Your Ad Here

रञ्जना फेरि न्युयोर्कमा



काठमाडौं, साउन २८ (नागरिक)- नेपालमा आफ्नो नयाँ फिल्म ‘कन्यादान' चलिरहँदा यसकी हिरोइन रञ्जना शर्मा भने अमेरिकाका स्टेज कार्यक्रमहरूमा व्यस्त रहिन्।
गत असार १२ मा न्युयोर्कबाट सुरु भएको उनको स्टेज कार्यक्रम डेढ महिनापछि न्युयोर्कमै फर्किएको छ। अमेरिकाका विभिन्न १६ वटा सहरपछि उनी शुक्रबार फेरि न्युयोर्कको कार्यक्रममा प्रस्तुत हुँदैछिन्। यसअघि बोस्टन, बाल्टिमोर, लसएन्जल्स, ओरेगन, सन फ्रान्सिस्को, डेनभर, एटलान्टा, जर्जिया लगायतमा कार्यक्रम देखाइसकेकी रञ्जनाले अमेरिकामा यसपालि अन्तिम प्रस्तुति शनिबार वासिंगटन डिसीमा दिँदैछिन्।

‘जानकी' टेलिसिरियलबाट दर्शकमाझ चिनिएकी रञ्जनाले फिल्म ‘मर्यादा'बाट उत्कृष्ट नवअभिनेत्रीको केटिभी अवार्ड पाइसकेकी छिन्। ‘मौसम' फिल्मको कामबाट पनि उनले प्रशंसा पाएकी थिइन्।

यसअघि जापान र मलेसियामा पुगेकी रञ्जनाको यो पहिलो अमेरिका भ्रमण हो। अमेरिकामा उनले आफ्ना फिल्मका र अरू लोकप्रिय नेपाली गीतमा नृत्य पस्किरहेकी छिन्। त्यस्तै आधा दर्जनभन्दा बढी ठाउँमा उनी आफैले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

एभरेस्ट इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा रञ्जनासहित जगदीश समाल, अञ्जु पन्त, मनोज सेवाजस्ता गायकगायिका, फिल्मकर्मी हिमग्याप टासी लामा र नृत्यकलाकारहरू विन्दु तामाङ र आशा कार्की सहभागी छन्।
source: nagariknews.com