
काठमाडौं, भदौ १६ (नागरिक)- विभिन्न जिल्लाका १८ युवतीबीच मिस नेपालको उपाधि जित्न बुधबार अन्तिम प्रतिस्पर्धा हुँदैछ। डाबर स्पेशल हिडन ट्रेजर मिस नेपाल प्रतियोगितालाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो। त्यसपछि त्यो संख्यालाई २४ मा छाटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो।
सदिक्षा श्रेष्ठ, वर्षा श्रेष्ठ, विनीता थापा, इशा खड्गी, सुजाता स्वाँर, अनिता आचार्य, अजिता सिंह, चाँदनी देवाजु, संयुक्ता तिम्सिना, प्रिया रानी लामा, सुप्रिया केसी, सहाना बज्राचार्य, समृद्धि राई, प्रिना महर्जन, कुसुमाञ्जली केसी, रक्षा थापा, चान्दनी अन्सारी र अस्मिता घिमिरे बुधबार भिड्दैछन्।
सहभागीहरूलाई कमला श्रेष्ठले हेयर केयर, राजेश धाख्वाले ड्रेस कोड/डिजाइन, राजेश घिमिरेले शृंगार/हेयर स्टाइलको बारेमा जानकारी दिएका थिए। त्यस्तै गरी डा अलिल दासले स्किन केयर र राजभाइ सुवालले फोटोग्राफी/पोस्चर आदिको बारेमा तालिम दिएका थिए। यस वर्ष पहिलो पटक जेसिआईका वर्ल्ड प्रेसिडेन्ट रोलान्द क्युमेनले प्रतियागीहरूलाई लिडरसिप तालिम दिएका थिए।
यस वर्षको मिस नेपाल कार्यक्रमको मुख्य विषय वातावरण परिवर्तन रहेको छ। यस पटकको मिस नेपालको प्रायोजन डाबर स्पेशल हेयर आयलले गरेको छ।
मिस नेपाल बन्नेलाई ५० हजार नगद र चेरी कार प्रदान गरिनेछ। फस्ट रनरअपलाई ३५ हजार र महिन्द्रा रोडियो स्कुटर र सेकेन्ड रनरअपलाई २५ हजार प्रदान गरिनेछ। प्रतियोगितामा डाबर वाटिका मिस ब्युटिफुल हेयर, फेम मिस ब्युटिफुल कम्प्लेक्सन, ब्ले मिस फोटोजेनिक, अर्बिट मिस पर्सनालिटी, रियल मिस ट्यालेन्ट, सेफ्टी मिस वाल्क, हिडन ट्रेजर पब्लिक च्वाइस र गणपति मिस फ्रेन्डसिप जस्ता टाइटल समेत समावेश गरिएका छन् र प्रत्येक टाइटलमा १० हजार पुरस्कार राखिएको छ।
यस पटक प्रतियोगितामा चासो राख्नेहरूले एसएमएसवाट आफूलाई मन परेको प्रतियोगी छान्ने अवसर दिइएको छ।
source: nagariknews.com