Your Ad Here

जर्मनीसँग अर्जेन्टिनाको लज्जास्पद हार


केपटाउन- जर्मनीले आक्रामक फुटबल खेल्दै शनिबार अर्जेन्टिनालाई ४-० ले पराजित गरी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। तीन पटकको विजेता जर्मनीले स्पेनसँग फाइनलमा प्रवेश पाउन प्रतिस्पर्धा गर्नेछ।
जर्मनीले प्रतियोगितामा ४ गोल गर्दै जितेको यो तेस्रो खेल हो। समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४-० ले पराजित गरेको जर्मनीले नकआउट चरणमा पनि इङ्ल्यान्डमाथि ४-१ को विजय पाएका थियो। 

ब्राजिलपछि प्रतियोगिताबाट बाहिरिने अर्जेन्टिना दोस्रो दक्षिण अमेरिकी महारथी हो। नेदरल्यान्डसले पनि 'हाइप्रोफाइल' खेलमा पाँच पटकको विजेता ब्राजिललाई अघिल्लो दिन २-१ ले पराजित गरेको थियो। जर्मनीको यस विजयपछि युरोपेली टोलीको युरोप महादेश बाहिर पहिलो उपाधि जित्ने सम्भावना पनि बढेको छ। दक्षिण अमेरिकी टोलीले आयोजना भएका सबै महादेशमा प्रतियोगिता जिते पनि युरोपको उपाधि उनीहरूको आफ्नै महादेशभित्र सीमित थियो। दुवै महादेशले ९/९ उपाधि जितेका छन्। युरोपको नेदरल्यान्डस र दक्षिण अमेरिकी टोली उरुग्वेले यस प्रतियोगिताको सेमिफाइनल सुरक्षित गरिसकेका छन्।

भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोजले दुई गोल गर्दै डिएगो म्याराडोनाको अर्जेन्टिनालाई लज्जित बनाएका थिए। विश्वकपमा यो उनको कुल १४औं गोल हो र सर्वाधिक गोल गर्नेमा उनी ब्राजिलका रोनाल्डोभन्दा एक गोलले पछाडि छन्। शुक्रबार आफ्नो ३२औं जन्मदिन मनाउने क्रममा रहेका क्लोजले २००२ र २००६ को विश्वकपमा ५/५ गोल गरेका थिए। २००२ को विश्वकपमा उनले सबै ५ गोल हेडबाट गरेका थिए। राष्ट्रिय टोलीका लागि १ सयौं खेल खेल्दै उनले आफ्नो गोल संख्या ५२ पुर्‍याएका छन्।

दक्षिण अफ्रिकी प्रतियोगितामा यो उनको चौथो गोल हो। सर्वाधिक गोल गर्नेमा उनी अर्जेन्टिनाका गोन्जालो हिगुइन, स्पेनका डेबिड भिआ, स्लोभाकियाका रोबर्ट भिटेक र आफ्नै देशका थोमस मुलरसँगै शीर्ष स्थानमा छन्। उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाउने बलियो सम्भावना रहेका मुलरले दोस्रो मिनेटमा हेड गोल गरी जर्मनीको खाता खोलेका थिए। तर हातले बल जानाजानी रोकेका कारण शनिबार पाएको पहेँलो कार्ड प्रतियोगितामा उनको दोस्रो थियो, जसका कारण उनले सेमिफाइनल खेल गुमाउने छन्।


दोस्रो मिनेटमै गोल गरी जर्मनीले स्वर्णिम सुरुवात गरेको थियो। बास्टिएन स्वेनसटाइगरको क्रसमा थोमस मुलरले हेडमा जर्मनीको खाता खोलेका थिए। आफ्नो १ सयौं अन्तर्राष्ट्रिय खेल खेलिरहेका मिरोस्लाभ क्लोजले ६८औं मिनेटमा दोस्रो गोल गरे। लुकास पोडोलस्कीको पासमा क्लोजले सामान्य ...ट्यापिङ' मा गोल गरेका थिए।

रक्षक एर्ने फ्रिइडरिचले ७४औं मिनेटमा तेस्रो गोल गरे। स्वेनसटाइगरले निकालेको पासमा उनले सो गोल गरेका थिए। ८९औं मिनेटमा क्लोजले चौथो गोल गर्दै अर्जेन्टिनालाई लज्जास्पद हार चखाएका थिए। प्रतियोगितामा यो उनको चौथो गोल हो।

जर्मनीले २००६ को विश्वकप पनि अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमै पराजित गरेको थियो। ब्राजिलसँगै सबैभन्दा बढी ७ पटक फाइनल खेलिसकेको जर्मनीले १९९० मा पछिल्लो पटक उपाधि जितेको थियो। जर्मनीले उपाधि जित्नेक्रममा फाइनलमा अर्जेन्टिनालाई नै पराजित गरेको थियो। त्यसयता अर्जेन्टिना सेमिफाइनल पनि पुग्न सकेको छैन।

खेल सकिएपछि म्याराडोना र उनकी छोरी जियान्निना।

अर्जेन्टिनाका कोच म्याराडोनालाई खेलपछि अंगालो हाल्दै छोरी जियानिन्ना


स्पेनको समुद्री किनारमा जर्मनीको जितको खुसी मनाउँदै जर्मन फ्यान।