Your Ad Here

वाग्लेको 'मयूर टाइम्स' सार्वजनिक

काठमाडौं, चैत २८ (नागरिक)- नारायण वाग्लेको दोस्रो उपन्यास मयूर टाइम्स शनिबार सार्वजनिक भएको छ। पुस्तक सार्वजनिक कार्यक्रममा लेखक वाग्लेले मयूर टाइम्समा समकालीन द्वन्द्वको परिवेश रहेको बताए। 'मुलुक राजनीतिक संक्रमणको रोमाञ्चकताबाट गुज्रिरहँदा', एसएमएस र इमेलबाट डाकिएका करिब ५० लेखक तथा मिडियाकर्मी माझ उनले भने - 'मोफसलमा बसेर काम गर्ने पत्रकारको कथा मेरो छनौटमा पर्‍यो।'
'देशको उथलपुथलमय राजनीतिक समयमा काठमाडौंबाहिरबाट संघर्षपूर्ण पत्रकारिता गरिरहेका सहधर्मीहरुको साहस र समर्पणको सम्मान गर्न मैले यही कथा रोजेँ', नागरिक दैनिकका प्रधान सम्पादक समेत रहेका उनले पुस्तकको सहधन्यावाद शीर्षक सम्झँदै सुनाए।
प्रकाशक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले मयूर टाइम्सको प्रमथ संस्करण नै १० हजार प्रति छापिएको जानकारी दिए। नेपाली साहित्यको उपन्यास विधामा एकै पटक यति ठूलो संख्यामा पुस्तक छापिएको यो पहिलो हो।
‘यो पुस्तकको माग सुरुमै अत्यन्त बढी भइरहेको र अग्रिम बुकिङ भइसकेको अवस्थामा हामीले पहिलो संस्करणमै १० हजार प्रति छापेका हौं,' नेपालयका किरणले भने, ‘बजारको मागले हामीलाई पहिलो पटक एक किसिमको उत्साहजनक दबाब महशुस गराएको छ।'
पहिलो उपन्यास पल्पसा क्याफे प्रकाशित भएको पाँच वर्षपछि उनको दोस्रो उपन्यास आएको हो। अंग्रेजीमा समेत प्रकाशित पल्पसा क्याफे ४० हजार बिक्री भएको थियो।
मयूर टाइम्सको बिक्री वितरणको जिम्मा एजुकेसनल बुक हाउसले लिएको छ। नेपालय र एजुकेशन बुक हाउसले आजबाटै मुलुकभर उपन्यास उपलब्ध गराएका छन् |
source: nagariknews.com