Your Ad Here

साना सिनेकर्मीका ठूला सपना

 
काठमाडौ, आश्विन १४ - 'म त एकदम चकित, हाम्रो फिल्मले अवार्ड पाउँदा सक नै भएँ नि ।' हुन त उनी उक्त फिल्मकी पात्र मात्रै हुन् ।

भर्खरै मात्र सम्पन्न बड्स फिल्म फियस्टामा छोटो फिल्म 'लस्ट' ले उत्कृष्ट फिल्मको अवार्ड पाउँदै प्रतिस्पर्धी अन्य ४३ छोटा फिल्मलाई उछिनेपछि यसकी मुख्य पात्र मनीषा विष्ट खुसी भएकी हुन् । 'मेनस्टि्रमका अनुभवी कलाकारले अभिनय गरेको फिल्मलाई समेत उछिन्यो भनेको सुन्दा छक्क परें,' २२ वर्षीया फुरुंग परिन् ।  
पुरानो बानेश्वरस्थित गुरुकुल थिएटरमा मंगलबार साँझ सम्पन्न उक्त महोत्सव लम्बिन थालेपछि घर जान हतारिएकी मनीषाले आफू अभिनीत फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको घर नपुग्दै फोनमार्फत् सुनेकी थिइन् ।
सुरुमा साथीभाइलाई देखाउने अभिप्रायले बनाइएको उक्त फिल्मले अवार्ड नै पाएपछि यसका निर्देशक राजन कठैत पनि दंग छन् । 'सिक्नका लागि साथीभाइ मिलेर बनाएका थियौं, पहिलो फिल्मले नै अवार्ड दिलायो,' २२ वर्षेले भने । राजनले फिल्मको सम्पादनक्रममा बड्स फियस्टाका बारेमा थाहा पाएको र पछि छनोटमा समेत परेको सुनाए ।
महिलाको दृष्टिकोणबाट तयार पारिएको २३ मिनेट लामो फिल्म 'लस्ट' गर्दाको अप्ठ्यारो राजनसँग ताजै रहेछ । 'सानो ह्यान्डीक्यामले खिचिएको फिल्मको डबिङ नगरी स्पटमै छुट्टै रेकर्डर राखेका थियौं,' उनले भने, 'एयरपोर्ट क्षेत्रमा सुटिङ गरिएकाले धेरैपटक प्लेनको आवाजले टेक खानुपर्‍यो ।'
प्लेनले गर्दा टेक खाए पनि कलाकारले भने जीवन्त अभिनय गरेको राजन सुनाउँछन् । काठमाडौं विश्वविद्यालय (केयू)की बायो-टेकमा स्नातक उत्तीर्ण मनीषा अभिनयको अनुभव लिएकी नभए पनि पहिलो फिल्ममा काम गर्दा खासै गाह्रो नभएको सुनाउँछिन् । भन्छिन्, 'डायलग घोक्नुभन्दा पनि त्यसको सारअनुरूप चरित्रमा भिजेर अभिनय गर्ने प्रयास गरें, सजिलै भयो ।'
'बरु लोडसेडिङको समस्याले गर्दा कतिपटक मध्यरातसम्म पनि बत्ती कुरेर बस्नुपर्‍यो,' फिल्म सुटिङ गर्दाको क्षण सम्झँदै मनीषाले पछि लोडसेडिङ छल्न कहिले कुनै साथीको त कहिले कुनैकोमा गरिसकेको अनुभव बाँडिन् । पहिलो छोटो फिल्मको अभिनय अनुभवले उत्साहित मनीषा मौका पाएमा मूलधारका फिल्ममा समेत काम गर्न इच्छुक रहेको बताइन् । थपिन्, 'मलाई मिडिया र कलामा विशेष रुचि छ ।'
केयूमै मिडिया स्टडिजमा स्नातक गरिरहेका राजनले भविष्यमा फिल्म निर्माणसम्बन्धी कोर्स गरेर फिल्मकर्मी बन्ने सोच राखेका छन् । छिट्टै अर्को छोटो फिल्मको तयारीमा जुटेका राजनले पहिलो फिल्मको अनुभवले धेरै कमी कमजोरी चिन्ने मौका पाएको मान्छन् ।
स्त्रिmप्टमा आवश्यक अध्ययन नगरीकन बनाइएकाले कथावस्तु जीवन्त हुन नसकेको, हिरोलाई हेरेर कथा लेखिने परिपाटी र कलाकारले भूमिकाअनुरूपको चरित्र निर्वाह गर्न नसक्दाको कमजोरीले गर्दा नेपाली फिल्म राम्रा बन्न नसकेको ठान्ने राजन नेपाली फिल्मको भविष्य भने उज्ज्वल देख्छन् । 'स्वदेशमै फिल्मसम्बन्धी पढाइ हुन थालेपछि शिक्षित फिल्मकर्मी आउन थालेका छन्,' उनी भन्छन्, 'राम्रा विदेशी फिल्म हेर्न अभ्यस्त युवापुस्ता पनि फिल्म मेकिङमा विस्तारै तानिँदै छन् ।'
बड्स फियस्टामा आफ्नो फिल्म पनि प्रदर्शन हुने भएपछि दंगदास परेका 'लस्ट' निर्देशक राजन सेन्सर बोर्डले फिल्म जाँचपास नगराई देखाउन नपाउने भनेर रोकिदिएपछि चिन्तित भएको सुनाए । उनी ६/७ हजार रुपैयाँमा तयार 'लस्ट' जस्तै छोटा फिल्मलाई त्यतिकै मात्रामा पैसा तिरेर सेन्सर गर्नुपर्ने भएमा डकुमेन्ट्री वा सर्टफिल्म पुनः युट्युब वा कम्प्युटरको डेस्कटपमा मात्रै सीमित हुने आशंका गर्छन् ।
तर मनीषा भने सेन्सर गर्ने भन्दैमा नराम्रो मानिहाल्न नहुने तर्क गर्दै बरु त्यसलाई पनि कसरी फिल्मको विकासका लागि प्रयोग गर्न सकिन्छ भनेर सोच्नुपर्ने ठान्छिन् । भन्छिन्, 'सेन्सरलाई गे्रडिङको रूपमा विकास गरे राम्रो हुन्थ्यो कि ।'
from: kantipur online