मेरोसिनेमा १४ असोज २०६७,
चलचित्र : देशनिर्देशक/लेखक/गीतकार : तुलसी घिमिरे
स्टारर : राजेश हमाल, निरुता सिंह, निखिल उप्रेती, मिथिला शर्मा, श्रवण घिमिरे, मुकुन्द श्रेष्ठ, बीएस राणा, हेमन्त बुढाथोकी, नर्वदा घिमिरे, केके लोहार, दीवाकर पाण्डे
निर्माता : श्रवण घिमिरे
संगीत : शम्भुजित बाँस्कोटा
छायांकन : राजु थापा
द्वन्द्व : राजेन्द्र खड्गी
ब्यानर : अजम्बरी फिल्म्स प्राली
बजेट : ४७ लाख
अवधि : २ घण्टा २५ मिनेट
रिलिज : असोज १५ उपत्यका, असोज २९ मोफसल
यथार्थ, गम्भिर र जागरणमुलक चलचित्र निर्देशकका रुपमा पहिचान बटुलेका छन् तुलसी घिमिरेले । 'देश' उनको यस्तै पछिल्लो प्रोजेक्ट हो जुन देशप्रेम र राष्ट्रियताको भावनाले ओतप्रोत छ । सिनेमामा मनोरन्जन भएर पुग्दैन विचार पनि हुनुपर्छ भन्ने उनको मान्यतासँग मेल खान्छ 'देश'ले । जुन कुरा विहिबार आयोजित प्रीमियर सोका क्रममा निर्देशक घिमिरे सबैलाई बताउँदै थिए । लाहुरे, दक्षिणा, देउताजस्ता लोकप्रीय चलचित्र निर्देशन गरिसकेका तुलसीले 'देश'लाई पनि त्यस्तै जागरणमूलक तुल्याउन खोजेका छन् । कथामा नयाँपन नभएपनि राष्ट्रियताको मुद्दा, भ्रष्टाचार, गरिबीका कारण खाडीमा श्रम बेचिरहेका युवाहरुको दुर्दान्त अवस्था, जातिय र उपभोक्तावादी राजनीति गर्ने नेताहरु निश्पक्ष र निडर पत्रकारिता युवाहरुको सपनालाई पर्दामा उतारेका छन् निर्देशकले । २०३० को अन्त्यताका भएको सुखानी विद्रोह, भारतीय सेनामा लड्दै गर्दा मृत्युवरण गर्ने नेपाली र आमनागरिकको शान्तिको चाहना वरिपरी 'देश'ले फन्को मारेको छ ।
होमप्रोडक्सनको चलचित्र 'देश'मा तुलसीले राजेश हमालसँग 'देउता'पछि दोस्रोपटक सँगै काम गरेका छन् । एक्सन हिरो निखिल उप्रेतीसँग उनको पहिलो प्रोजेक्ट हो । निरुता उनको होमप्रोडक्सनकी हिरोइन नै हुन् । आफ्ना ससुरा रन्जित गजमेरलाई रिप्लेस गरेर संगीतकारका रुपमा शम्भुजित बाँस्कोटालाई लिएका छन् तुलसीले । समग्रमा तुलसी निर्देशित 'देश'ले ती आयामलाई छोएको छ जतिबेला नेपाल देशले उस्तै समस्या भोगिरहेको छ ।
कथा : सुखानी विद्रोह र उग्रवादीहरुसँग लड्दा वीरगति प्राप्त गरेको भारतीय सैनिकको कथाबाट फिल्म सुरु हुन्छ । युद्धमा ज्यान दिने सैनिकको नाबालक टुहुरो छोरा भाष्कर (राजेश हमाल)को हेरचाहको जिम्मा बूढीआमा (नर्वदा घिमिरे) माथि आइपर्छ । उक्त बालकमा सानैदेखि राष्ट्रियताको छाप परिरहन्छ । बूढीआमाबाट पाएको कलमको मूल्य स्थापित गर्न उसले निश्पक्ष र निडर पत्रकारिता गरिरहन्छ । भ्रष्टाचार, अराजकता र कर्तुतहरुको पर्दाफास गर्छ उसले । भाष्कर एक साहसी पत्रकार हो । रजनी (निरुता सिंह) मन्त्रीकी छोरी हुन्छिन् र विद्यार्थी नेतृ पनि । रवि (निखिल उप्रेती) पनि विद्यार्थी नेता हो जो गिरिश (मुकुन्द श्रेष्ठ)को पार्टीको युवा नेता पनि । तर, पछिल्लो समय गिरिशको कर्तुत थाहा पाएपछि ऊ पनि गिरिशविरुद्ध लाग्छ । भ्रष्टाचार, अन्याय र अराजकताविरुद्ध एकभएर लड्न उनीहरुले 'जननी' नामक पार्टी खोल्छन् र मिडियामार्फत भ्रष्टाचारीको उछितो काढ्छन् । एकपल्ट खुलामन्चमा आयोजित पार्टीको भेलामा भाष्करको हत्या गिरिशद्धारा परिचालित गिरोहबाट हुन्छ । राष्ट्रियताको पक्षमा लड्ने भाष्करको हत्या गरिन्छ । यद्यपी उसको हत्यापछि पनि राष्ट्रिय मुक्तिको यात्रा रोकिदैंन नयाँ क्रान्तिका लागि रजनी र रविको नेतृत्वमा लड्न चाहनेको लस्कर लागिरहन्छ ।
निर्देशन : प्रारम्भको ३० मिनेटसम्म निर्देशकले दर्शकलाई पूर्णरुपमा आफूमा बाँधेर राखेका छन् । कथाको सुरुआती पटकथालाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ जसका कारण दर्शकहरु पात्रहरुप्रति 'सिम्प्याथी' पोख्न बाध्य हुन्छन् । त्यतिबेलासम्म पटकथाको प्रस्तुतिकरण अवरोध बिना प्रवाहित छ । उक्त समयपछि पटकथा कमजोर बन्दै जान्छ र मध्यान्तरपछि चलचित्र 'अफट्रयाक'मा बगेको छ । राष्ट्रियताको मुद्दा कथाको मुख्य सार भएपनि विकृतिका धेरै पक्षलाई एकैसाथ प्रस्तुत गर्न खोज्दा कथा कमजोर बन्न पुगेको छ । निर्देशक स्वयम पटकथाको प्रस्तुतिकरणमा अल्झिएका छन् । फिल्ममा प्रेमको पक्ष घुसाइएको त छ तर कथा अघि बढ्दै जाँदा प्रेमलाई राजनीतिक कथाले ओझेलमा पारिदिन्छ । सुरुमा प्रेमको भावना दर्शाउने पात्रहरु क्लाइमेक्समा पुग्दा विद्रोही र क्रान्तिकारी बन्न पुग्छन् । हाफटाइमपछि त फिल्मले लगभग दर्शकको सिम्प्याथी गुमाउँछ । सुरुआती तीस मिनेटसम्मको सहानुभूतिलाई निर्देशकले बाँध्न सकेका छैनन् । निर्देशकले पात्रहरुको गतिशिलताभन्दा उनीहरुको संवादलाई निकै जोड दिएका छन् । जसका कारण चलचित्र 'रेडियो ड्रामा' जस्तो बनेको छ जुन बुझ्न आँखा चाहिँदैन कान भएमात्र पुग्छ ।
अभिनय : पात्रहरुको अभिनयमा 'मुभमेन्ट' छैन । पात्रहरुले अभिनय र भावमा भन्दा संवाद र गन्थनमन्थनमा जोड दिएका छन् । अधिकांश पात्रहरुको अभिनयमा कृत्रिमता पोतिएको पाइन्छ । राजेश हमाल निडर पत्रकारको रुपमा राम्रैरुपमा प्रस्तुत भएका छन् तर राजेशले संवादमै भर गरेका छन् । क्लाइमेक्सको उनको अभिनयमा प्राकृतिकता छैन । निरुता सिँहको अभिनयमा नयाँपन छैन । निखिल उप्रेती विद्यार्थी नेताका रुपमा ठीकै छन् । मुकुन्द श्रेष्ठ र बीएस राणा खलपात्रका रुपमा दर्शनिय छन् । निर्देशककी आमा नर्वदा घिमिरेको अभिनय कास्टिङ डिरेक्टिङको रुपमा फिट छ । मिथिलाको भूमिका छोटो छ मीठो छ । हेमन्त बुढाथोकीको अभिनय मन्त्रीका रुपमा राम्रो छ । सिनेम्याट्रोग्राफरले दृश्यमा एङ्गल नाप्न सकेका छैनन् ।
संगीत : शम्भुजित बाँस्कोटाको संगीत प्रशंसनिय छ । फिल्मको बलियो पक्ष भनेको संगीत हो । फिल्ममा तीन गीत छन् तर दुई गीतलाई संगीतकारले कर्णप्रिय तुल्याएका छन् । 'भुइँको फूल टिपेर… र सपनाहरु सजाउँदै…'ले रिलिज अगावै चर्चा बटुलिसकेका थिए । 'एउटा नेपाली दुःखमा…' देशप्रेमले ओतप्रोत गीत त हो तर यो गीतमा उति दम् छैन । उदितनारायाण झा, दीपानारायाण झा, इन्द्रजित मिजार, अन्जु पन्त, दीपक लिम्बु, चाँद गजमेर, नरेन्द्र प्यासी, श्रवण घिमिरेको पाश्र्वगायन कर्णप्रिय छ । पटकथाअनुसार संगीत फिट छ । पटकथाको सेतुको रुपमा संगीत छ ।
ब्यापार : अफसिजनमा चलचित्र रिलिज गरेका छन् घिमिरेले । यो समयमा चलचित्रको कलेक्सन राम्रो हुन निकै गाह्रो पर्ने देखिन्छ । सबै वर्गका दर्शकका लागि फिल्म उपयुक्त छ तर आजको पुस्ताले चाहने फास्ट स्क्रिनप्ले, छोटा डायलग, इन्टरटेन स्टोरी फिल्ममा छैन । मनोरन्जन चाहनेलाई फिल्मले निराश तुल्याउन सक्छ । किनभने आजको पुस्ता थिएटरमा पसेपछि इन्टरटेनमेन्ट चाहन्छ, मष्तिष्कको थकान होइन । मल्टिप्लेक्स र सिङ्गल स्क्रिन दुवैमा चलचित्रको व्यापार कठिन पर्ने देखिन्छ । किनभने दसैंको उत्साहको बेला निर्देशकले 'गम्भीर' कथा लिएर आएका छन् ।
from: merocinema online