माधव ढुङ्गेल, काठमाडौं, असार १७- प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार अपराह्नसम्म कसैलाई राजीनामाको सुँइको दिएका थिएनन्। बिहान साढे ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामाबारे कुनै जानकारी गराएका थिएनन्। नेपालले बुधबार मध्याह्नपछि आकस्मिक रूपमा मात्र राजीनामा दिने मनस्थिति बनाएका थिए।

बिनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले राजीनामा दिने कुरा आफूले साँझ ५ बजेमात्र जानकारी पाएको बताए।
संसद्को राज्य व्यवस्था समितिले बुधबारै संसद् अधिवेशन सुरु हुने दिन असार २१ अगावै प्रधानमन्त्री र गृहमन्त्रीलाई समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार, प्रधामन्त्री नेपालसँग समय माग्न टेलिफोन सम्पर्क गरेका समितिका सभापति रामनाथ ढकाललाई दिउँसो करिब १ बजे उनले असार १९ वा २० गतेका लागि बैठक राख्न आग्रह गरेका थियो।
दिउँसो करिब साढे १ सम्म प्रधानमन्त्री नेपाल सिंहदरबारस्थित कार्यालयमा थिए। त्यसपछि उनी आफ्नो निवास बालुवाटार गएका थिए। २ बजे मुख्य सल्लाहकार रघुजी पन्त, गृहमन्त्री भीम रावल, अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बोलाएर राजीनामा दिने कुरा बताए। त्यसपछि पन्तले सात बजेका लागि राष्ट्रपतिसँग समय मागे।

उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सुजाता कोइरालालाई पनि राजीनामाबारे जानकारी दिएका थिए। त्यसपछि उनी पार्टी स्थायी समितिको बैठकमा भाग लिन एमाले केन्द्रीय कार्यालय, बल्खु पुगे, सो बैठक २ बजेका लागि पूर्वनिर्धारित थियो।
दिउँसो करिब ३ बजे स्थायी समिति बैठकमा नेपालले आफूले राजीनामा दिने बताए। त्यसपछि स्थायी समिति बैठक स्थगित भयो। उनी त्यहाँबाट बाहिर निस्के र बालुवाटार गए। साढे ४ बजे सत्तारुढ गठबन्धनभित्र रहेका दलका नेताहरूलाई बोलाए। पाँच बजे आफ्नो सरकारका राज्यमन्त्री, सहायकमन्त्री सहित सबै मन्त्री बोलाए। सो बैठकलाई सम्बोधन गर्दै आफूले राजीनामा गर्नुको कारणसहित जानकारी गराएका थिए।

बैठकलाई प्रधानमन्त्री नेपाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, जनशक्ति पार्टीका नेता सूर्यबहादुर थापा र फोरम (लोकतान्त्रिक) का अध्यक्षका नाताले उपप्रधामन्त्री गच्छदारले पनि मन्तव्य राखेका थिए।
मुख्य सल्लाहकार पन्तका अनुसार, प्रधानमन्त्री नेपालले उनी लगायत केही नेतासँग असार १ गते राजीनामा दिने बताएका थिए। शान्ति र संविधान निर्माणको प्रक्रिया नबढे प्रधानमन्त्री भएर नबस्ने उनले बताएका थिए। आफ्नो कारण मुलुक निकासहीन नहोस् भनेर राजीनामा गरेको बताउँदै सल्लाहकार पन्तले भने, ‘राष्ट्रिय सरकार निर्माणको सहमति गरेर निकास पनि नदिने, प्रधानमन्त्रीको विकल्प पनि दिन नसक्ने अनि सरकार चलाउन पनि नदिने भएपछि प्रधानमन्त्रीलाई पदमा बस्न अप्ठेरो भएको हो।' आफैंले गरेको सहमति तीन दलका नेताले कार्यान्वयन गर्न नसक्नु प्रधानमन्त्रीको नभई उनीहरूको कमजोरी भएको पन्तको ठहर छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला प्रधानमन्त्रीको राजीनामा आकस्मिक भएको बताउँछन्। ‘करिब ४ बजे नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीले राजीनामा गर्ने जानकारी दिनुभएछ', प्रधानमन्त्री निवासमा सिटौलाले नागरिकसँग भने, ‘म त साढे ४ बजे मात्र बालुवाटार पुगें।'
राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने निर्णय गरेका प्रधानमन्त्री नेपालले साँझ ५ बजेका लागि मन्त्रीहरूलाई बालुवाटार बोलाएका थिए। आफ्नो ‘टीम' लाई राजीनामाबारे जानकारी र धन्यवाद दिनका लागि मन्त्रीहरू र सत्तारूढ गठबन्धनका नेताहरूलाई नेपालले राजीनामाबारे जानकारी दिएको प्रधानमन्त्रीको भनाइ उधृत गर्दै मन्त्री कर्णले भने, ‘मैले राजीनामा दिन त पहिल्यैदेखि भनिरहेको थिएँ, आज दिने निश्चय गरें।' प्रधानमन्त्री निवासमा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दुवै पुगेका थिए।
प्रधानमन्त्रीले राजीनामा दिने निर्णय सुनाउँदा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका नेता चन्द्रदेव जोशी लगायतका नेताहरूले असन्तोष व्यक्त गरेका थिए। त्यसपछि प्रधानमन्त्री नेपालले साँझ ६ बजे सञ्चरमाध्यममार्फत् ५ पृष्ठको सम्बोधनसहित राजीनामा गर्ने घोषणा गरेका थिए।
सम्बोधनपछि राजीनामापत्र बुझाउन प्रधानमन्त्री नेपाल ७ बजे मुख्य सल्लाहकार रघुजी पन्त र मुख्यसचिव माधवप्रसाद घिमिरेसहित शितल निवास गएका थिए। करिब साढे सात बजे मात्र प्रधानमन्त्रीले राजीनामा बुझाए। प्रधानमन्त्री नेपालले राष्ट्रपतिसमक्ष देश वर्बाद भएको चिन्ता प्रकट गरेका थिए। प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष राजीनामा दिनेबित्तिकै स्वतः स्वीकृत भएको मानिने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संसदलाई बिहीबार मात्र पत्र लेख्नेछ। राष्ट्रपतिले पत्रमा संविधानको धारा ३८ (१) अनुसार, राष्ट्रिय सहमतिको सरकार गठन गठन प्रक्रिया अघि बढाउन आह्वान गर्नेछन्। स्रोतका अनुसार, संसद् अधिवेशन आह्वान गरिसकेकाले असार २१ को बैठकमा सरकार गठनको ‘विजनेस' दिने गरी ४ दिनको मात्र समय दिएर राष्ट्रपति कार्यालयले पत्र लेख्ने संभावना रहेको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सहमतिको नयाँ सरकार बन्ने संभावना अहिलेसम्म नदेखिएको बताए। उनले अहिलेकै गठबन्धनभित्रबाट नयाँ प्रधानमन्त्री चयन हुने उनले बताए। ‘क्यान्टोनमेन्टमा लडाकू रहेसम्म माओवादी नेतृत्वको सरकार बन्न सक्दैन', सिटौलाले भने, ‘अहिलेकै अवस्थामा माओवादीको नेतृत्वको सरकारमा कांग्रेस र कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा माओवादी सहभागी हुने संभावना छैन।'
अन्तरिम संविधानको धारा ३८(९) अनुसार, प्रधानमन्त्री पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्मसोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरी रहने छ।
nagariknews.com