दीपेन्द्र लामा-
सबै ‘पार्टपुर्जा' चल्यो भने मात्र ‘सिस्टम'ले काम गर्छ। इन्जिन जतिसुकै बलियो किन नहोस्, पांग्रा भएन भने गाडी गुड्दैन। 'दासढुंगा' फिल्ममा एउटा पात्र छ, इन्स्पेक्टर किरण कुँवर। ऊ अनुसन्धान गरेर मदन भण्डारी र जीवराज आश्रितको हत्यारासम्म पुग्न चाहन्छ। तर, पांग्रा नभएको गाडीको इन्जिन जस्तै हुन्छ उसको हविगत। जति मच्चिए पनि, जति चर्किए पनि जहीँको तहीँ।
रंगकर्मी अनुप बरालले निर्वाह गरेको पात्र किरण ‘सिस्टम' फेल भएको एउटा परिवेशमा कैद छ। उसले जस्तोसुकै गन्ध पत्ता लगाए पनि उसका हाकिम र सिंगो कानुनी संरचनाको घ्राणशक्ति अपहरित छ। 'ग्रहण लागेको घाम'लाई ऊ नांगो आँखाले हेर्छ र 'ज्योति' गुमाउँछ।
‘हाइपोथेसिस'हरूले भ्रामक बनेको दासढुंगा घटनाको उत्खनन गर्ने क्रममा ऊ आफै भ्रमको दुनियाँमा फस्न पुग्छ। उसले जे महसुस गर्छ, अरूका लागि भ्रम हो। तर, उसको लागि भने त्यही सत्य हो। उसलाई भ्रमले कतिसम्म छोप्छ भने फिल्म हेर्ने कतिपय दर्शक पनि भ्रमित हुनसक्छ।
ठूलो विषय टिप्दैमा फिल्म विशेष हुने होइन। विषय सानो वा ठूलो जस्तोसुकै भए पनि फरक पर्दैन। मुख्य कुरा विषयको संवेदनशीलताप्रतिको न्याय हो र 'दासढुंगा'का निर्देशक मनोज पण्डितको तारिफ यही परिपक्वताको कारणले मात्र गर्न सकिन्छ।
कुनै पनि रहस्यको पर्दाफास गर्नु फिल्म निर्देशकको सरोकार होइन। उसले शान्त पोखरीमा ढुंगा फ्याँकेर तरंग पैदा गर्न भने सक्छ। यो जिम्मेवारीमा मनोज सफल छन्। दासढुंगामा जिप खसेको दृश्य समावेश गरिएको भए उनको 'जहाज' पूरै डुब्थ्यो।
नेपाली फिल्मका अधिकांश कलाकारलाई अभिनय सम्बन्धी एउटा भ्रम छ। त्यो हो, अभिनय भनेको देखिने हुनुपर्छ। 'दासढुंगा'का कलाकारहरूले चाहिँ नदेखिने अभिनय गरेका छन्। अनुप बराल र अमर लामा बनेका दयाहाङ राईले अभिनेता र सहअभिनेताको नेसनल फिल्म अवार्ड किन पाए? जवाफ 'दासढुंगा'ले दिन्छ।
नेपाली फिल्मका अधिकांश कलाकारलाई अभिनय सम्बन्धी एउटा भ्रम छ। त्यो हो, अभिनय भनेको देखिने हुनुपर्छ। 'दासढुंगा'का कलाकारहरूले चाहिँ नदेखिने अभिनय गरेका छन्। अनुप बराल र अमर लामा बनेका दयाहाङ राईले अभिनेता र सहअभिनेताको नेसनल फिल्म अवार्ड किन पाए? जवाफ 'दासढुंगा'ले दिन्छ।
अनुसन्धातामात्र होइन कलेजमा अंग्रेजी पढाउने शिक्षकको भूमिका पनि अनुपलाई सुहाएको छ। उनकै स्वभाविक अभिनयले भूमिका सुहाउँदो देखिएको हो। त्यस्तै, महाअभियोगमा मुछिएका अमर लामाको पतित मानसिकता दयाहाङको अनुहारमा झल्किन्छ।
विम्बात्मक दृश्यले फिल्मको कथा सम्प्रेषण आयामिक बनेको छ। किरणकी पत्नी (सञ्चिता लुइँटेल)को गर्भ तुहिँदा दासढुंगाको बारेमा गरिएका सबै अनुसन्धान खेर जाने पूर्वसंकेत मिल्छ। किरणले कलेजमा सेक्सपियरको 'ओथेलो' नाटक पढाएको प्रसंग सपाट छैन। पत्नी देस्देमोनालाई मारेपछि 'न्याउरी मारी पछुतो'को अवस्थामा रहेको ओथेलोको वियोगलाई किरणको जीवनसँग जोडिएको छ।
सेतो पहिरनमा आएको किरणले कालो पहिरनमा रहेको पात्र (सौगात मल्ल)लाई मार्छ र किरण स्किजोफ्रेनिया नामको मानसिक रोगबाट बौरिन्छ। आफ्नै नकारात्मक पक्षमाथि विजय पाएको अर्थ यसले दिन्छ। पात्रको यस्तो मानसिक स्थितिको चित्रण नेपाली फिल्ममा नौलो हो।
कीर्तिपुरमा किरणले अमर लामाको ज्यान जोगाएको दृश्यको उपस्थिति फिल्ममा रोचक छ। यो दृश्यले दिनदहाडै मारिएका अमरको जीवन बचाउन नसक्ने सामाजिक संयन्त्रप्रति हल्का व्यंग्य गर्दै किरणको मानसिक समस्यालाई (ढिलै भए पनि) उजागर गर्छ। अमर लामा मारिएको दृश्यलाई द्वन्द्वनिर्देशक अष्ट महर्जनले 'रियालिस्टिक' बनाएका छन्।
अमरको बयानबाट सुरु हुने 'दासढुंगा'को पूर्वाद्धको अघिल्लो चरण लामा-लामा सोधपुछका दृश्यले पट्यारलाग्दो बनेको छ। पटकपटकको सोधपुछमा एउटै कुरा दोहोरिन्छ, नयाँ तथ्य आउँदैन। त्यतिबेला फिल्मको संरचना टुटेको भान हुन्छ। किरणलाई लागेको मानसिक रोग स्किजोफ्रेनियालाई फिल्मले दृश्यमार्फत् स्थापित गर्न सकेको छैन। यो संवादमै सीमित छ। किरणले देख्ने पात्र, उसकी पत्नीले नदेखेको प्रसंग गाँसिएको भए स्किजोफ्रेनियाको लक्षण प्रष्ट हुनसक्थ्यो।
दासढुंगाको अनुसन्धानसँग किरणको व्यक्तिगत कारण जोडिएको छैन। अनुसन्धानमा ऊ समर्पित हुनुको अरू कारण पनि फिल्ममा खुलाइएको छैन। बरु, मदन भण्डारीको शव र उनलाई श्रद्धाञ्जली दिएका फुटेज राखेर फिल्ममा सहानुभूतिको दिशा मोडिएको छ। किरणप्रतिको सहानुभूति बलियो बनाउन सकिएको छैन। फिल्मको अन्त्यसँगै दर्शकमा एउटा संवेदनाको निर्माण भएको हुन्छ। त्यो संवेदना फिल्म निर्देशकको ठूलो पूँजी हो। 'दासढुंगा'ले पनि अन्तिममा गहिरो संवेदना जगाउँछ। तर, फिल्म सिद्धिएपछि जोडिएका नेताहरूका अन्तर्वार्ताले त्यो संवेदना तुरुन्तै भत्काइदिन्छ।
कोरियाली निर्देशक किम कि दुकको फिल्म 'ड्रिम'ले पार्ने प्रभावसँग 'दासढुंगा'को प्रभावलाई तुलना गर्दा अतिशयोक्ति हुँदैन। जसरी 'ड्रिम' हेरेपछि साँच्चिकै एउटा सपना देखेजस्तो महसुस हुन्छ, त्यसैगरी 'दासढुंगा' हेरेपछि रहस्य, भ्रम र घनचक्करले भरिएको एउटा यात्राको महसुस हुन्छ।
source: nagariknews.com