चलचित्र क्षेत्रको लेखाजोखा

'यो वर्ष व्यावसायिक रूपमा सर्वाधिक सफल चलचित्र कुन हो ?' पोखराका चलचित्र वितरक तथा प्रदर्शक उत्तम द्वासँग सोधियो । नेपाली चलचित्रको असल बजारका रूपमा परिभाषित पोखरामा नेपाली चलचित्रको विकासका लागि तत्पर, चलचित्रका ज्ञाता द्वाको उत्तर थियो- 'सिलसिला हो क्यार ।' ०६५ सालमा सर्वाधिक दर्शकले रुचाएको चलचित्र 'सिलासिला'को नाम उनले लिनु अचम्मकै कुरा भयो । उक्त कुरा सम्झाएपछि उनले भने 'कहाँ भेटिएला' । काठमाडौं उपत्यकाका चलचित्र प्रदर्शक एवं वितरक मदनमान बज्राचार्यसँग पनि त्यही प्रश्न सोधियो । उनले भने, 'पहिलो नम्बरमा 'कहाँ भेटिएला' हो, दोस्रोमा चाहिँ 'म तिमीबिना मरिहाल्छु' ।' उदेकलाग्दो कुरा के भने 'म तिमीबिना मरिहाल्छु' ०६५ मा प्रदर्शन भै 'सुपरहिट' ठहरिएको चलचित्र थियो ।
'मेरो गोरुको बाह्रै टक्का' भन्ने प्रचलन छ, नेपाली चलचित्र क्षेत्रमा । 'कस्तो छ तपाईंको चलचित्रको व्यापार ?' भर्खरै चलचित्र सार्वजनिक गरेका प्रायः निर्माता/निर्देशकको जवाफ हुन्छ 'गज्जबै छ, मानिसहरू खचाखच छन् । हलका साहूले भनेअनुसार यो चलचित्रमा जस्तो भीड उनले आफ्नो हलमा यसभन्दा पहिले देखेका थिएनन् रे ।' वर्ष ०६६मा साना-ठूला गरेर अन्दाजी ४२ वटा चलचित्र काठमाडौं उपत्यका र बाहिर सार्वजनिक भएको देखिन्छ । गत वर्ष र यो वर्ष सेन्सर भएका चलचित्रको सूचीमाथि सरसर्ती नजर लगाउँदा उक्त आँकडा आएको हो । त्यही आँकडाअनुरूप व्यावसायिक सफल चलचित्रको सूचीमा मुस्किलले दसवटा चलचित्रको नाम आउन सक्छ । जबकि बाँकी ३२ वटा चलचित्रका निर्माणकर्ताको भनाइ सुनिन्छ, 'मेरो चलचित्र त व्यापक चल्यो ।' यद्यपि यो वर्ष गत वर्षको तुलनामा बढी चलचित्र सार्वजनिक भए ।
चलचित्र क्षेत्रको भलाइका खातिर दर्जनौं संघसंस्था सक्रिय छन् । सूचना मन्त्रालयअन्तर्गत चलचित्र विकास बोर्ड पनि छ । व्यावसायिक रूपमा चलचित्रको लेखाजोखा गर्ने कुनै संस्था भने छैन । 'बक्स अफिस' अर्थात् चलचित्र व्यापारको नाफा-घाटा छुट्टयाउने कुनै निकाय उद्योगका रूपमा मानिएको नेपाली चलचित्र क्षेत्रमा नहुनु विडम्बनाकै कुरा हो । यही भएर पनि चर्चा एवं वितरकहरूको रायअनुरुप हरेक बर्ष सफल वा असफल चलचित्रको सूची सञ्चारकर्मी आफैं तयार पार्न बाध्य छन् । आशा गरौं, आगामी बर्ष त्यसो गर्नु नपर्ला ।
वर्ष ०६६ को ब्लकबस्टर
यो वर्षको 'ब्लकबस्टर' चलचित्र नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको 'कहाँ भेटिएला' नै हुनसक्छ । निर्माता/नायक श्रेष्ठका अनुसार चलचित्र प्रदर्शन गर्ने बेलासम्म उक्त चलचित्रको निर्माणमा ८१ लाख रुपैयाँ खर्च भैसकेको थियो । चलचित्रले सफलता नपाएको खण्डमा धेरै ऋणको भारी बोक्नुपर्ने खतरा मोलेको उनले बताए । सफल ठहरिएर हलबाट चलचित्र उत्रिँदा काठमाडौं उपत्यकाबाट अन्दाजी ७० लाख एवं उपत्यकाबाहिरबाट १ करोड रुपैयाँ आम्दानी गरेको उनको कथन छ । विदेशी मुलुकमा प्रदर्शन गरिनसकेकाले उनी यही वैशाख महिनादेखि चलचित्र प्रदर्शनका लागि विदेशयात्रामा निस्कँदैछन् । विदेशमा पनि सफलतापूर्वक प्रदर्शन भएको खण्डमा चलचित्र 'कहाँ भेटिएला'को कुल आम्दानी ३ करोड नाघ्न सक्ने अनुमान गरिन्छ । चलचित्रका लेखक तथा निर्देशक शिव रेग्मी हुन् । यो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, नीर शाह, मिथिला शर्मा, रवि गिरी, वीरेन्द्र हमाल आदि कलाकारको मुख्य भूमिका छ । प्रेमको खोजीलाई रमाइलो रोमान्टिक प्रस्तुति गरिएको यो चलचित्रमा निरुता सिंह, सञ्चिता लुइँटेल, गरिमा पन्त आदि कलाकार अतिथिका रुपमा देखिएका थिए । चलचित्रलाई सफलताको बाटोमा डोर्याउन शिव रेग्मी र सुन्दर श्रेष्ठको गीत, शम्भुजित बाँस्कोटाको संगीत तथा शम्भु सापकोटाको छायांकनको पनि योगदान छ ।

यस्तो पनि भयो
धेरैपछि पुनरागमन गरेका नायक श्रीकृष्ण श्रेष्ठले सफलताको पगरी गुथे । कुनै बेला राजेश हमाल मुख्य नायक भएको चलचित्रमा सहनायक रहेका श्रीकृष्ण, व्यावसायिक सफलतामा अरू नायक भन्दा अब्बल ठहरिए । उनको यो सफल चलचित्र ०६५को पुस महिनामै सेन्सर पास भैसकेको थियो र पनि ०६६मा प्रदर्शनमा आयो ।
राजेश हमाल, विराज भट्ट तथा निखिल उप्रेतीलाई चलचित्रमा उपस्थितिका लागि मात्र काम गराउने परिपाटी धेरै हदसम्म कायम रह्यो । पोस्टरमा उनीहरूको अनुहार ठूलो बनाएर राखे दर्शक ओइरिन्छन् भन्ने भ्रान्तिले ती नायकलाई आर्थिक रूपमा फाइदै गरायो ।
पाँच वर्षअघि चलचित्र 'कही मिलन कही विछोड'ले असफलताको स्वाद चखाएपछि टेलिभिजनको सफल मेघा टेलिश्रृंखला 'परिचय' का निर्देशक ऋषि लामिछाने पलायन जस्तै भएका थिए । यो वर्ष आफ्नै निर्देशनमा निर्माण भै प्रदर्शनमा आएको चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ'को सफलताले उनलाई फेरी जुर्मुराउन बाध्य तुल्याएको छ ।
'इकु-द जंगलम्यान' ले भिडियो प्रविधिमा निर्माण भएर पनि सेल्युलोइड प्रविधिमा बनेका धेरै चलचित्रलाई पछाडि पार्यो । चलचित्रले त्यसरी सफलता पाउनुमा टेलिश्रृंखला 'मेरी बास्सै'मा कलाकार सुलेमान शंकरले
निर्वाह गरेको 'इकु'को चरित्र नै मुख्य कारण मानियो ।
राजु शाहको चलचित्र 'सपनाको नौलो संसार' तथा उदय सुब्बाको चलचित्र 'क्यारेङ ग्याङ-२' प्रदर्शनको आपसी हानाथापले गर्दा असफल चलचित्रको कोटिमा परे ।
सिक्वेलका रूपमा निर्माण गरिएका चलचित्रहरू 'कुसुमे रुमाल-२', 'पापी मान्छे-२', 'क्यारिङ ग्याङ-२' तथा विगतमा सफल चलचित्रकै शीर्षक गुथेका चलचित्रहरू 'द युगदेखि युगसम्म', 'सम्झना', 'दाग' आदि चलचित्रले उल्लेखनीय व्यापार गर्न सकेनन् ।
हिन्दी चलचित्रको शीर्षकको हुबहु नक्कल गरिएका चलचित्र 'दानवीर', 'इज्जतदार', 'जंगबाज', 'र्फज', 'धुम', 'रक्षक', 'महान', 'टक्कर', 'त्रिदेव' आदिले पनि ठूलो माछा मार्न सकेनन् ।
डिजिटल प्रविधिमा चलचित्र निर्माण गर्ने तथा सेल्युलोइड प्रविधिमा निर्माण भएका चलचित्रलाई समेत डिजिटलाइज्ड गर्ने क्रम बढेको सन्दर्भमा सेन्सर गर्ने बेलामा क्यासेटबाटै देखाउने कार्य भएको छ । त्यसैले भिडियो, डिजिटल वा सेल्युलोइडको स्तरीयता आ-आफ्नै भए पनि दर्शकसमक्ष प्रदर्शन हुँदा मात्र चलचित्रको प्रस्तुतिको स्तरीयताका कारण चलचित्रले व्यापार गरेको पाइयो ।
डिजिटल प्रविधिमा चलचित्र निर्माण गर्ने कार्य बढे पनि सेल्युलाइडमा निर्माण हुने क्रम यथावत् रह्यो ।
यूएफओ वा क्यूब प्रविधिबाट एकैपटक अनेकौं स्थानमा चलचित्र सार्वजनिक गर्ने प्रविधिको निकै सदुपयोग भयो ।
पछिल्लो पटक उदाएका नायकहरू आर्यन सिग्देल, सुमन सिंह, राजबल्लभ कोइराला आदि चर्चामा रहे । आर्यनको 'मेरो एउटा साथी छ' तथा राजको 'पहिलो पहिलो माया'ले उनीहरूको क्यारियर उठाउने काम गर्यो ।
चर्चित पाँच नायक
१. श्रीकृष्ण श्रेष्ठ
२. विराज भट्ट
३. आर्यन सिग्देल
४. राजेश हमाल
५. निखिल उप्रेती
चर्चित पाँच नायिका
१. झरना थापा
२. रेखा थापा
३. नम्रता श्रेष्ठ
४. अरुणिमा लम्साल
५. युना उप्रेती
चर्चित पाँच संगीतकार
१. शम्भुजित बाँस्कोटा
२. सुगम पोखरेल
३. वसन्त सापकोटा
४. सुरेश अधिकारी
५. महेश खड्का
सफल दस चलचित्र
१. कहाँ भेटिएला
२. आफ्नो मान्छे आफ्नै हुन्छ
३. बाटुली
४. इकु - द जंगलम्यान
५. मेरो एउटा साथी छ
६. कहाँ छौ कहाँ
७. निशाना
८. पहिलो पहिलो माया
९. अर्जुनदेव
१०. दोस्ती