Your Ad Here

‘पराजयपछि म्याराडोना लागूऔषधको लतमा फर्केका छैनन्'





ब्युनर्स आयर्स, असार ३० (एजेन्सी)- डिएगो म्याराडोनाका व्यक्तिगत चिकित्सकले विश्वकप क्वार्टरफाइनलमा जर्मनीसँग ४-० को पराजय भोगेपछि पनि अर्जेन्टिनी प्रशिक्षक लागूऔषध र रक्सीको लतमा नफर्केको बताउँदै उनको स्वास्थ्यस्थिति पूर्ण ठीक भएको बताएका छन्। जर्मनीसँग लज्जाजनक पराजय भोगेर उपाधिको मुख्य दाबेदार घर फर्किएपछि ४९ वर्षीय म्याराडोनाले निराश भएर पुन लागूऔषध र रक्सीको सहारा लिन 
थालेको चर्चा चलेको थियो।‘पक्कै पनि उनी केही निराश छन्। उनमा डिप्रेसनको समस्या छैन। संचारमाध्यमले भनेझैं कुनै समस्या छैन। उनी मजाले सुतिरहेका छन्,' डाक्टर अल्फ्रेडो काहेले भने, ‘अर्जेन्टिना विश्वकपको दाबेदार थियो, क्वार्टरफाइनलमै फराकिलो पराजय बेहोर्दा प्रशिक्षकलाई दुःख लाग्नु स्वाभाविक हो। उनी आफै पनि विश्वस्तरीय खेलाडी हुन्। जित र हारलाई स्वाभाविक लिनसक्ने गुण उनमा अरुभन्दा धेरै छ।'
दक्षिण अफ्रिकाबाट देश फर्किएपछि ब्युनर्स आयर्सस्थित घरमै सीमित भएका म्याराडोनाले अझै राष्ट्रिय टोली प्रशिक्षकका रूपमा निरन्तरता दिने वा नदिने निर्णय गरिसकेका छैनन्। अर्जेन्टिनामा फुटबल संघ, सरकार, खेलाडी तथा समर्थक सबैले उनलाई निरन्तरताका लागि अनुरोध गरिसकेका छन्।
‘मैले पनि हारपछि उनलाई स्वाभाविक अवस्थामा पाउने अपेक्षा गरेको थिइनँ, तर उनी स्वाभाविक अवस्थामा छन्। खाली उनलाई जितबाट टाढिनुपरेकोमा रिसचाहिँ उठेको छ,' काहेले भने, ‘उनी फुटबलमै नयाँ भविश्य खोज्दै छन्, उनले हामीलाई फुटबलकै माध्यमबाट अझ धेरै खुसी दिने छन्।' 
nagariknews.com