Your Ad Here

नेपालले भोलि एसिसीको फाइनलमा अफगानिस्तानसँग खेल्ने

काठमाडौं, चैत २६ (नागरिक)- भेट्रान सुरेश नभरत्नम्को सानदार सतकलाई पन्छाउँदै नेपालले बुधबार रोमाञ्चक खेलमा मलेसियालाई ८ रनले पराजित गरी एसिसी ट्रफी इलाइटको फाइनल प्रवेश गरेको छ। दोस्रो पटक फाइनल पुगेको नेपालले शुक्रबार उपाधि भिडन्तमा अफगानिस्तानसँग खेल्नेछ।
कुवेतमा भइरहेको प्रतियोगिताको हुवारा मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७१ रन बनाएको थियो। ३७ ओभरमा मलेसियाले १ सय ४२ रन बनाउने क्रममा ६ विकेट गुमाएको अवस्थामा नेपालको विजय निश्चित देखिएको थियो। ४१ ओभरमा टोली १७३/७ को नाजुक स्थितिमा पुगिसकेको थियो। तर सुरेशले सानदार सतक बनाउँदै मलेसियालाई फाइनल नजिक पुर्‍याए। 
मलेसियालाई १२ बलमा जितका लागि १८ रन आवश्यक भएको समयमा कप्तान पारस खड्का आफै बलिङ आक्रमणमा आएका थिए। उनले दोस्रो बलमै सुरेशलाई आउट गरी नेपाललाई खेलमा फर्काए। दुई बलपछि साफिक सरिफ १८ बलमा ३१ रन बनाई रनआउट भए।

अन्तिम ओभरमा मलेसियाको अन्तिम जोडीलाई विजयका लागि १४ रन बनाउनुपर्ने चुनौती थियो। तर बसन्त रेग्मीले सारुलनिजाम युसोफलाई बोल्ड गरी नेपाललाई विजय दिलाए । सन् २००२ मा सिंगापुरमा पनि फाइनल पुग्ने क्रममा नेपालले मलेसिायालाई सेमिफाइनलमा २५ रनले पराजित गरेको थियो।
म्यान अफ द म्याच सुरेशले १ सय ३ बलको सामना गरी ६ चौका र तीन छक्कासहित १ सय १५ रन बनाए। सुरेशको इनिङ अगाडि कप्तान सुहान कुमारले ७० बनाए। पारसले १० ओभरमा ४२ र सञ्जम रेग्मीले ६० तथा बसन्तले ८.४ ओभरमा ५८ रन खर्चेर २/२ विकेट लिए। मलेसियाली इनिङको पहिलो बलमै विकेट लिएका महबुव आलमले ५ ओभरमा ३ मेडन राख्दै १६ र राहुलकुमार विकले ६ ओभरमा ४० रन खर्चेर १/१ विकेट लिए।
यसअघि शरद भेषावकरले आक्रमक ब्याटिङ गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्यमा पुर्‍याएका थिए। ३०औं ओभरमा क्रिजमा आएका शरदले ६६ बलको सामना गरी १० चौका र एक छक्काको मद्दतले अविजित ९७ रन बनाए। उनी दोस्रो अन्तर्राष्ट्रिय सतक नजिक पुगेर रोकिएका थिए। शरदले उपकप्तान ज्ञानेन्द्र मल्लसँग पाँचौं विकेटका लागि १७ ओभरमा १ सय ३५ रन जोडेका थिए। ज्ञानेन्द्र ४९ रन बनाई ४७औं ओभरमा सुरेशको बलमा बोल्ड भए। ६१ बलको इनिङमा ज्ञानेन्द्रले २ चौका प्रहार गरे।
नेपालको सुरुवात राम्रो रहेन। ओपनर अनिल मण्डल (४) तेस्रो ओभरमै पवेलियन फर्केपछि महेश क्षत्री र शक्ति गौचनले ८७ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए। शक्तिले ५७ बलमा ४ चौकाको मद्दतले ५२, महेशले ८६ बलमा ३ चौकाबाट ४३ रन बनाए। पारस २ र दीपेन्द्र चौधरी १४ रनमा आउट भएका थिए। महबुव १ रनमा अविजित रहे