Your Ad Here

हलिउड स्टारले किने नेपाली सामान




श्याम भट्ट, काठमाडौं, असोज १४- हलिउड स्टार लियोनार्दो डिक्याप्रियो र विल स्मिथले नेपालमा बनेको टपरी रुचाए। अभिनेत्री निकोल किड्म्यानले नेपालमा बनेको पर्स रुचाइन्। काठमाडौंमा फ्याँकिएका प्लास्टिक जम्मा गरेर स्पाइरल फाउन्डेसनले बनाउने यस्ता टपरी, पर्स र अन्य थुप्रै सामग्री हलिउडका निर्देशक, अभिनेता, र निर्माताले पनि किन्दा रहेछन्।  फाउन्डेसनकी उपाध्यक्ष मेरिकिया सिम्सिकका पति जेम्स सिम्सिक हलिउडमा साउन्ड इन्जिनियर भएकाले नेपालको फोहोरबाट बनेका सामान त्यहाँका स्टारसम्म पुगेको हो। लस एन्जलसस्थित सिम्सिकको घरमै यस्तो सामग्री बेच्ने पसल खोलिएको छ। इटालीस्थित उनीहरूको घरमा पनि यस्तो सामान बेच्ने पसल खोलिएको छ।

नेपालमै संकलन गरिएका फोहोरबाट नेपालमै बनाइने यस्ता सामग्री बेच्ने पसल अब लस एन्जलस र इटालीमा मात्र छैनन्, काठमाडौंकै ठमेलमा पनि खुलेको छ। पसलको नाम छ-'रिसाइक्लिङ फर गुडनेस।'
फाउन्डेसनको स्पाइरल क्राफ्ट फर वुमन कार्यक्रमअन्तर्गत सहरका होटल र सिनेमाहलबाट जम्मा गरिएका प्लास्टिकबाट यस्ता सामान बनाइन्छन्। योबाहेक फाउन्डेसनले धादिङका विकट गाउँ तिप्लिङ, सेर्थुङ र लापाका स्थानीयबाट बनाइएका ह्यान्डीक्राफ्टका सामान पनि बेचिरहेको छ। फाउन्डेसनले यो काममा २ सय द्वन्द्वविस्थापित महिला परिवारलाई संलग्न गराएको छ। सामानको बिक्रीबाट आएको रकम फाउन्डेसनले स्वास्थ्य र शिक्षामा खर्च गर्दै आएको छ। नेपाल र भियतनामका गरिबसँग काम गर्दै आएको फाउन्डेसनकी सिम्सिकले बुधबार ठमेलमा पसल उद्घाटन गरिन्।
कला र इतिहासमा विद्यावारिधि गरेकी सिम्सिकले उद्घाटनमा भनिन्, 'इटली र अमेरिकामा त यस्ता सामान बेच्थ्यौं, नेपालमा बेच्न थालेका छौं। प्लास्टिक सामग्री बनाउने धादिङ तिप्लिङका कर्ल तामाङले विदेशबाट यस्ता सामग्रीको प्रसस्त अर्डर आउने गरे पनि अहिले घटेको बताए।
पसलमा बोराको सुतलीले बनेका झोला, पेन्सिलहोल्डर, फ्रेन्डसिप ब्यान्डसँगै प्लास्टिकले बनेका टपरी, झोलालगायतका सजावटका सामान राखिएका छन्। अहिले हजार जना भियतनामी र नेपाली फाउन्डेसनमा आवद्ध छन्।
फाउन्डेसनसँग काम गर्दै आएको हिमालयन हेल्थ केयरकी कार्यकारी अधिकृत सोनी केसी पराजुलीका अनुसार इलामको मेघबहादुर पराजुली सामुदायिक अस्पताल र धादिङको विकट गाउँका हेल्थपोस्ट सञ्चालनमा उसले सघाइरहेको छ।