Your Ad Here

सलमानको जोडीमा सोनाक्षी



मुम्बई, भदौ १४ (एजेन्सी)- बलिउडमा अब अर्को स्टारपुत्रीको पालो आएको छ। उनी हुन्, सोनाक्षी सिन्हा। अभिनेता शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी 'दबंग' फिल्ममा सलमान खानको जोडी भएर देखिँदैछिन्। भदौ २५ मा रिलिज हुने 'दबंग'मा सोनाक्षीलाई बिहारी युवतीको भूमिकामा हेर्न पाइनेछ। फिल्ममा विनोद खन्ना, डिम्पल कपडिया, अरबाज खान पनि छन्। 
सोनाक्षीले दुई वर्षअघि ल्याक्मे फेसन विकमा क्याटवाक गरेकी थिइन्। उनी बलिउडको दुनियाँमा बुवा शत्रुघ्नको कृपाले आएकी भने होइनन्। सलमान आफैले उनलाई अफर दिएका हुन्।

अभिनेत्री अमृता अरोराको बिहेअघिको मेहन्दी समारोहमा सोनाक्षीले 'मै आई हु युपी बिहार लुट्ने' गीतमा नृत्य गरेकी थिइन्। त्यही नृत्य हेरेर सलमानले फिल्मका निर्माता तथा आफ्ना भाइ अरबाजसँग बिहारी युवतीको भूमिका सोनाक्षीलाई दिँदा सुहाउने सुझाव दिएका थिए।
त्यति नै बेला सलमानले सोनाक्षीलाई शत्रुघ्नको 'खामोस' शब्द उच्चारण गर्न लगाए। सोनाक्षीले यति आकर्षक ढंगमा त्यो शब्द भनिन् कि अरबाजले तुरुन्तै सलमानको कुरा स्वीकार गरे।
सोनाक्षीले 'दबंग' रिलिज नहुँदै अरबाजको अर्को फिल्म, साजिद नाडियडवालाको 'किक' र साजिद वाजिदको नयाँ फिल्ममा काम पाइसकेकी छिन्।
source: nagariknews.com