मनोज दाहाल - अमृता ज्ञवाली, २१, का आँखा आकर्षक छन्। कपाल रेसमी छ। ओठ फक्रेका छन्। नाकको देब्रे कुनाको कोठीले झनै राम्री देखिएकी छन्। फराकिलो अनुहारमा आकर्षक मुस्कान बोकेर उनी वजनदार कुरा गर्छिन्, मनोविज्ञान र समाजशास्त्रमा स्नातक जो गर्दैछिन्।
एसएलसी प्रथम श्रेणी, लक्ष्य- साइकोलोजिस्ट।
तपाईंलाई के लाग्छ, उनी मोडल बन्न सक्दिनन्?
मस्तिष्कबाट शरीरका सारा अंगमा संवेदना सञ्चार गर्ने काम मेरुदण्डका स्नायुले गर्छन्, जसलाई सुषुम्ना भनिन्छ। प्रेमीले हात सुम्सुम्याउँदा तपाईंमा कुनै संवेदना हुनेछैन- मेरुदण्ड नभए!
१८ वर्षअघि सडक दुर्घटनामा अमृताले त्यही मेरुदण्ड गुमाइन्। परिवारका सारा सदस्य पनि गुमे। सात वर्ष उपचार गरेपछि बल्ल उनी ह्विलचेयरमा बस्नसक्ने भइन्। अहिले हिँडडुलको एउटै माध्यम ह्विलचेयर हो। नक्सालस्थित एसओएसको होस्टलबाट त्रिचन्द्र कलेज पुग्न उनलाई ह्विलचेयरमा आधा घन्टा लाग्छ।
तपाईंलाई के लाग्छ, उनी मोडल बन्न सक्छिन्?
जवाफ पाउन अर्को आइतबार (असोज ३ गते) साँझ सोल्टी होटल आउनुस्, जहाँ एउटा फेसन सोमा अमृता र्याम्पमा देखिनेछिन्, मोडलका रूपमा। उनीसँगै मेरुदण्ड सग्लो नभएका अरू सातजना ह्विलचेयरमै र्याम्पमा उत्रिनेछन्। सिक्वेन्सको नाम हुनेछ- इन्स्पाइरेसन। अर्थात् प्रेरणा।
धन्यवाद छ भगवानलाई, जसले अमृताको आधा मेरुदण्डमात्र नष्ट गरिदिए। मेरुदण्डको आधा भाग काम नगर्ने भएकाले अमृताका खुट्टामा कुनै संवेदना हुँदैन तर हातसम्म मस्तिष्कको तरंग पुग्छ। अर्थात उनको सुम्सुम्याइमा झंकार हुन्छ।
तिनै राम्रा हातका लाम्चा औंला नचाउँदै कुसेऔंसीका दिन जोरपाटीस्थित एसओएस बालग्राममा बुबाको मुख हेर्न आएकी अमृताले भनिन्, 'मेरा खुट्टा चल्दैनन् भन्दैमा म मोडल नै बन्न सक्दिनँ?'
परिवार गुमाएपछि जोरपाटी एसओएसको छोरी भएर हुर्केकी अमृताका लागि त्यहीँका निर्देशक रविन नेपाली बुवा हुन्, अरू सयौं एसओएसका छोराछोरीले मानेजस्तै। आफू हुर्केको ब्लकमा आफूजस्तै दस शारीरिक रूपमा कमजोर बालबालिकाको हेरचाह गर्ने महिला उनकी आमा हुन्। एसएलसीपछि जोरपाटीबाट नक्साल सरे पनि उनी चाडबाडमा बुबाआमा भेट्न आइरहन्छिन्।
जोरपाटी एसओएसकी काउन्सिलर नर्स रमा कार्कीले झन्डै एक वर्षअघि उनलाई मोडल बन्न हौस्याइन्। 'मोडलिङमा रुचि छ भने किन यो क्षेत्रको ढोका ढक्ढक् नगर्ने' भन्दै अमृताका तस्बिर साइबर संसार डटकमलाई पठाइदिइन्। साइबर संसारका अभिनव कसजु अमृताको व्यक्तित्वबाट प्रभावित भए। मोडलका तस्बिर राख्ने यो वेबसाइटले गत पुसमा उनको कभरेज गर्यो- सम्भवतः नेपालकै पहिलो ह्विलचेयर मोडलका रूपमा। गोदावरीमा फोटोसुट हुँदा अमृता मख्ख परिन्, मोडल बन्ने चाहना जो पूरा भएको थियो।
त्यसपछि रमा र अमृताले नमुना कलेज अफ फेसन टेक्नोलोजीको ढोका ढक्ढक्याए जसले यी सुन्दरीको र्याम्पमा उत्रिने धोको पूरा गर्दैछ, अर्को साता। कलेजकी विद्यार्थी तथा आयोजकमध्ये एक ऋतु श्रेष्ठका अनुसार पहिरन प्रदर्शनीका पाँचवटा सिक्वेन्समध्ये 'स्पेसल' खन्डमा अमृताको टोली र्याम्पमा देखिनेछ।
संगीतकार न्ह्यु बज्राचार्यले आफ्नो आगामी सिर्जनाको भिडियोमा अमृतालाई लिँदैछन्। न्ह्युका अनुसार वसन्त चौधरीले लेखेका गीतको आगामी एल्बमको कुनै भिज्युअलमा अमृतालाई लिइनेछ। अमृताले भनिदिइसकेकी छन्, 'असहाय, दुःखी, निराश गीतमा म खेल्दिनँ है, आशा, प्रेम र उत्साहका गीतमा मात्र खेल्ने हो!'
मोडलिङलाई पेसाचाहिँ नबनाउने?
'नबनाउने, म त साइकोलोजिस्ट बन्ने हो,' अमृता मुस्काइन्।
एकै निमेषमा गम्भीर हुँदै बोलिन्, 'शारीरिक रूपमा अक्षम भएपछि मानिसमा विभिन्न मनोवैज्ञानिक जटिलता आउँछन्। मजस्तो स्पाइनल कर्ड इन्जर्डले नै उनीहरूको मनोविज्ञान बुझ्न सक्छ। मैले त आफ्नो अवस्था स्वीकार गरिसकेकी छु, तर सबैले यस्तो अवस्था उही रूपमा स्वीकार गर्न सक्दैनन्। त्यसैले म साइकोलोजिस्ट बन्नुपर्छ, शारीरिक अशक्तलाई समाजमा पुनर्स्थापित गर्न।'
स्पाइनल कर्ड इन्जर्डका लागि काम गर्ने एउटा संस्थाकी फोकल पर्सन पनि हुन् उनी।
जोरपाटी एसओएसको चौरमा ह्विलचेयर गुडाउँदै अमृताले ब्लकहरूमा बाबुको मुख हेर्ने दिन मनाइरहेका शारीरिक अशक्त बालबालिकातिर औंला तेर्स्याउँदै भनिन्, 'यी सबैमा आशा र साहस जगायो भने यहाँ नहुने के छ?'
source: nagariknews.com