फिटनेसको विशेष फर्मुला नभएको बताउने करिश्मा घरमै ‘सामान्य' एक्सरसाइज गर्छिन्। ‘यत्तिमात्र त होइन होला सुन्दर र फिट देखिनुको कारण?' हामीले फोनबाटै उनको फिटनेस रहस्य बुझ्न खोज्यौं।
‘घरमै आउनुस् न, सब थाहा हुन्छ,' उनले निम्तो गरिन्।
हामी गोदावरीस्थित उनको निवास पुग्यौं।
‘दिनमा डेढ घन्टाजति एक्सरसाइज गर्छु,' मोटाउन थालेपछि घरमै ट्र्र्रेेडमिल ल्याएकी छिन् उनले। ‘मलाई त मोटाएको थाहा हुँदैन। पत्रिकामा छापिएको फोटो देखेपछि शुभचिन्तकहरूले मोटाइस् भन्छन्,' हिरोइन भएकाले फिटनेसमा रहन सघाएजस्तो लाग्छ उनलाई, ‘आफूलाई पनि फोटो र भिज्युअल देखेपछि कहाँनेर मोटाइएछ भन्ने थाहा हुन्छ र घटाउन जाँगर चल्छ।'
एक्सरसाइज गर्न याक एन्ड यति होटलको क्लब जाने गरेकी उनले काठमाडौंको जामले निकै सताएपछि घरमै फिटनेसका सामान जोडेकी छन्। ‘जगिङले नै धेरै फाइदा हुन्छ। आधा घन्टा यसमै बिताउँछु। पाँच मिनेटजति स्पिड बढाउँछु, नत्र यत्ति नै हो,' हामीसँग कुरा गर्दा ट्रेडमिलमा दौडँदै गरेकी करिश्माले आफ्नो गति देखाउँदै भनिन्।
गोदावरीको हरियालीपूर्ण वातावरणमा बसे पनि घरभित्रै एक्सरसाइज गर्नुपर्दा उनी खुसी छैनन्। ‘तर, माइक्रोबसको गति कस्तो अनियन्त्रित हुन्छ भने बाहिर निस्कनै डर लाग्छ,' उनले बाहिर निस्कन नसक्नुको कारण खुलाइन्।
फुर्सदमा साइकल कुदाउँदै गोदावरीको शान्तिवन पुग्ने गरेकी करिश्मालाई अचेल त्यो मौका मिल्न नेपाल बन्द वा चक्काजामै हुनुपर्छ। ‘नर्मल वाक'का लागि ट्र्र्रेेडमिलकै भरपर्ने करिश्माले मुड चलेका बेला लोडसेडिङले इच्छा पुरा नहुने गुनासोचाहिँ गरिन्।
पाखुरा अलि झोलिन थालेकाले अचेल डम्बेल पनि उचाल्छिन् उनी। १० मिनेट अढाइ केजीका डम्बेल उचाल्ने करिश्माको अनुभव छ, ‘यसो गर्दा पाखुरा कसिलो देखिन्छ।' उमेर बढ्दै जाँदा हालसालै यसको आवश्यकता महसुस हुन थालेको उनले सुनाइन्। ‘डम्बेल उचाल्न थालेपछि ठिक भएको छ,' उनले भनिन्।
बिहान आठ बजे उठेपछि उनको एक्सरसाइज सुरु हुन्छ। उनको ‘एक्सरसाइज प्याकेज'मा कम्मर घटाउनेदेखि हात, खुट्टा र पेटका छुट्टाछुट्टै आइटम छन्। फुर्सदमा बेलुकी पनि एक्सरसाइजमा जुट्ने उनको बानी छ।
योगतर्फ आकर्षित भएकोचाहिँ धेरै भएको छैन। ‘पहिला योग गर्ने धैर्य हुँदैनथ्यो। यो काम अलिक प्यासिभजस्तो पनि लाग्थ्यो। पेट दुख्न ठिक भएपछि यसप्रतिको विश्वास बढेको छ,' उनले योग आकर्षणको कारण खुलाइन्।
फिटनेसका लागि धेरैले भरोसा गर्ने एक्सरसाइज र डाइटिङमा मात्र करिश्माको विश्वास छैन। उनी सन्तुलित र स्वस्थ खानामा पनि जोड दिन्छिन्। फिट हुने निहुँमा कहिल्यै खानामा नियन्त्रण नगरेको, तर सरसफाइमा जहिल्यै ध्यान दिने गरेको उनले सुनाइन्।
‘म नेवार परिवारको मान्छे, वी लभ फुड, यो खान्छु त्यो खान्नँ भन्ने छैन,' खानेकुराको पारखीका रूपमा प्रस्तुत हुँदै उनले भनिन्, ‘कत्तिको सफा छ भन्नेमात्र सोंच्छु म। खानै कटौती गरेर मेन्टेन गर्ने अब कम्तीमा १० वर्ष कल्पना पनि गर्दिनँ।'
नेपाली हिरोइनहरूमा पनि करिना कपुरजस्ता भारतीय हिरोइनको नक्कल गर्दै ‘साइज जिरो' मा जाने होड चलेका बेला करिश्मा भने ‘साइज टु' भन्दा जिउ घटाउने योजनामा छैनन्। छाती, कम्मर र नितम्बका आधारमा मध्यम आकारको शरीर हो, साइज टु।
दुधचियाबाट सुरु हुने करिश्माको आहार गाईको दुध, फलफूल, भात, रोटी र स्न्याक्स हुँदै कहिलेकाहीँ वाइन वा बियरमा टुंगिन्छ। साँझ ६ बजेअघि नै खाना खाने बानी छ उनको।
‘ढिलो खाँदा सुत्न अप्ठ्यारो हुन्छ' भन्ने उनी स्वस्थ रहन प्रशस्त पानी पिउँछिन्। छिनछिनमा पानी पिइरहने यी अभिनेत्रीले अमेरिकामा छँदा एक्सरसाइजलाई निरन्तरता दिन नसके पनि पानी घटाइनन्। ‘काममा मेरो एउटै सर्त हुन्थ्यो, पानी पिउन र शौचालय गइरहन पाउनुपर्छ,' आफ्नो सर्त सुनेर धेरैले अचम्म मान्ने गरेको उल्लेख गर्दै उनले सुनाइन्।
दिनभरिको खाना
- उठ्ने बित्तिकै दुधचिया
- नास्तामा एक गिलास गाईको दुध र मेवा
- दिउँसोको खानामा दाल, उसिनेको चामलको भात र तरकारी
- खाजामा सामान्य स्न्याक्स
- ६ बजेअघि नै बेलुकीको खाना रोटी
- कहिलेकाहीँ वाइन र बियर
- उठ्ने बित्तिकै दुधचिया
- नास्तामा एक गिलास गाईको दुध र मेवा
- दिउँसोको खानामा दाल, उसिनेको चामलको भात र तरकारी
- खाजामा सामान्य स्न्याक्स
- ६ बजेअघि नै बेलुकीको खाना रोटी
- कहिलेकाहीँ वाइन र बियर
source: nagariknews.com












