Your Ad Here

७६ लाखमा गोर्खापल्टन

मेरोसिनेमा २६ कात्तिक,

प्रशान्त तामाङ स्टारर 'गोर्खापल्टन'ले ७६ लाख ग्रस कलेक्सन गर्दै सप्ताहन्तमा राम्रो पिकअप लिएको छ । क्यूबका तीन थिएटर बाहेक डीसीएन सर्भरका बाँकी ४८ मा 'गोर्खापल्टन'ले दोस्रो साताका लागि होल्डओभर कायम गर्‍यो । हल संचालकहरुका अनुसार बुधबारसम्म 'गोर्खापल्टन' हाउसफूल प्रदर्शन भैरहेको थियो । डिजिटल सिनेमा नेपालको विवरण अनुसार लाहुरे र जनजाति बहुल स्थानका सिनेमा घरमा यो चलचित्रले राम्रो कलेक्सन गरिरहेको छ ।

लाहुरे संस्कृतिमा आधारित यो चलचित्रले लाहुरेका सहरहरु पोखरा, धरान, बुटवल, पाल्पा, बागलुङ लगायत स्थानहरुमा ब्यापारलाई बलियो तुल्याएको छ । निर्माता वंशल दाजुभाई पनि 'कोही…मेरो'को घाटालाई 'गोर्खापल्टन'ले उठाउने विश्वासमा छन् । उनीहरुको त्यो विश्वासमा पहिलो साताको ब्यापारले बल पुर्‍याएको छ । मल्टिप्लेक्स र सिङ्गल थिएटर दुवैमा 'गोर्खापल्टन' जबर्जस्त छ । भ्यालीभन्दा पनि मोफसलमा यसको ब्यापार खास छ ।

डीसीएन वितरण प्रमुख दीपक दंगालले पनि 'गोर्खापल्टन'को ओपनिङले आफूहरुलाई उत्साही तुल्याएको बताए । 'फस्टलभ'पछि 'गोर्खापल्टन'मात्रै त्यस्तो फिल्म हो जसले जबर्जस्त कलेक्सन गरिरहेको छ' दंगालले भने 'मौलिक नेपाली चलचित्र भएकाले पनि रेमिट्यान्समा धानिएका दर्शकको दिल मन र मष्तिष्क छोएको छ फिल्मले ।' दोस्रो साता पनि फिल्मले पिकअप लिने विश्वास उनले गरे । डीसीएनको ताजा आंकडा अनुसार 'गोर्खापल्टन'ले 'फस्टलभ'लाई पछ्याइरहेको छ । 'गोर्खापल्टन'को ओपनिङ कलेक्सन 'फस्टलभ'को तुलनामा नौ लाख कम हो । पहिलो सातामै खुम्चिएको छवि ओझाको फिल्म 'कसले चोर्‍यो मेरो मन'को ओपनिङ ६५ लाख थियो ।

वितरक संस्था डीसीएनका प्रबन्ध निर्देशक अशोक शर्मा मंसिरदेखि सिनेमा बजारले गति लिने विश्वास गर्छन् । 'पर्वले सबैलाई अफसिजन गराइदिएको थियो' उनले भने 'मंसिरदेखि गतिला चलचित्रहरुको भीडन्त सुरु हुनेछ ।' गोर्खापल्टनले राम्रो कलेक्सन गर्नुमा मौलिक नेपाली कथा र प्रशान्त तामाङको स्टारडम प्रमुख रहेको उनको ठम्याइ थियो ।

गोर्खापल्टनसँगै रिलिज भएको मदन घिमिरेको चलचित्र 'स्वाभिमान' कमजोर रह्यो । १६ लाख बटुलेको यो चलचित्रले सप्ताहन्तसम्म १० थिएटरमा मात्र समेटिएको थियो । घिमिरेका अनुसार अझै ३५ भन्दा बढी थिएटर सिनेमा चल्न बाँकी छ । गोर्खापल्टनको चपेटामा परेको स्वाभिमानले ओपनिङ पनि राम्रो गर्न सकेको थिएन ।