Your Ad Here

ओमविक्रमको अमेरिका डायरी


दीपेन्द्र लामा- अमेरिकाको ६ महिने बसाइँपछि गायक ओमविक्रम विष्ट नेपाल फर्किएका छन्। उनका नाति अमेरिकामा छन्। तर, यो अवधि नाति खेलाउँदैमा बितेन। नेपालमा भन्दा बढी व्यस्त भए र अमेरिकाका विभिन्न स्टेटमा १२ वटा कन्सर्ट दिए। 'म मौनतामा अल्भि्करहेको एउटा जीवन' बोलको गीतले स्रोतालाई अझै कति बाँध्न सक्छ, उनी परिचित भए। अमेरिकामा उनले गरेको 'म्युजिकल टुर'को विवरण :
भदौ ७, २०६६ : अमेरिकामा अवतरण
न्युयोर्कमा ओर्लिएर उनी पालाटाइन ब्रिजमा रहेको छोरीज्वाइँको घरमा बसे। त्यहाँबाट न्युयोर्क सिटी पुग्न साढे दुई घन्टा गुड्नुपर्थ्यो। उनी लगातार २० दिन छोरीकहाँ बसी न्युयोर्क सहर घुमे। न्युयोर्क रिजोर्टमा नेपालीको भीड देखेर उनलाई अचम्म लाग्यो। सेलरोटी, चना, आलु, चिया खाँदैगरेका र छालासहितको खसीको मासु किनिरहेका नेपाली देखेर उनलाई त्यो स्वदेशकै कुनै बजारजस्तो लाग्यो। उनी हरेक दिन साँझसम्म डुल्दै १०५ किलोमिटर प्रतिघन्टाको गतिमा कार चढेर छोरीको घर फर्किन्थे।


असोज १० : एटलान्टा, जर्जिया
अभिनेत्री कृष्टि मैनालीका पति उज्ज्वल मैनालीलाई ओमविक्रमले भाइ बनाएका थिए। उज्ज्वलले फोनबाट उनलाई जर्जिया एटलान्टाका राजा घलेको नम्बर दिए। जर्जिया तमु समाजका अध्यक्ष घलेले ओमलाई खोजिरहेका रहेछन्। उनको बुझाइमा घले एक कलाप्रेमी व्यक्ति हुन्। ओमका कान्छा भाइ अनन्तविक्रमका साथी पनि हुन्, घले। तिनै घलेको आयोजनामा एटलान्टामा ओमको पहिलो कन्सर्ट भयो। उनका अनुसार लगभग साढे तीन सय दर्शकको उपस्थिति थियो। यो कार्यक्रममार्फत् ओमले अमेरिकाका सम्पूर्ण नेपाली समुदायमाझ प्रचार पाए।


असोज १६ : रिजोर्ट, न्युयोर्क
न्युयोर्कको रिजोर्टमा पाँच सय नेपालीको जमघट थियो। संयुक्त राष्ट्रसंघका लागि नेपालका तत्कालीन स्थायी प्रतिनिधि मधुरमण आचार्यबाट ओमविक्रमले सम्मान थापे। हलभित्र गरिएको कार्यक्रममा ओमले १२ गीत सुनाए। नेपालका लोकप्रिय गायक प्रकाश श्रेष्ठलाई उनले त्यहीँ भेटे। प्रकाशले पनि त्यहाँ दुई गीत गाए।


असोज ३० : लस एन्जलस, क्यालिफोर्निया
लसएन्जलसमा पशुपतिनाथको मन्दिर निर्माण सहयोगार्थ ओमविक्रमको कन्सर्ट भयो। सहरमा पोस्टर टाँसेर यसको प्रचार गरिएको थियो। ओमलाई आयोजकले कन्सर्ट हुने एक इन्डियन रेस्टुरेन्टसम्म आठ सिट भएको लिमुजिन कारमा लगेका थिए। करिब तीन सय दर्शकलाई उनले गीत सुनाए। मदन पाठक, बासु घिमिरे, राजन सिवाकोटी, प्रेम गुरागाईं, गुरु ओली आदिको पहलमा भएको कन्सर्टमा बोल कबोल हुँदा मन्दिर निर्माण गर्न ६० हजार अमेरिकी डलर उठेको थियो।


कात्तिक १ : स्यान डियगो, क्यालिफोर्निया 
लस एन्जलसमै आएर उनलाई विद्यार्थीहरूको एक समूहले स्यान डियगोको निम्तो दिए। तिहारको बेला थियो। नेपाली विद्यार्थीको सहयोगमा थोरै तर विशेष एक सय दर्शकलाई उनले गीत सुनाए। सेलरोटी र आलुको अचार खाँदै उनको तिहार बित्यो।


मंसिर १३ : भ्यानकुभर, क्यानाडा
हिउँदे ओलम्पिकको तयारीमा रहेको क्यानाडेली सहर भ्यानकुभरलाई ओमविक्रमले तताए। त्यहाँका सुरेश थापा मगरले ओमको कन्सर्ट आयोजना गरिदिएका थिए। राजु केसी, प्रेम केसी, रोनास्ट लगायतले दिनरात खटेर कन्सर्टलाई सफल बनाएको ओम बताउँछन्। लगभग ३ सय ५० लाई उनले हिउँ परिरहेको मौसममा २४ गीत सुनाए।


मंसिर २७ : सिकागो, इलिनोइ
ओमविक्रमले सिकागोमा लाइभ कन्सर्ट दिए। त्यसका लागि विशाल मास्के, वीरेन्द्र सुवाल सिंह, सुवोध उप्रेती, धीरज काफ्ले, मनीष थापा, पियुष दाहाल, गोविन्द फुयाल, भोला फुयाल र प्रनितकुमार सम्मिलित ब्यान्डले दुई महिना अभ्यास गरेको थियो। ओमले भने ब्यान्डसँग तीन दिन अभ्यास गरे। उनीसँग केही युगल गीतमा संगीता बोगटीले गाइन्। डायना हलमा भएको कार्यक्रमको श्रेय उनी गीतकार किरण श्रेष्ठ पल्पसा र दोजेन्द्र राणालाई दिन्छन्। ३ सय ८८ दर्शकका बीच ओमलाई नेपालका लागि कन्सुलर मार्भिन ए ब्रस्टिन दम्पतीले उपहारसहित सम्मान गरेको थियो।


पुस १६, क्विन्स, न्युयोर्क
नयाँ वर्ष २०१० को पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा ओमविक्रमले ६ वटा गीत गाए। न्युयोर्क शेर्पा समाजले गरेको यो ओमको एकल कन्सर्ट भने थिएन। राजु लामा र फिरोज स्याङदेन मुख्य कलाकार रहेको यो कार्यक्रममा ओम गेस्ट आर्टिस्टजस्तै थिए।


माघ ९, डेनभर, कोलोराडो
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालकी अध्यक्ष निलम श्रेष्ठको पहलमा ब्रुमफिल्ड अडिटोरियममा ओमविक्रमको एकल लाइभ कन्सर्ट भयो। विजय अधिकारी, जोनाथन, अनुरक्त श्रेष्ठ, टोनी, राईआदिले एक महिनादेखि ब्यान्ड प्राक्टिस गरेका थिए। ओमसँग निलमले पनि गाएकी थिइन्। साढे तीन सयको उपस्थितिमा कार्यक्रमको सञ्चालन समाचार वाचिका रमा सिंहले गरेकी थिइन्।


माघ १६, क्विन्स, न्युयोर्क
अमेरिकाका लागि नेपालको राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा क्विन्समा ओमविक्रमको लाइभ कन्सर्ट भयो। साढे चार सय दर्शक उपस्थित कन्सर्टमा कोलोराडो र न्युयोर्कका गरी नौजना वाद्यवादक सहभागी थिए। अमेरिकामै बसिरहेका कलाकार रोशन गुरुङ र सपनाश्री पनि मञ्चमा देखिए। शिशिर श्रेष्ठ, विमल बुढाथोकी, राज कपुर, न्हुच्छे डंगोल, वसन्ती राई आदि ओमको संगीत झुन्डमा थपिएका थिए।


माघ २३, बेल्लेभोय, नेब्रास्का 
नेब्रास्का नेपाली समाजका अनिरुद्रले ओमविक्रमलाई बेल्लेभोय युनिभर्सिटीको हलमा उतारे। कोलोराडोको डेनभरबाट मोटरमा १० घन्टा ओहोरदोहोर गरी ओम बेल्लेभोय पुगेका थिए। ३ सय ७५ दर्शकमध्ये विद्यार्थीको बाहुल्य भएकोले ओमले डान्सिङ गीत बढी सुनाए। विजय अधिकारी र निर्मला श्रेष्ठले ओमलाई स्टेजमा साथ दिए। लामो मोटरयात्राको दौरानमा देखिएका सुक्खा डाँडाकाँडाले ओमलाई नेपाल सम्झायो।


फागुन १, वासिंगटन डिसी
अमेरिकाको यो राजधानीमा ओमविक्रम पुग्दा कन्सर्टको तयारी अन्तिम अवस्थामा थियो। राजन ओली र विष्णु थापाले कार्यक्रमको व्यापक तयारी गर्दैथिए। तर, हिउँ धेरै परेपछि आयोजकले कन्सर्ट रद्द गर्‍यो। भोलिपल्ट तामाङ ल्होछार थियो। त्यसले पनि आयोजकलाई कन्सर्ट अर्को वर्ष सार्न बाध्य पार्‍यो।


फागुन ८, सियाटल, वासिंगटन
समुद्र र हिमालको संगम भएको सुन्दर सहर सियाटलमा ओमविक्रमले त्यहीँको गोर्खे ब्ल्याक ब्यान्डको सहारा पाए। ओमका पुराना साथी अतुल रेग्मीले कन्सर्ट मिलाइदिएका थिए। ६ सय जति नेपालीको बसोबास रहेको सियाटलमा ओमलाई सुन्न चार सयको उपस्थिति थियो। रातको १ बजेसम्म नाचगान चल्यो।


फागुन १५, डालस, टेक्सस
स्थानीय क्रिस्टियानिटी हलमा आयोजित कार्यक्रममा ११ सय दर्शक थिए। ओमले अमेरिकामा पाएको सबभन्दा ठूलो भीड थियो यो। त्यसैले उनी बढी उत्साही बने। कार्यक्रममा ओमको डेढ घन्टा कन्सर्ट थियो भने मनोज गजुरेलले एक घन्टा हास्यव्यङ्ग्य प्रस्तुत गरे। बैकुण्ठ थापाको पहलमा कार्यक्रम भएको थियो।
भिसाको म्याद फागुन २० मा सकिने हुनाले ओमले विभिन्न १२ कन्सर्ट भ्याएनन्। उनी छोरी, ज्वाइँ र १७ महिनाका नातिलाई छाडेर समयमै काठमाडौं आइपुगे |
source: nagariknews.com