एकादेशमा राजेश हमाल भन्ने गुरु थिए । उनी जंगलमा तपस्या गरी बसेका थिए । जंगलको बीचोबीच उनको कुटी थियो । जीवनलाई बुझेर बुद्धत्व प्राप्त गर्न जंगल पसेका सहरका हमाललाई जंगली मानिस 'इकु'ले भेट्छ । 'इकु'सँग हमालको मित्रता हुन्छ । सञ्चिता लुइँटेलको प्रेममा निराश रमित ढुंगाना पनि जंगल छिर्छन् । उनले हमाललाई गुरु थाप्छन् । जब गुरु हमाललाई समस्या पर्छ, रमित र इकुले सघाउँछन् । रमितको प्रेमको समस्यामा पनि गुरु हमालको जुक्ति काम लाग्छ । गुरुका अर्का चेला राजबल्लभ पनि छन् । उनी भने सुष्मा कार्कीको प्रेमजालमा परेर सहरमै बस्छन् । चलचित्रको अन्त्यमा सबै चेला एकजुट भएर गुरु हमाललाई गुरुदक्षिणा दिन्छन् । यो नै चलचित्र 'गुरुदक्षिणा'को कथासार होइन, तर चलचित्रको वेबसाइटमा भएको कथासार नपढी पोस्टर हेरेको भरमा यसको कथा यस्तै हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । चलचित्रको कथा जे-जस्तो भए पनि यसमा बालबालिकाका पि्रय चरित्र इकु अर्थात् सुलेमान शंकरलाई राजेश हमालसँग अभिनय गराइएको छ, त्यो पनि इकुकै भेषमा । 'इकुको चर्चित चरित्रलाई दुरुस्तै उतारेर 'क्यास' गर्न खोजिएको हो ?' निर्माता प्रकाश पौडेल भन्छन्- 'जे भने पनि हुन्छ । हाम्रो कथामा एउटा जंगली मान्छेको भूमिका थियो । त्यसैले सुलेमानलाई खेलायौं ।'
source: saptahik