Your Ad Here
Showing posts with label nepali models. Show all posts
Showing posts with label nepali models. Show all posts

सेलिना मिस ग्लोबल

   
 
काठमाडौ, आश्विन १९ - नयाँ बानेश्वरकी सेलिना मोक्तानले मिस ग्लोबल-२०१० को ताज पहिरेकी छन् । सोमबार सम्पन्न प्रतियोगितामा उनले २७ प्रतिस्पर्धीलाई उछिनेकी हुन् । मिस ग्लोबलको उपाधिसहित उनले अन्ना लिफान स्कुटर, छात्रवृत्ति र २० हजार रुपैयाँ नगद उपहार हात पारेकी छन् । योसँगै चीनमा हुने मिस ग्लोबल क्विन इन्टरनेसनलमा उनले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने ढोका पनि खुलेकी छन् ।
राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा नवलपरासीकी रुश्मा पोखरेल फस्ट रनरअप र बानेश्वरकै बिक्की गड्तौला सेकेन्ड रनरअप भएकी छन् । रुश्माले ल्यापटप र छात्रवृत्तिसँगै १५ हजार रुपैयाँ नगद र बिक्कीले डेस्कटप कम्प्युटर, छात्रवृत्तिसँगै १० हजार रुपैयाँ नगद हात पारेकी छन् । पूर्वमिस नेपाल सुगरिका केसी, सञ्चारकर्मी सुवास ढकाल, मोडल कला सुब्बा, कोरियोग्राफर सिर्जनासिंह योञ्जन, आरके श्रेष्ठ, शिवा राणा, मुकेश संघाई र शान्तिराम राईको निणर्ायकमण्डलले विजेता छानेका हुन् । 
kantipur online

सुन्दरीहरु कस्तो कार चढ्छन?



तारा चाम्लिङ, काठमाडौं, असोज १६ - मिस नेपाल सदिक्षा श्रेष्ठ केही साताअघिसम्म माइक्रो र टेम्पो चढ्थिन्। सार्वजनिक सवारीको धक्काधक्की खाँदै र धुलोधुवाँमा नाक छोप्दै हिँड्नु उनको दिनचर्या थियो। मध्यमवर्गीय परिवारकी सदिक्षा भाग्यमानी ठहरिइन्। १९ वर्षको उमेरमा नेपाल सुन्दरीको ताजसँगै 'चेरी क्यु थ्री' कार हात पर्‍यो। कार उपहार पाउने उनी पहिलो मिस नेपाल हुन्। यसअघिका मिस नेपालहरू ताज पहिरेपछि बढीमा स्कुटरसम्म चढ्थे। 'अब सदिक्षाले सानसँग ताज सम्हाल्नेछिन्,' पूर्व मिस नेपाल माल्भिका सुब्बा भन्छिन्, 'सुरक्षा र आर्थिक हिसाबले पनि उनका लागि राम्रो हो।'
सदिक्षाले गाडी पाएपछि पहिलेका मिस नेपालहरूले सन्तुष्टि व्यक्त गरेका छन्।
माल्भिका सुब्बा
सन् २००२ मा ताज पहिरेर सेलेब्रिटी भइसकेपछि माल्भिकाले निजी सवारी साधनको आवश्यकता देखिन्। बस र ट्याम्पोमा सफर गर्नु अब उनका लागि नसुहाउने कुरा भयो। व्यक्तिगत हिसाबले भन्दा पनि ताजकै इज्जतका लागि। महंगीमा दिनहुँ ट्याक्सी चढ्नु सम्भव थिएन। त्यसैले, उनले होन्डा कम्पनीको 'डियो' स्कुटर किनिन्। जसको किस्ता निखन्न २-३ वर्ष लाग्यो।
उनी केही वर्ष स्कुटरमै कुदिन्। डाकेको ठाउँमा छिटो पुगिने, जाममा धेरै बेर नफसिने र ट्याक्सी जत्तिको पैसा खर्च नहुने हुँदा उनलाई सजिलो पनि भयो। तर, अचेल उनी स्कुटर छोडेर ट्याक्सी चढ्न थालेकी छन्।
किन त?
'हेल्मेटले कपाल बिग्रिन थाल्यो,' सांग्रिला हाउजिङमा कार्यरत माल्भिका भन्छिन्, 'रुघाखोकीले सताइरह्यो। अहिले गाडी किन्ने अवस्था छैन। त्यसैले, महंगै भए पनि ट्याक्सी चढ्छु।'
मिस नेपाल बन्नुभन्दा त्यो सार्वजनिक सम्मान 'साख' जोगाउन गाह्रो परेको उनको अनुभव छ।
जेनिसा मोक्तान
सवारीका मामिलामा सन् २००९ की ताजविजेता जेनिसा मोक्तान अरूभन्दा निकै भाग्यमानी छिन्। कहाँ कसरी पुग्ने भनेर उनले कहिल्यै सुर्ता लिनुपरेन।
व्यापारी बाबुकी छोरी जेनिसाले मिस नेपाल बन्नुअघि नै दुइटा गाडी फेरिसकेकी थिइन्। १८ वर्ष टेक्नासाथ उनले बुबाबाट 'रियो' कार उपहार पाइन्। अचेल स्याङयङको 'काइरन' चलाउँछिन्। कलेज, मिटिङ, सपिङ जहाँ जाँदा पनि उनलाई आफ्नै गाडी सजिलो लाग्छ।
'सार्वजनिक सवारी त सुरक्षितै लाग्दैन,' उनी भन्छिन्, 'ट्याक्सी चढुँ भने पनि सबै चालक राम्रो नियतका हुन्छन् भन्ने छैन।'
गाडी सर्भिसिङमा दिएका बेला भने उनी रातो पल्सर बाइक हाँक्छिन्। 'ए' लेभल पढ्दा उनी यही बाइक चलाउँथिन्। 'कलेजमा एउटा केटाले च्यालेन्ज गरेपछि उसलाई जवाफ दिन पल्सर चलाएँ,' उनी भन्छिन्, 'तर, त्योभन्दा अघि नै मलाई बाइक चलाउने सोख थियो।'
मुड चल्दा स्कुटर लिएर घुम्न निस्कनु उनको अर्को सोख हो।
रुबी राणा
पहिलो मिस नेपाल रुबी राणाको कथा जेनिसासँग मिल्दोजुल्दो छ।
वीरगन्जमा सात कक्षा पढ्दै रुबीले गाडी चलाउन सिकेकी हुन्। १६ पुग्नासाथ लाइसेन्स बनाइन् र निर्धक्क गाडी हाँक्न थालिन्। त्यसयता उनले थुप्रै गाडी फेरिसकिन्। अचेल 'निसान' चलाउने रुबी कहिलेकाहीँ आवश्यकता हेरेर ट्याक्सी र स्कुटर चढ्न पनि धकाउँदिनन्। माइक्रो चढ्नेचाहिँ आफ्नो ब्युटीपार्लरमा सिक्न आउने विद्यार्थीलाई फिल्डमा लैजाँदामात्र हो, त्यो पनि रिजर्भ गरेर।
'मिस नेपाल भइसकेपछि टेम्पो र माइक्रोमा हिँड्न अलि मिल्दैन,' रुबी भन्छिन्, 'आफ्नो स्ट्याटस पनि मेन्टेन गर्नुपर्‍यो नि।'
यी प्रथम नेपाल सुन्दरीसँग 'आपाचे' बाइक पनि छ। उनी कहिलेकाहीँ मुड चल्दा त्यही बाइक लिएर निस्कन्छिन्। कतिले त बाइक चलाएको देखाएर सोधेका पनि छन्, 'तपाईं मिस नेपाल होइन?'
'म हो भन्छु,' उनले भन्छिन्, 'उनीहरू झन् चित् खान्छन्।'
आफूले यातायातको समस्या भोग्नु नपरे पनि हरेक मिस नेपाललाई गाडी दिने व्यवस्था गरे राम्रो हुने उनको भनाइ छ। त्यसैले, यसपालि सदिक्षाले गाडी पाउँदा उनी दंग छिन्।
'कम्तिमा मिस नेपाल भएपछि गाडी त चढ्नैपर्छ,' उनी भन्छिन्, 'त्यसको अर्कै सान हुन्छ।'
उषा खड्गी
उषा खड्गीलाई भने बाइकै प्रिय लाग्छ। 'हतारमा बाइकजत्तिको सजिलो केही हुन्न,' उनी भन्छिन्, 'काठमाडौंको जाममा दिउसो गाडीमा हिँड्नु जत्तिको झन्झटिलो अरू केही हुन्न।'
सन् २००० मा मिस नेपाल जित्दा पाएको पैसाले उनले काइनेटिकको 'स्ट्रिट' बाइक किनेकी थिइन्। अचेल भने गाडी नै हाँक्छिन्, तर साँझका पार्टी वा अन्य समारोहमा जानुपर्दा मात्र।
अफिस र बुटिक दुवै भ्याउनुपर्ने भएकाले गाडीमा समय खेर जान्छ भन्ने उनलाई लाग्थ्यो। छोरी जन्मेपछि भने बर्खा र जाडोमा बाइकमा पछाडि बस्न अप्ठेरो भयो। उनले 'एउटा गाडी त चाहिने रहेछ' भन्ने महसुस गरिन्।
'सेकेन्ड ह्यान्ड भए पनि काम चल्छ, कम्तिमा चिसो, धुलोधुवाँ र पानी त छेकिन्छ,' उनी भन्छिन्। दुई वर्षअघि मात्र श्रीमानसँग मिलेर उनले 'सेन्ट्रो' कार किनेकी छन्।
गाडीको विषयमा उषा आफूलाई 'बिन्दास' ठान्छिन्। 'मिस नेपाल भएकीले गाडी चढ्नुपर्छ भन्ने कहिल्यै सोचिनँ,' उनी भन्छिन्, 'म बिन्दास छु। बाइकमा पनि मास्क नलगाई हिँड्छु। कतिपयले मिस नेपाल भएर पनि बाइक चढेको भनेर गिज्याउँछन्। मलाई फरक पर्दैन। वास्तविकतासँग चल्नु नै व्यावहारिकता हो।'
श्रीमानसँग हिँडडुल गर्दा बाइकमै रोमान्टिक लाग्ने उषाको अनुभव छ। 'गाडीमा सँगै बस्न मिल्दैन। साह्रै फर्मल लाग्छ,' उनी भन्छिन्।
धेरैले मिस नेपाल भएपछि गाडी चढ्नैपर्ने आस राखे पनि नेपालमा सम्भव नभएको उनको तर्क छ। 'कमाइ नै कम हुन्छ। हलिउड, बलिउडका सेलेब्रिटीसँग हामीलाई दाँज्न मिल्दैन,' उनी भन्छिन्।
झरना बज्राचार्य
झरना बज्राचार्य भने गाडी छोडेर स्कुटरतिर लागेकी छन्।
उनी 'कोरोला' गाडी हाँक्थिन्। अहिले 'प्लेजर' स्कुटर कुदाउँछिन्। स्कुटरमा भए कसैले नचिन्ने र जस्तो बनेर पनि हिँड्न सकिने उनको अनुभव छ। त्योभन्दा राम्रो, भनेको ठाउँमा गाडीभन्दा छिट्टै पुगिन्छ।
सुरुसुरुमा उनलाई पनि गाडी चलाउनैपर्छ भन्ने नलागेको होइन। १३ वर्षअघिकी मिस नेपाल झरना भन्छिन्, 'अचेल कसरी जानेभन्दा पुग्न पाए हुन्छ। कुनैबेला त माइक्रो र टेम्पोसमेत चढिदिन्छु।'
समयसँगै बिस्तारै सबै कुरा परिवर्तन हुँदै जाने र त्यही परिपक्वताअनुसार मान्छेले आफूलाई बदल्नुपर्ने उनको राय छ। 'स्कुटर चढ्दा एकदमै स्वतन्त्र अनुभव गर्छु,' उनी भन्छिन्, 'गाडीमा त्यो अनुभूति हुँदैन।'
'पार्टीमा सजिएर जाँदा भने आफ्नै गाडी ठिक।'
सुगरिका केसी
सन् २००५ की मिस नेपाल सुगरिका केसी प्रायः स्कुटरमै हुन्छिन्।
बजारमा धेरैथरिका स्कुटर भए पनि उसबेला आयोजकले दिएको काइनेटिक नोभा उनलाई मनपर्छ। अघिल्लो सालमात्र उनले गाडी लिएकी छन्, 'आई टेन'। तर, पार्टी या कुनै समारोहमा जानुपरे मात्र गाडी चलाउन रुचाउँछिन्।
'गाडीमा चढ्दा बढी जाममा फसिन्छ,' उनी भन्छिन्, 'त्यसैले, स्कुटरै ठिक लाग्छ। मुख्य कुरा त गाडीभन्दा स्कुटर किफायती पनि छ।'
धेरैले मिस नेपाल भएपछि गाडी चढोस् भन्ने चाहना राखे पनि मध्यमवर्गीय परिवारबाट आएकाहरूले पुरा गर्न नसक्ने उनी बताउँछिन्।
'यसपालि सदिक्षाले गाडी पाइन्, धेरै खुसी लाग्यो,' उनी भन्छिन्, 'कम्तिमा यसले उनलाई मिस नेपालको इज्जत धान्न सजिलो हुनेछ।'
from nagariknews online

आज मिस नेपाल




काठमाडौं, भदौ १६ (नागरिक)- विभिन्न जिल्लाका १८ युवतीबीच मिस नेपालको उपाधि जित्न बुधबार अन्तिम प्रतिस्पर्धा हुँदैछ। डाबर स्पेशल हिडन ट्रेजर मिस नेपाल प्रतियोगितालाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो। त्यसपछि त्यो संख्यालाई २४ मा छाटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो।
सदिक्षा श्रेष्ठ, वर्षा श्रेष्ठ, विनीता थापा, इशा खड्गी, सुजाता स्वाँर, अनिता आचार्य, अजिता सिंह, चाँदनी देवाजु, संयुक्ता तिम्सिना, प्रिया रानी लामा, सुप्रिया केसी, सहाना बज्राचार्य, समृद्धि राई, प्रिना महर्जन, कुसुमाञ्जली केसी, रक्षा थापा, चान्दनी अन्सारी र अस्मिता घिमिरे बुधबार भिड्दैछन्।
सहभागीहरूलाई कमला श्रेष्ठले हेयर केयर, राजेश धाख्वाले ड्रेस कोड/डिजाइन, राजेश घिमिरेले शृंगार/हेयर स्टाइलको बारेमा जानकारी दिएका थिए। त्यस्तै गरी डा अलिल दासले स्किन केयर र राजभाइ सुवालले फोटोग्राफी/पोस्चर आदिको बारेमा तालिम दिएका थिए। यस वर्ष पहिलो पटक जेसिआईका वर्ल्ड प्रेसिडेन्ट रोलान्द क्युमेनले प्रतियागीहरूलाई लिडरसिप तालिम दिएका थिए।
यस वर्षको मिस नेपाल कार्यक्रमको मुख्य विषय वातावरण परिवर्तन रहेको छ। यस पटकको मिस नेपालको प्रायोजन डाबर स्पेशल हेयर आयलले गरेको छ।
मिस नेपाल बन्नेलाई ५० हजार नगद र चेरी कार प्रदान गरिनेछ। फस्ट रनरअपलाई ३५ हजार र महिन्द्रा रोडियो स्कुटर र सेकेन्ड रनरअपलाई २५ हजार प्रदान गरिनेछ। प्रतियोगितामा डाबर वाटिका मिस ब्युटिफुल हेयर, फेम मिस ब्युटिफुल कम्प्लेक्सन, ब्ले मिस फोटोजेनिक, अर्बिट मिस पर्सनालिटी, रियल मिस ट्यालेन्ट, सेफ्टी मिस वाल्क, हिडन ट्रेजर पब्लिक च्वाइस र गणपति मिस फ्रेन्डसिप जस्ता टाइटल समेत समावेश गरिएका छन् र प्रत्येक टाइटलमा १० हजार पुरस्कार राखिएको छ।

यस पटक प्रतियोगितामा चासो राख्नेहरूले एसएमएसवाट आफूलाई मन परेको प्रतियोगी छान्ने अवसर दिइएको छ।
source: nagariknews.com

२५ वर्षपछि पनि कलकलाउँदी करिश्मा



सन्तोष रिमाल- प्रकाश थापाको ‘सन्तान'बाट २०४२ सालमा सिनेमा जगत्मा छिरेकी करिश्माको सुन्दरता २५ वर्षपछि पनि उस्तै छ। उमेरसँगै उनको अनुहारमा परिपक्वता बढ्दै जाँदा अझ आकर्षकजस्तो पो देखिन्छिन्! फिट र सुन्दर देखिन योग र कसरत गर्ने, सन्तुलित खाना र प्रशस्त पानी पिउने गरे पनि करिश्मा सुन्दर छु भन्ने थाहा नपाएजस्तो गर्छिन्। ‘साँच्चै म त्यस्तो फिट देखिन्छु र?' उनले उल्टै सोधिन्।
फिटनेसको विशेष फर्मुला नभएको बताउने करिश्मा घरमै ‘सामान्य' एक्सरसाइज गर्छिन्। ‘यत्तिमात्र त होइन होला सुन्दर र फिट देखिनुको कारण?' हामीले फोनबाटै उनको फिटनेस रहस्य बुझ्न खोज्यौं।

‘घरमै आउनुस् न, सब थाहा हुन्छ,' उनले निम्तो गरिन्।

हामी गोदावरीस्थित उनको निवास पुग्यौं।

‘दिनमा डेढ घन्टाजति एक्सरसाइज गर्छु,' मोटाउन थालेपछि घरमै ट्र्र्रेेडमिल ल्याएकी छिन् उनले। ‘मलाई त मोटाएको थाहा हुँदैन। पत्रिकामा छापिएको फोटो देखेपछि शुभचिन्तकहरूले मोटाइस् भन्छन्,' हिरोइन भएकाले फिटनेसमा रहन सघाएजस्तो लाग्छ उनलाई, ‘आफूलाई पनि फोटो र भिज्युअल देखेपछि कहाँनेर मोटाइएछ भन्ने थाहा हुन्छ र घटाउन जाँगर चल्छ।'

एक्सरसाइज गर्न याक एन्ड यति होटलको क्लब जाने गरेकी उनले काठमाडौंको जामले निकै सताएपछि घरमै फिटनेसका सामान जोडेकी छन्। ‘जगिङले नै धेरै फाइदा हुन्छ। आधा घन्टा यसमै बिताउँछु। पाँच मिनेटजति स्पिड बढाउँछु, नत्र यत्ति नै हो,' हामीसँग कुरा गर्दा ट्रेडमिलमा दौडँदै गरेकी करिश्माले आफ्नो गति देखाउँदै भनिन्।

गोदावरीको हरियालीपूर्ण वातावरणमा बसे पनि घरभित्रै एक्सरसाइज गर्नुपर्दा उनी खुसी छैनन्। ‘तर, माइक्रोबसको गति कस्तो अनियन्त्रित हुन्छ भने बाहिर निस्कनै डर लाग्छ,' उनले बाहिर निस्कन नसक्नुको कारण खुलाइन्।

फुर्सदमा साइकल कुदाउँदै गोदावरीको शान्तिवन पुग्ने गरेकी करिश्मालाई अचेल त्यो मौका मिल्न नेपाल बन्द वा चक्काजामै हुनुपर्छ। ‘नर्मल वाक'का लागि ट्र्र्रेेडमिलकै भरपर्ने करिश्माले मुड चलेका बेला लोडसेडिङले इच्छा पुरा नहुने गुनासोचाहिँ गरिन्।

पाखुरा अलि झोलिन थालेकाले अचेल डम्बेल पनि उचाल्छिन् उनी। १० मिनेट अढाइ केजीका डम्बेल उचाल्ने करिश्माको अनुभव छ, ‘यसो गर्दा पाखुरा कसिलो देखिन्छ।' उमेर बढ्दै जाँदा हालसालै यसको आवश्यकता महसुस हुन थालेको उनले सुनाइन्। ‘डम्बेल उचाल्न थालेपछि ठिक भएको छ,' उनले भनिन्।

बिहान आठ बजे उठेपछि उनको एक्सरसाइज सुरु हुन्छ। उनको ‘एक्सरसाइज प्याकेज'मा कम्मर घटाउनेदेखि हात, खुट्टा र पेटका छुट्टाछुट्टै आइटम छन्। फुर्सदमा बेलुकी पनि एक्सरसाइजमा जुट्ने उनको बानी छ।

योगतर्फ आकर्षित भएकोचाहिँ धेरै भएको छैन। ‘पहिला योग गर्ने धैर्य हुँदैनथ्यो। यो काम अलिक प्यासिभजस्तो पनि लाग्थ्यो। पेट दुख्न ठिक भएपछि यसप्रतिको विश्वास बढेको छ,' उनले योग आकर्षणको कारण खुलाइन्।

फिटनेसका लागि धेरैले भरोसा गर्ने एक्सरसाइज र डाइटिङमा मात्र करिश्माको विश्वास छैन। उनी सन्तुलित र स्वस्थ खानामा पनि जोड दिन्छिन्। फिट हुने निहुँमा कहिल्यै खानामा नियन्त्रण नगरेको, तर सरसफाइमा जहिल्यै ध्यान दिने गरेको उनले सुनाइन्।

‘म नेवार परिवारको मान्छे, वी लभ फुड, यो खान्छु त्यो खान्नँ भन्ने छैन,' खानेकुराको पारखीका रूपमा प्रस्तुत हुँदै उनले भनिन्, ‘कत्तिको सफा छ भन्नेमात्र सोंच्छु म। खानै कटौती गरेर मेन्टेन गर्ने अब कम्तीमा १० वर्ष कल्पना पनि गर्दिनँ।'

नेपाली हिरोइनहरूमा पनि करिना कपुरजस्ता भारतीय हिरोइनको नक्कल गर्दै ‘साइज जिरो' मा जाने होड चलेका बेला करिश्मा भने ‘साइज टु' भन्दा जिउ घटाउने योजनामा छैनन्। छाती, कम्मर र नितम्बका आधारमा मध्यम आकारको शरीर हो, साइज टु।

दुधचियाबाट सुरु हुने करिश्माको आहार गाईको दुध, फलफूल, भात, रोटी र स्न्याक्स हुँदै कहिलेकाहीँ वाइन वा बियरमा टुंगिन्छ। साँझ ६ बजेअघि नै खाना खाने बानी छ उनको।

‘ढिलो खाँदा सुत्न अप्ठ्यारो हुन्छ' भन्ने उनी स्वस्थ रहन प्रशस्त पानी पिउँछिन्। छिनछिनमा पानी पिइरहने यी अभिनेत्रीले अमेरिकामा छँदा एक्सरसाइजलाई निरन्तरता दिन नसके पनि पानी घटाइनन्। ‘काममा मेरो एउटै सर्त हुन्थ्यो, पानी पिउन र शौचालय गइरहन पाउनुपर्छ,' आफ्नो सर्त सुनेर धेरैले अचम्म मान्ने गरेको उल्लेख गर्दै उनले सुनाइन्।

दिनभरिको खाना
- उठ्ने बित्तिकै दुधचिया
- नास्तामा एक गिलास गाईको दुध र मेवा
- दिउँसोको खानामा दाल, उसिनेको चामलको भात र तरकारी
- खाजामा सामान्य स्न्याक्स
- ६ बजेअघि नै बेलुकीको खाना रोटी
- कहिलेकाहीँ वाइन र बियर
source: nagariknews.com

हिरोइनलाई पढाइको चिन्ता



मनोज अधिकारी, पोखरा, साउन १७ -साउनमा सप्रिएको सिरु, हरियो जंगल, नजिकै गर्जिरहेको सार्दीखोला। पारीपट्टीको कालो चट्टाने पहाडलाई पृष्ठभूमि बनाएर एक जोडी नाचिरहेका छन्। बैजनी रङका यी प्रेम जोडी एकान्त पहाडको डिलमा कहिले अँगालोमा कसिन्छन्, कहिले एकअर्काको हात समाउँदै लहसिन्छन्। लोभलाग्दो जोडीको यो क्रम दोहोरिन्छ।
'कट'। नृत्यनिर्देशक कविराज गहतराजको आवाजपछि नवनायिका केकी अधिकारी र नायक आर्यन सिग्देल सम्हालिँदै छुटिन्छन्। केकी एकतिर फर्किन्छिन्। आर्यन त्यहीँ नजिक थचक्क बस्छन्।
कास्कीको उत्तरपश्चिममा पर्ने सार्दीखोलाको एक जंगलमा आइतबार सुटिङ हुँदै गरेको फिल्म 'आई एम सरी'को दृश्य हो यो। डेढ महिनादेखि सुटिङमा व्यस्त रहँदा पट्यार लागेको बताइन् केकीले। 'सुटिङ कहिले सकिएला झैं भइसक्यो,' एकछिनको फुर्सदमा उनले भनिन्, 'यति लामो समय घर छोडेको थिएन। परिवारको न्यास्रो र पढाइको चिन्ताले सताएको छ।'
फोनमा हुने कुराले न्यास्रो नमेटिने उनले बताइन्। 'ममी र बाबासँग दैनिक कुरा हुन्छ। तैपनि झन् याद आउँछ,' म्युजिक भिडियोको मोडलबाट हिरोइन हुँदै गरेकी केकीले भनिन्, 'कोर्सले मलाई पर्खिएको छैन। सुटिङ लम्बिदा पढाइँ धेरै छुट्यो।' केकी प्राइम कलेजमा 'इन्फरमेसन म्यानेजमेन्ट'मा स्नातक गरिरहेकी छिन्। फिल्म निर्देशक बद्रि अधिकारीकी एक्ली छोरी केकीले बाबुकै प्रेरणाले अभिनयमा लागेको बताइन्।
नयाँ निर्देशक दिनेश राउतले फिल्मको ८० प्रतिशत सुटिङ पोखरा आसपासमा हुने जानकारी दिए। 'अधिकांश नेपाली फिल्ममा उही फेवाताल र उस्तै हिमाल देखिन्छ,' राउतले भने, 'मैले यो फिल्ममा पोखराको नयाँ रूप देखाउने जमर्को गरेको छु।' फिल्मका कतिपय सुटिङ पोखरा नजिकैका पहाड, खोंच, जंगल र भित्री बस्तीहरूमा गरिएको उनले बताए। निर्माता हरि महतले ८० लाख रूपियाँको हाराहारीमा फिल्म सकाउने जानकारी दिए।