४०१ को समर्थन नभए खनालले फिर्ता लिने
काठमाडौं, साउन ४ (नागरिक)- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिएपछि प्रधानमन्त्री पदमा मुख्य तीन दलका नेताबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार पाँच बजेसम्म संसदको महासचिव कार्यालयमा पुष्पकमल दाहाल, रामचन्द्र पौडेल तथा झलनाथ खनालको उम्मेदवारी दर्ता भएको छ।
काठमाडौं, साउन ४ (नागरिक)- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिएपछि प्रधानमन्त्री पदमा मुख्य तीन दलका नेताबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार पाँच बजेसम्म संसदको महासचिव कार्यालयमा पुष्पकमल दाहाल, रामचन्द्र पौडेल तथा झलनाथ खनालको उम्मेदवारी दर्ता भएको छ।
एमालेले प्रानमन्त्रीमा खनाललाई उठाउने निर्णय गरेको २० मिनेटपछि पोलिट्ब्युरो बैठकले गरेको निर्णय लिएर संसद भवन पुगेका माओवादी अध्यक्ष दाहालले भने- 'विगतको सरकारले शान्ति र संविधानलाई अघि बडाउन सकेन, त्यसैले विगतको जस्तो सरकार नबनोस् भन्ने चाहना छ।' दाहालले भोलि ११ बजेसम्म सहमतिका लागि प्रयास गर्ने त्यसपछिको अवस्थालाई हेर्दै अघि बढ्ने बताएका छन्। शान्ति र संविधान सुनिश्चित हुने गरी राष्ट्रिय सरकार बन्छ भन्ने आशाले आफूले मनोनयन दर्ता गराएको उनले दाबी गरे।
अध्यक्ष दाहाललाई उम्मेदवार बनाउने निर्णय गरे पनि माओवादीको संस्थापन पक्षले एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने संकेत दिएको छ। अध्यक्ष दाहालको उम्मेदवारी दर्ता गरे लगत्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो कुरा लुकाउन सकेनन्। मिडियाकर्मीको प्रश्न सामना गर्दै उनले भने, 'एमालेको निर्णयका कारण सोमबारको पोलिट्ब्युरो निर्णयमा अडिग रहन सक्ने अवस्था छैन',- दाहालको उम्मेदवारीमा समर्थक बसेका श्रेष्ठले जानकारी दिए। अन्तिम समयमा रणनीति फेर्न खप्पिस माओवादीको संस्थापन पक्षका नेता श्रेष्ठले संसद भवनमा यसो भन्न समेत भ्याए- 'हामीलाई एमालेको निर्णयले गर्दा आप्ठ्यारो पर्यो। एमालेले जुन निर्णय गरेको छ। त्यसैका कारणले हामीले उम्मेदवारी दिनुपर्यो।'
एमाले केन्द्रीय कमिटीले खनाललाई प्रधानमन्त्रीको प्रत्यासी बनाउने निर्णय गरेको २० मिनेटपछि माओवादीले दाहाललाई आफ्नो दलको उम्मेदवार चयन गरेको थियो।
अध्यक्ष खनाललाई एमालेले दुई तिहाइ बहुमत हुने अवस्थामा मात्र मतदानमा भाग लिने म्यान्डेड दिएको छ। त्यसका लागि माओवादी वा कांग्रेसको साथ लिनु खनालका लागि महत्वपूर्ण हुनेछ। '४०१ बन्ने स्थिति बनेन भने उम्मेदवारी फिर्ता लिन्छौं', खनालले भने- 'दुई तिहाइ बहुमत आउने अवस्था नबने अरु कसैलाई मत नहाल्ने निर्णय हाम्रो पार्टीको छ।' पार्टीका उम्मेदवारको पक्षमा ४०१ प्राप्त नभए एमालेका सभासद्हरुले अन्य उम्मेद्वारहरुको पक्षमा मतदान नगर्ने केन्द्रीय कमिटीको निर्णयले खनाललाई प्रधानमन्त्री बन्न सहज छैन।
मधेसी दल सहितका २२ साना दलले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेका छैनन्। साना दलहरु राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिए पनि उनीहरुको माग शान्ति र संविधान रहँदै आएको छ। दाहाल-खनाल प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराइरहँदा भएको २२ दलको बैठकले सहमतिको सरकार बनाउन नसक्ने ठूला दलप्रति खेद जनाउँदै भोलिको निर्वाचनमा विवेकको मतदान गर्ने निर्णय गरेको छ। यसको मतलब माओवादी निकट रहेका साना दलले माओवादीलाई प्रजातान्त्रिक शक्तिले पौडेललाई मतदान गर्ने सम्भावना छ।
एमालेले बुहमतीय सरकारको लागि कसैलाई सहयोग नगर्ने निर्णय कायम रहेसम्म कांग्रेसका रामचन्द्र पौडेलको पक्षमा सहमति जुट्न सहज छैन। कांग्रेसले आफ्नो नेतृत्वको सरकार गठनको निर्णय गरे पनि आफ्नो पक्षमा सहमति नजुटे कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन। 'मत माग्ने काम जारी छ', रामचन्द्र पौडेलले उम्मेदवारी दर्तापछि भने- 'राजनीतिमा विभिन्न किसिमको संयोग मिल्नुपर्छ। भोलि त भन्न सक्तिन त्यसपछिको परिस्थिति कम्तिमा बहुमत जुटाउने हो।'
दाहाल र खनाल राष्ट्रिय सहमतिका लागि अडिग रहने र कांग्रेसले अरुलाई समर्थन नगर्ने अवस्था रहँदा पौडेलले संकेत गरेजस्तै बुधबार नेपालको ३४ औं प्रधानमन्त्री चुनिने सम्भावना न्युन देखिएको छ। कसैको बहुमत नआएमा बढी मत पाउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ।
nagariknews.com