काठमाडौं, असार १३ (नागरिक)- काठमाडौंमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवअन्तर्गत शनिबार प्रेमकथामा आधारित दुई फरक फिल्मले चर्चा पाए। एउटा फिल्म नेपालको नेवार भाषाको 'माया' थियो भने अर्को भारतको त्रिपुराको 'यारङ'।
'माया' अधिकांश नेवार फिल्ममा हुने भद्दा कमेडीबाट मुक्त छ। त्यस्तै जोसेफ पुलिनथानाथद्वारा निर्देशित 'यारङ'मा चाहिँ आदिवासीको नाममा अतिरञ्जित राजनीतिक पूर्वाग्रहबाट लादिएको छैन। दुवै फिल्ममा सम्बन्धित समुदायका जीवनशैलीको यथार्थ चित्रण गरिएको छ।
ग्रामोफोनवाला कोठा, भेषभुषा र श्यामस्वेत दृश्यले 'माया'ले ४०-५० वर्षअगाडिको समयलाई टिपेको प्रष्टै झल्किन्छ। आर्यमको यो १६औं फिल्म हो। उनीद्वारा निर्देशित र सुनिता राजभण्डारीद्वारा निर्मित 'भिन्तुना'ले गत वर्ष यही महोत्सवमा पुरस्कार जितेको थियो।
इन्डिजिनियस फिल्म अर्काइभले आयोजना गरेको फिल्म महोत्सवमा शनिबार स्वदेशका तामाङको 'थारेङ थारेङ', लिम्बुको 'फुङवामा', गुरुङको 'सैं' र 'ब्यासी सौकाको संस्कृति'सहित स्वीडेन, मेक्सिको, अस्ट्रेलिया र रुसका फिल्म पनि देखाइए।
राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा भइरहेको महोत्सवको अन्तिम दिन आइतबार तामाङ, सुनुवार, लिम्बु र राई समुदायका सात नेपाली र १४ विदेशी फिल्म देखाइनेछ। गोपाल योञ्जनद्वारा संगीतवद्ध गीतिनाटिका 'डाँफेचरी'को प्रदर्शनसँगै समापन हुने महोत्सवमा प्रथम, दोस्रो र तेस्रो फिल्म तथा दर्शक छनोट र प्रोत्साहन पुरस्कार पनि प्रदान गरिनेछ।