्।
'गाडीमा चढ्दा बढी जाममा फसिन्छ,' उनी भन्छिन्, 'त्यसैले, स्कुटरै ठिक लाग्छ। मुख्य कुरा त गाडीभन्दा स्कुटर किफायती पनि छ।'
धेरैले मिस नेपाल भएपछि गाडी चढोस् भन्ने चाहना राखे पनि मध्यमवर्गीय परिवारबाट आएकाहरूले पुरा गर्न नसक्ने उनी बताउँछिन्।
'यसपालि सदिक्षाले गाडी पाइन्, धेरै खुसी लाग्यो,' उनी भन्छिन्, 'कम्तिमा यसले उनलाई मिस नेपालको इज्जत धान्न सजिलो हुनेछ।'
from nagariknews online

शनिबार नागरिक फेसन



काठमाडौँ, भदौ ३० (नागरिक) - नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीहरूको डिजाइनमा फेसन शो हुने भएको छ। आउँदो शनिबार राजधानीको सोल्टी क्राउन प्लाजामा हुने 'नागरिक, द जर्नी अफ फेसन स्टाइल कार्निभल'मा २२ विद्यार्थीले छुट्टाछुट्टै थिममा फेसन शो गर्दैछन्। अमितेस कर्ण, अनु केसी, अनुषा श्रेष्ठ, बबिता लामा, बिना प्रजापति, बिनु श्रेष्ठ, चोट्टी शेर्पा, दीपा पाण्डे, हेमा राई, इन्द्र लक्ष्मी आचाजु, ज्वाला राई, कुसुम लिम्बु, कुसुम तब्दार, मैना राई, नवीना महर्जन, नवीना राना, नमिता घिमिरे, प्रीति खड्का, रितु श्रेष्ठ, समता धाख्वा, सृष्टि सिख्राकार र शुभेच्छा थापाले सोमा भाग लिँदैछन्।

'अब्सट्रयाक्ट लाइफ', 'वान वर्ल्ड, वान क्रियटर', 'सेलिब्रेटिङ सिजन अफ लाइफ', 'क्वीन अफ गार्डेन' लगायत २२ थिममा उनीहरूको फेसन डिजाइन देख्न पाइने छ। 'क्रियटिभ राउन्ड'को निर्णायकमा मिस नेपाल सदीक्षा श्रेष्ठ, स्क्वायर वान फेसनकी अनु श्रेष्ठ, यसमिन स्टुडियोकी यस्मिन राणा र साख ग्रुपका किरण प्रकाश साख रहेका छन्। ब्याचलर अफ फेसन डिजाइनिङमा स्नातक अन्तिम वर्षका विद्यार्थीले पाठ्यक्रमको प्रयोगात्मक अध्ययनको सन्दर्भमा यो शो गर्न लागेका हुन्। उनीहरूले आफ्नो थिमको स्केच मंगलबार प्रस्तुत गरेका थिए।

यी हुन् समलिङ्गी सुन्दरी (फोटो फिचर सहित)

बद्रीकुमार न्यौपाने, काठमाडौं, भदौ २८– प्रकृतिले छोरा भए पनि रुचीले ठीक विपरित मिस मेग्ना लामा आइतबार आफुजस्ताका माझ मुलुककै सुन्दरी घोषित भइन भने छोरीका रुपमा जन्म लिने राज हुसेन मिस्टर हेण्डसम। 'म त साँच्चै मिस नेपाल प्रतिस्पर्धा हो कि भन्ठानेर झुक्किए,' सभासद् आरजु राणा देउवा भन्दै थिइन्,'यी सहभागी युवतीभन्दा पनि सुन्दर छन्।'  दशौ वार्षिकोत्सवका अवसरमा ब्ल्यू डायमण्ड सोसाइटीले आयोजना गरेको यस बर्षको मिस एण्ड मिस्टर ट्रान्सजेन्डरको उपाधी झापाकी मेग्ना लामा र बाराका राज हुसेनले जितेका छन्।
प्रतियोगितामा फर्स्ट रनर अप इटहरीकी खुशी राई र सेकेण्ड रनर अप काठमाडौंकी स्वस्तिका लामा घोषित भईन भने  मिस्टरतर्फ फर्स्ट रनर अप नेपालगंजका अस्तुप पुन र सेकेन्ड रनर अप बझाङ्गका बिबेक सिहं भए।
पुर्व मिस नेपालद्वय जेनिसा मोक्तान र रुवी राणा, सञ्चारकर्मीहरु आईसा बाटर्शन, शिव गाँउले र चारु चढ्ढा, इभेन्ट म्यानेजर पउलिन ब्रद्या र विश्वखाद्य कार्यक्रमकी सिताष्मा थापा सम्मिलित निर्णायक मण्डल थिए।

ब्ल्यु डायमण्ड सोसाइटीका संस्थापक अध्यक्ष तथा सभासद सुनिलबाबु पन्तले नेपालका तेश्रोलिङ्गीहरु को अवस्थामा सुधार आउँदै गरेको उल्लेख गर्दै आगामी संविधानमा यो हक अधिकारलाई सुनिश्चित पारिने बताएका थिए।

'सानैदेखी सुन्दरी प्रतियोगितामा भाग लिने चाहना थियो,' विजेता मेग्नाले भनिन्,'तर तेश्रोलिङ्गी भएकै कारण सपनामै सिमित भएको त्यो रहर ब्ल्यू डायमण्ड सोसाईटीले पुरा गरिदिएको छ।' झापाबाट आफ्नी आमाको साथमा आएकी लामाले सहभागीता मात्रैमा पनि सफलता देख्दै गरेको आफूलाई विजेता बन्न पुग्दा झनै खुशी लागेको सुनाइन्।

त्यसैगरी, मिस्टर ट्रान्सजेन्डरको उपाधी जितेका राज हुसेन पनि समाजमा पहिचान सहित खुलेर आउन पाएकोमा खुशी देखिन्थे। 'आज म निक्कै खुशी छु यार,' पुरुष लवजमा हुसेनले भने। एक किशोरीसँगको सम्वन्धकै कारण हुसेनले केहिअघि ट्राफिक प्रहरीको जागीर गुमाउनु परेको थियो।
source:nagariknews.com

आर्किटेक्ट आमा र अकाउन्टेन्ट बाबु




स्मृति ढुंगाना, काठमाडौँ, भदौ १७- 'मलाई विश्वास थियो, उनले नै जित्छिन् भनेर,' सदीक्षाले मिस नेपाल जितेपछि उनका बाबु रामशंकर श्रेष्ठले भने। ब्लुबर्ड डिपार्टमेन्टल स्टोरका प्रमुख अकाउन्टेन्ट रामशंकर कार्यक्रम अवधिभर छोरीमाथि गर्व गरिरहेका थिए।
सदीक्षाले मञ्चमा ताज लगाउँदै उनका १० वर्षे भाइ सुयभको आँखाबाट आँसु झरिरहेको थियो। कक्षा ५ मा अध्ययनरत् सुयभ दिदीको जितका लागि रोइरहेका थिए।
'तिम्रै दिदीले जितिन बाबु,' रामशंकरले छोराको आँसु पुछ्दै आफूतिर ताने। सदीक्षाकी बहिनी शुभेच्छाचाहिँ कार्यक्रमभर प्रार्थना गरिरहेकी थिइन्। 'धन्यवाद भगवान्,' दिदीलाई विजयी घोषित गरिसकेपछि उनले धन्यवाद दिइन्।
प्रतियोगिताभरि छटपटाइरहेकी उनकी आमा रचना एकछिन पनि कुर्सीमा बस्न सकिनन्। 'उसले नै जित्नुपर्छ,' उनी घरिघरि बर्बराइरहेकी थिइन्। सदीक्षाले तीनवटा टाइटल लगातार हात पारेपछि उनको छटपटी झन् बढेको थियो।
'मेरो लागि मिस नेपाल २०१० उनी नै हुन्,' आमाले यस्तो अनुमान गरेको केही सेकेन्ड नबित्दै विजेतामा सदीक्षाको नाम घोषणा भयो।
रामशंकर र रचनाकी जेठी छोरी हुन्, सदीक्षा। करिब ३० वर्षअघि जिरीको ठोसेबाट काठमाडौं आएका थिए रामशंकर। रचना ललितपुर महानगरपालिकामा आर्किटेक्टको रूपमा कार्यरत छिन्। छोराछोरीले नेवार संस्कार सिकोस् भनेर उनीहरू घरमा नेवार भाषा बोल्छन्।
'मसँग कहिलेकाहीँ नेवारमै बोल्छे सदीक्षा,' बताउने रचनाले छोरीले लामो कुरा नेवारमा बोल्न नसक्ने पनि जानकारी दिइन्।
इपिएसबाट स्कुलिङ सिध्याएकी सदीक्षाले हालै भारतमा अन्तर्राष्ट्रिय वादविवाद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। उनले १९ वर्षीया सदीक्षाले यसअघि सन् २००५ मा मिस ब्युटिफुल लेडी पेजेन्ट र सन् २००९ को भ्वाउ टप कलेज विद्यार्थीको उपाधि जितेकी थिइन्।
उनी प्रशिक्षणमा कडा मेहेनती रहेको कोरियोग्राफर रचना गुरुङको अनुभव छ। प्रशिक्षण अवधि सम्भि्कँदै उनले भनिन्, 'उनी अरू प्रशिक्षार्थीहरू जस्तो अनुभवी थिइनन्। तर, फरक थिइन्।'

 
  नम्बर एक सदीक्षा
अन्तिम प्रतिस्पर्धामा छानिएका १८ सहभागीमध्ये सबैभन्दा पहिले नाम दर्ता गराउने युवती थिइन, सदीक्षा श्रेष्ठ। त्यही भएर आयोजकले उनको प्रतियोगी नम्बर एक नै राखिदियो। र, बुधबारको फाइनलपछि उनी साँच्चिकै नम्बर एक बनेकी छिन्, मिस नेपालको उपाधि जितेर।
आर्मी अफिसर्स् क्लबमा भएको कार्यक्रममा एक निर्णायक चाँदनी जोशीले पाँच अन्तिम प्रतिस्पर्धी युवतीलाई 'नेपाली युवालाई जिम्मेवार नागरिक बनाउनका लागि तपाई कुन तीन क्षेत्रमा लगानी गर्नुहुन्छ?' भन्ने प्रश्न सोधेकी थिइन्। त्यसमा 'उद्योग, विज्ञान तथा प्रविधि र शिक्षा क्षेत्रलाई विकास गर्न सक्यो भने नेपालले जिम्मेवारी नयाँ पिँढी पाउने छ,' भन्ने जवाफ दिँदै सदीक्षाले उपाधि हात पारेकी हुन्।
डाबर स्पेसल मिस नेपाल २०१० मा सहाना बज्राचार्य फस्ट रनरअप र संयुक्ता तिम्सिना सेकेन्ड रनरअप भइन्।
उपाधि जिते लगत्तै सदीक्षाले भनिन्, 'आगामी दिनमा म नेपाली समाजका लागि काम गर्न चाहन्छु।' भर्खरै सेन्ट जेभियर्स्बाट आइएस्सी सिध्याएकी उनी सुन्दरताको परिभाषा दिन गाह्रो हुने धारणा राख्छिन्। उनी नेपालमा पर्यटन क्षेत्रलाई टेवा दिन चाहन्छिन्, 'यसपटक मिस वर्ल्डमा नेपालको अझ प्रवर्द्धन गर्न ध्यान दिनेछु।'
मिस नेपालकै इतिहासमा सबैभन्दा बढी अवार्ड हात पार्ने एकमात्र प्रतियोगी पनि हुन् सदीक्षा। उनले मिस नेपालको ताजबाहेक फोटोजेनिक, स्मार्ट वाक र पर्सन्यालिटी समेत हात पारेकी छिन्। कार्यक्रमभरि जमेकी सदीक्षा पर्यटन वर्ष २०११ र डब्लुडब्लुएफकी गुडविल एम्बेस्डर समेत भएकी छन्। त्यसबाहेक चेरी कार र ५० हजार नगद पाएकी छिन्। उनले चीनमा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
२० वर्षीया सहाना बज्राचार्य इमेज च्यानलसँग आवद्ध छिन्। विभिन्न सामाजिक कार्यमा संलग्न सहानाले विज्ञापन र म्युजिक भिडियोमा काम गरिसकेकी छन्। करिब ३ वर्षदेखि उनी मोडलिङमा छिन्। उनले फिलिपिन्समा हुने मिस अर्थमा भाग लिने छिन्। उनलाई महिन्द्रा स्कुटर र ३५ हजार रुपियाँ प्रदान गरिएको छ।
१९ वर्षीया सेकेन्ट रनरअप संयुक्ता तिम्सिना नार्कोनन नेपालसँग आवद्ध छिन्। एआईजी कल्याण तिमिल्सिनाकी छोरी संयुक्ताले पब्लिक च्वाइस अवार्ड र २५ हजार जितिन्।
१६ औं मिस नेपाल सदीक्षालाई गत वर्षकी मिस नेपाल जेनिसा मोक्तानले ताज लगाइदिएकी थिइन्। त्यसअघि जेनिसाले आफ्नो बिदाइ मन्तव्य दिएकी थिइन्। 'मैले आज कुनै पनि गरगहना लगाएकी छैन, किनभने मिस नेपालको ताज नै सबभन्दा ठूलो गहना हो। यसले मलाई जिम्मेवार बनायो,' भन्दै जेनिसाले नयाँ मिस नेपाललाई पनि जिम्मेवारीमा सफल हुने शुभकामना दिइन्।
फस्ट रनरअप सहानालाई गत वर्षकी ऋचा थापा मगर र सेकेन्ड रनरअप संयुक्तालाई कुन्छाङ मोक्तानले ताज पहिर्‍याइदिएका थिए। तीन चरणमा विभाजित कार्यक्रमको अन्तिम पाँचमा अजिता सिंह र समृद्धि राई पनि पुगेका थिए।
चाँदनी जोशी, भाष्करराज राजकर्णिकार, सुवास निरौला, लिली थापा, निशा अधिकारी, अपूर्वा श्रीवास्तव, प्रकाश सायमी, चारू चद्दा, हेमन्त गोल्छा, भवानी राणा र शक्ति बेगानी निर्णायक थिए। त्यसबाहेक जयन सुब्बा, प्रशान्त ताम्राकार र प्रभा अमात्यले स्मार्ट वाक टाइटलको मूल्यांकन गर्न सघाएका थिए।
नौवटा उपाधिमध्ये हेयर सुजाता स्वाँर, स्माइल अजिता सिंह, ब्युटिफुल कम्प्लेक्सन प्रियारानी लामा, फ्रेन्डसिप चाँदनी देवाजु र ट्यालेन्ट कुसुमाञ्जली केसी पाएका थिए। सबैलाई १० हजार रुपैयाँ दिइयो।
कार्यक्रममा नेपाल म्युजिक स्कुलका कलाकारले नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगीहरूले करिब पाँच हप्ता कोरियोग्राफर रचना शर्मा गुरुङसँग आत्मविश्वास र नेतृत्वदायी जिम्मेवारी सम्बन्धी प्रशिक्षण लिएका थिए।
मिस नेपालमा यसपटक काठमाडौं, पर्सा, ललितपुर, सिराहा, तनहुँ. काभ्रे, सुनसरी र सप्तरी लगायत जिल्लाका १८ देखि २४ वर्षका युवतीहरूले सहभागिता जनाए।
source:nagariknews.com

सदीक्षा भइन् मिस नेपाल




काठमाडौं, भदौ १६ (नागरिक) १७ जना प्रतियोगीलाई पछि पार्दै सदीक्षा श्रेष्ठ मिस २०१० नेपालको उपाधि हात पार्न सफल भएकी  छन्। उपाधिसँगै उनले ५० हजार नगद र चेरी कार हात पारिन्। भाउ म्यागेजिनको 'टप टेन कलेज उमन'मा छानाइसकेकी सदीक्षा 'मिस ब्युटीफुल लेडी २००५' की सहभागी थिइन्। टेलिभिजन विज्ञापनमा मोडलिङ गरिसकेकी सदीक्षा बास्केटबल र घुमघाम मन पराउँछिन्। फस्ट रनर अप साहरा बज्राचार्य भइन्। सेकेन्ड रनर अपको उपाधि संयुक्ता तिमल्सिना जितिन्। फस्ट रनर अप साहाराले ३५ हजार र महिन्द्रा रोडियो स्कुटर हात पारिन्। सेकेन्ड रनर अप संयुक्ताले २५ हजार नगद पाइन्।
प्रतियोगिताको फाइनल राउन्डमा विभिन्न जिल्लाका १८ युवतीबीच प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो। त्यसपछि त्यो संख्यालाई २४ मा छाटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो।
source:nagariknews.com

आज मिस नेपाल




काठमाडौं, भदौ १६ (नागरिक)- विभिन्न जिल्लाका १८ युवतीबीच मिस नेपालको उपाधि जित्न बुधबार अन्तिम प्रतिस्पर्धा हुँदैछ। डाबर स्पेशल हिडन ट्रेजर मिस नेपाल प्रतियोगितालाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो। त्यसपछि त्यो संख्यालाई २४ मा छाटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो।
सदिक्षा श्रेष्ठ, वर्षा श्रेष्ठ, विनीता थापा, इशा खड्गी, सुजाता स्वाँर, अनिता आचार्य, अजिता सिंह, चाँदनी देवाजु, संयुक्ता तिम्सिना, प्रिया रानी लामा, सुप्रिया केसी, सहाना बज्राचार्य, समृद्धि राई, प्रिना महर्जन, कुसुमाञ्जली केसी, रक्षा थापा, चान्दनी अन्सारी र अस्मिता घिमिरे बुधबार भिड्दैछन्।
सहभागीहरूलाई कमला श्रेष्ठले हेयर केयर, राजेश धाख्वाले ड्रेस कोड/डिजाइन, राजेश घिमिरेले शृंगार/हेयर स्टाइलको बारेमा जानकारी दिएका थिए। त्यस्तै गरी डा अलिल दासले स्किन केयर र राजभाइ सुवालले फोटोग्राफी/पोस्चर आदिको बारेमा तालिम दिएका थिए। यस वर्ष पहिलो पटक जेसिआईका वर्ल्ड प्रेसिडेन्ट रोलान्द क्युमेनले प्रतियागीहरूलाई लिडरसिप तालिम दिएका थिए।
यस वर्षको मिस नेपाल कार्यक्रमको मुख्य विषय वातावरण परिवर्तन रहेको छ। यस पटकको मिस नेपालको प्रायोजन डाबर स्पेशल हेयर आयलले गरेको छ।
मिस नेपाल बन्नेलाई ५० हजार नगद र चेरी कार प्रदान गरिनेछ। फस्ट रनरअपलाई ३५ हजार र महिन्द्रा रोडियो स्कुटर र सेकेन्ड रनरअपलाई २५ हजार प्रदान गरिनेछ। प्रतियोगितामा डाबर वाटिका मिस ब्युटिफुल हेयर, फेम मिस ब्युटिफुल कम्प्लेक्सन, ब्ले मिस फोटोजेनिक, अर्बिट मिस पर्सनालिटी, रियल मिस ट्यालेन्ट, सेफ्टी मिस वाल्क, हिडन ट्रेजर पब्लिक च्वाइस र गणपति मिस फ्रेन्डसिप जस्ता टाइटल समेत समावेश गरिएका छन् र प्रत्येक टाइटलमा १० हजार पुरस्कार राखिएको छ।

यस पटक प्रतियोगितामा चासो राख्नेहरूले एसएमएसवाट आफूलाई मन परेको प्रतियोगी छान्ने अवसर दिइएको छ।
source: nagariknews.com