Your Ad Here

मुना, मदन र भोटे




दीपेन्द्र लामा, काठमाडौं, साउन ९- नाटक 'डल्स हाउस'मा 'नोरा' बनेकी निशा शर्मा शनिबार गुरुकुलमा 'मुना'को भूमिकामा रिहर्सल गर्दैथिइन्। हेनरिक इब्सनको नाटकमा नोराले लोग्नेको घर छाडेर विद्रोह गर्छे। तर, लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन'मा चाहिँ विदेशिएको लोग्नेको वियोगमा पिरोलिन्छे 'मुना'। 'रोल फरक छ, त्यसैले मिहेनत गर्दैछु,' निशाले भनिन्।
आरोहणले बेइजिङमा मञ्चन गर्न लागेको 'मुनामदन'मा मदनको भूमिका अनिल पोखरेलले निर्वाह गर्नेछन्। उनी पनि निशासँग दाह्रीसहित रिहर्सल गर्दैथिए। 'सपनाको साबिती' नाटकमा मुसलमान पात्र बनेकाले उनको दाह्री काट्न नमिलेको हो। अनिलले 'मदन'को भूमिकालाई अवसर र चुनौती दुवै मानेका छन्।
अर्को महŒवपूर्ण पात्र भोटेलाई सौगात मल्लले जीवन्त पार्नेछन्। सौगातले यसअघि 'कागबेनी' फिल्ममा हिमाली पात्रको अभिनय गरिसकेका छन्। ज्यान र हुलियाले गर्दा उनलाई भोटे बन्न सजिलो भएको छ।
नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्षगाँठको अवसरमा 'मुनामदन' मञ्चन गर्न लागिएको हो। बेइजिङस्थित नेपाली राजदूतावासले साउन १८ मा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा नाटक देखाउन गुरुकुलको २३ सदस्यीय टोली साउन १४ मा चीन प्रस्थान गर्दैछ।
समय थोरै भएकोले 'मुनामदन'को रिहर्सल दैनिक १० घन्टा चलिरहेको छ। 'राम्रोसँग सुत्न पाइएको छैन,' नाटकका निर्देशक सुनिल पोखरेलले भने, 'सपनाको साबिती नाटकलाई निरन्तरता दिइएकोले पनि हाम्रो टोलीलाई धपेडी भएको हो।'
'मुनामदन' चिनियाँ भाषामा अनुवाद भइरहेको र यो नेपाल-चीन सम्बन्धमाथिको कथा भएकोले मञ्चनका लागि रोजिएको सुनिलले बताए। देवकोटाले छन्दमा लेखेको यो खण्डकाव्यलाई गद्यात्मक शैलीमा मञ्चन गरिँदैछ। छन्दमा लेखिएका हरफहरूलाई कवि विप्लव प्रतीकले गद्यात्मक संवादमा रूपान्तरण गरिदिएका छन्। संवादको एक ठेली उनको हातमा सधैं हुन्छ, किनभने उनी पनि नाटकमा अभिनय गर्दैछन्।
नाटकको भाषा नेपाली भएकोले संवादलाई कम र कोरियोग्राफीलाई बढी प्राथमिकता दिइएको छ। कोरियोग्राफीको जिम्मेवारी अर्जुन बिसीले सम्हालिरहेका छन्। करिब सवा घन्टा लामो हुने नाटकमा 'हातको मैला सुनको थैला', 'छेत्रीको छोरो यो पाउ छुन्छ' जस्ता कालजयी हरफहरू भने छन्दमै राखिएको विप्लवले जानकारी दिए।
निर्देशक सुनिलले एकपटक चिनियाँ रंगकर्मीको 'डल्स हाउस' नाटक हेरेका छन्। त्यसबाहेक चीनको वर्तमान रंगकर्मलाई उनले नियाल्न पाएका छैनन्। त्यसैले आरोहणको मञ्चनलाई चिनियाँ दर्शकको कस्तो प्रतिक्रिया आउलान्, उनी अनभिज्ञ छन्।
'परम्परागत र आधुनिक शैलीलाई मिसाएका छौं,' सुनिलले भने, 'नाटक मूर्त पनि छ, अमूर्त पनि छ। शरीरको भाषालाई बढी प्रयोग गरिएको छ।'
नाटकमा अरुणा कार्की मदनकी आमा, सरिता गिरी दिदी, सरस्वती चौधरी नैनी र राजकुमार पुडासैनी गुन्डा बनेका छन्। कमलमणि नेपाल, भोला सापकोटा, खगेन्द्र लामिछाने, वसन्त भट्ट, पशुपति राई, प्रमिला कटुवाल, जानकी चौधरी, सजन थापा मगर, विपीन कार्की र मणिराम पोखेरलको पनि अभिनय रहने 'मुनामदन'मा प्रवीण खतिवडाको ध्वनि संयोजन हुनेछ। बेइजिङमा नाटकले सफलता पाएमा नेपालमा देखाइने सोच निर्देशक सुनिलको छ। 
nagariknews.com