Your Ad Here

इन्टरनेटमा हिरो !

सुजित महत

 
आश्विन १६ - कांग्रेस केन्द्रीय सदस् य चुनावमा गगन थापाले अग्रता लिएको समाचार अनलाइनमा आएपछि उनको समर्थनमा टिप्पणी गर्नेको संख्या उनले पाएको भोटभन्दा कम्ती थिएन। मतगणनाको सुरुवातमै बधाई दिँदै उनलाई पार्टीको भावी अध्यक्ष र मुलुकको प्रधानमन्त्री बन्न कामना गरिएको टिप्पणीले अनलाइनका पेजहरू भरसिकेका थिए।
'गगन दाइ बधाई छ अब नेपाल बनाउने जिम्मा तपाईंको काँधमा'  लमजुङका बर्किस घिमिरेले टिप्पणी गरेका थिए। 'उदीयमान तारा गगनजस्ताको उपस्थितिले हामी मातृभूमिको राजनीतिक भविष्यमा आशावादी छौं,' त्यही जिल्लाका उत्तम पौडेलले लेखेका थिए।
कसैले नजित्ने प्रधानमन्त्री निर्वाचनको दौर चलिरहेका बेला साउन ९ गते सहमतीय सरकार बने बाबुराम भट्टराई मुलुकलाई नेतृत्व दिन तयार रहेको समाचार आएपछि अनलाइनमा टिप्पणी लेख्नेहरूले समर्थनमा ओर्लिन ढिला गरेनन्। केपी, दिल्लीले लेखे, 'बाबुराम समान योग्य कोही नभएकाले उनलाई प्रधानमन्त्री बनाउन प्रयास गर्नुपर्छ।' 
'एमालेमा आवद्ध भए पनि म बाबुरामलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्छु,' नुवाकोटका श्रीकृष्ण खनालले लेखेका थिए, 'अर्थमन्त्रीको रूपमा छोटै समयमा उनले राम्रो गरेर देखाए। '
स्वदेशमा भए पनि विदेशमा भए पनि प्रायः पाठकको ध्यान राजनीतिका समाचारले धेरै तान्छ। समाचारमा आउने धेरैजसो प्रतिक्रिया निराशाका र नकारात्मक हुन्छन्। तर, गगन र बाबुरामजस्तै प्रहरी उपरीक्षक (एसपी) रमेश खरेल पनि धेरैजसो पाठकका सकारात्मक टिप्पणी पाउनेमा पर्छन्।
वैशाखको दोस्रो साता कास्कीबाट काठमाडौंको प्रहरी प्रमुखमा सरुवा भएको एउटा छोटो समाचारमा पाठकहरूद्वारा व्यक्त प्रतिक्रिया अलोकपि्रय प्रहरी रहेको ठाउँका लागि आश्चर्यजनक थियो। 'खरेल देश र जनतामा समर्पित थोरै पुलिसमा पर्छन्,' पोखराका किशोर शर्माको टिप्पणी थियो, 'लागूऔषध, गुण्डागर्दी र वेश्यावृत्तिबाट पोखरालाई मुक्त गराउने इमानदार र दरिलो पुलिस अधिकृतले राजधानीमा त्यस्तै काम दोहोर्‍याउने अपेक्षा छ।'
अनलाइनमार्फत गरिएका टिप्पणीलाई आधार मान्ने हो भने गगन, बाबुराम र रमेश राजनीतिज्ञ र नेता घृणाको पात्र बनेको मुलुकमा अपवाद हुन्। यिनले लेखेका लामा लेख मात्र होइन यीसम्बद्ध छोटो समाचारमा पनि टिप्पणी गर्नेको तँछाडमछाड हुन्छ। 'यी तीन जनाको प्रशंसामा हजारौं टिप्पणी लेखिन्छन्,' इकान्तिपुरका उपसम्पादक राजेश मिश्र भन्छन्, 'तीमध्ये केहीलाई मात्र ठाउँ दिनसक्छौं, सबै प्रकाशित गर्न सम्भव हुँदैन।'
अनलाइनका पाठकले अरू नेता, कलाकार र खेलाडीका समाचारमा पनि प्रतिक्रिया गरेका छन्। तर, प्रायः ती प्रतिक्रिया मिश्रित हुन्छन्। पक्ष र विपक्षमा बाँडिएका हुन्छन्। माओवादी अध्यक्ष प्रचण्ड यस्तै नेता हुन्। केहीले उनको उग्र समर्थन त केहीले उग्र विरोधमा प्रतिक्रिया लेखेका छन्। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ अर्का बढी प्रतिक्रिया पाउने नेता हुन्। उनीसम्बद्ध समाचारमा उनको समर्थनमा थुप्रै टिप्पणी आएका छन्। कांग्रेस महामन्त्रीमा पराजित भए पनि नरहरि आचार्य समाचारका पाठकका मनमा भने लोकपि्रय छन्। उनका लेखहरूमा समर्थन व्यक्त गर्न पाठकले कञ्जुसी गरेका छैनन्।
सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया जोड्ने हो भने पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारसले पनि पाठकको ध्यान तान्न थालेका छन्। देशमा कामचलाउ सरकार रहेका बेला यी बाबुछोराले सक्रियता बढाउन थालेदेखि नै यिनका विषयमा टिप्पणी गर्न थुप्रैले जाँगर चलाएका छन्।
मानवशास्त्री सुरेश ढकाल सञ्चारमाध्यमले एउटा छवि निर्माण गरिदिएका कारण गगन, बाबुराम र रमेशको लोकपि्रयता चुलिएको बताउँछन्। 'त्यसैले त गगन गैरकांग्रेसी, बाबुराम गैरमाओवादी र रमेश गैरप्रहरीमा बढी मन पराइएका छन्,' उनको भनाइ छ।
कोहीलाई धेरैले मन पराएपछि आफू पनि मन पराउनेको हूलमा मिसिने मानवीय प्रवृत्ति अनलाइन टिप्पणीमा प्रकट भएको उनको ठम्याइ छ। तर केही खुबीकै कारण सञ्चारमाध्यमले उनीहरूलाई मन पराएको चाहिँ उनी स्विकार्छन्। 'तर तिनमा मिडिया ह्यान्डल गर्ने कुशलता रहेको कुरा बिर्सन मिल्दैन,' उनले थपे।
छवि निर्माणमा सञ्चारमाध्यमले सघाएको भन्ने भनाइ रमेश खरेलसँग ठ्याक्कै मिल्छ। दुई दशकअघि सेवा प्रवेश गरेका उनी आमसमुदायमा चिनिएको दुई वर्ष पनि भएको छैन। दक्ष प्रहरी अधिकृतको रूपमा प्रहरीभित्र निकै लोकपि्रय भए पनि डीआईजी कुवेरसिंह राना आमजनतामा चिनिएका छैनन्। बरु  मानवअधिकार उल्लंघनको विवादमा पारेर उनलाई प्रहरी महानिरीक्षक बन्न नदिन उनका प्रतिस्पर्धीले सञ्चारमाध्यम प्रयोग गर्न खोजेका छन्।
२०४६ सालको आन्दोलनका बेला गगन ९ कक्षामा पढ्थे। तर, २०६२/६३ को आन्दोलनले उनलाई गणतन्त्रवादी युवा नेताका रूपमा चिनायो। त्रिचन्द्र क्याम्पस र नेविसंघ केन्द्रीय समिति हुँदै ३४ वर्षको उमेरमा गगन कांग्रेसको १२औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याउने केन्द्रीय सदस्य बने।
पछिल्लो समय गगनको लोकपि्रयता यति चुलिइसकेको छ कि टिप्पणीकर्ताहरूले उनलाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष् देख्न थालिसकेका छन्। 'रामचन्द्रजी छाड्नुस् एक्लै दौडने खेल,' मतगणनाको समाचारमा बबरमहलका नवीन खत्रीले लेखेका छन्, 'बरु गगनलाई प्रधानमन्त्री बनाउँदा कसो होला।'
सबैभन्दा बढी भोट पाएर जितेका समाचार पढेपछि प्रसन्न पाठकहरू थप हौसिएका थिए। पाठकहरूले टिप्पणीमार्फत उनीप्रति ठूलो भरोसा गरेका छन्। 'गगन थापा हामी नेपालीले धेरै आशा र विश्वास गरेका एक मात्र राजनीतिज्ञ हुन्,' बागलुङका राम खत्रीको लेखाइ छ। उनीजस्तै बर्दियाका गोपाल गिरी, शंकर जोशी, झापाकी मुनाले पनि उनलाई बधाई दिए। 
पाठकहरूको यस्तो अपेक्षाले आफूमाथि चुनौती थपिएको उनको अनुभव छ। 'तर बढी हौसिने र डराउनेवाला छैनन्,' उनी भन्छन्, 'खरो उत्रिन इमानदार प्रयास हुनेछ।'   
इजरायलको हिब्रू विश्वविद्यालयमा अध्ययनरत भोजराजले कांग्रेसको मतगणना सुरु भएपछि गगनको विविध पक्षमा नजिकबाट अध्ययन गरेको उल्लेख गर्दै कम्तीमा २ वर्ष विश्वको उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न सुझाव दिएका छन्। उनको तर्क छ, 'यसबाट उनको सोचाइको क्षितिज फराकिलो हुनुका साथै नेतृत्व क्षमता पनि बढ्ने छ। गगन स्वयम् पनि केही समय ब्रेक लिएर अध्ययन गर्न मन लागेको सुनाउँछन्। 'मैले गत वर्ष पनि हावर्ड विश्वविद्यालयमा अप्लाई गरेको थिएँ,' उनले भने, 'यसपालि पनि 'ट्राई' गर्छु।' अमेरिकाबाट सुन्दर श्रेष्ठले आशंका गरेका छन्, 'कुर्सीमा पुगेपछि पनि गगन पनि उही ड्याङका मूला त हुन्।'
'प्रहरीका रूपमा उहिले र अहिले मेरो कार्यशैली उही हो,' रमेश भन्छन्, 'तर त्यतिबेला अहिलेजस्तो सशक्त मिडिया थिएन।' उनी एउटा घटना सम्झन्छन्, ललितपुरमा प्रहरी निरीक्षक हुँदा एक जना धनाढ्य डेनिस राजदूतावासकी सेक्रेटरीसँग गाडीमै यौनक्रीडा गररिहेको अवस्थामा प्रहरीको फेला परे। तत्कालीन एक जना अतिरत्तिm महानिरीक्षकका साथी ती पुरुषले उल्टै प्रहरीमाथि हातपात गरेको सुनेपछि रमेशले घेराबन्दी गरेर तिनलाई थुने। 'भोलिपल्ट मेरो सरुवा भयो,' उनले थपे, 'आज यस्तो घटना दोहोरयिो भने गुपचुप रहन सक्तैन।'
निर्भीक र सक्षम अधिकृतको रूपमा नेपाल प्रहरीभित्र सीमित छवि सिरहाका प्रहरी प्रमुखको रूपमा उनले काम गरेपछि विस्तारति भएको थियो। हत्या र अपहरणका घटना सामान्य भइसकेको सिरहामा अपराध नियन्त्रणमा उनले गरेको प्रयास सञ्चारमाध्यमको नजरमा परेपछि उनी चिनिए। पोखरामा उनले क्यासिनो, यौन व्यवसाय र गुन्डागर्दीमा कडाइ गरेको समाचारले सञ्चार माध्यममा ठाउँ पाए। पोखराबाट सरुवा भएपछि उनी सञ्चारमाध्यममा सकारात्मक चर्चा पाइरहने पात्र बनेका छन्।
खबर पढेकै आधारमा हुनुपर्छ काठमाडौंमा सरुवा भएको समाचारपछि  लन्डनबाट लक्ष्मणले लेखेका थिए, 'गुड न्युज अब गुन्डाहरू समाप्त हुनेछन्।'  'एलजीका गुन्डाहरू फेर िपोखरा आउने भए। बागलुङ बसपार्कका कोठीहरू पनि खुल्ने भए,' नेपाली, इंगल्यान्ड। 'उहाँ पोखरा हुँदा धेरै राम्रो काम भाथ्यो,' दोहाबाट समनले लेखे, 'अब काठमाडौंमा परविर्तन गर्नुपर्छ।'
पोखरामा उनको कार्यशैली देखिसकेकाहरूले त उनको तारिफमा कुनै कञ्जुस्याइँ गर्ने कुरै थिएन। पोखराकै हाकिम गुरुङले लेखेका थिए, 'पोखराका अपराधीका लागि खुसीको खबर अनि काठमाडौंका अपराधीका लागि दुःखको खबर।'
हनुमानढोकास्थित कार्यालयमा हाजिर भएपछि उनले आफूअन्तर्गतका इकाईका प्रमुखहरूलाई जम्मा पारेर घूस नखाई कर्तव्य पालन गर्ने सेवा प्रवेश गर्दाको कसम पुनः खुवाएका थिए। उनले पत्रकार सम्मेलन गरी समस्याको जड प्रहरीभित्रै रहेको स्विकार्दै पहिले प्रहरी सुधारेर अपराधीमाथि नियन्त्रण कायम गर्ने योजना सुनाएको समाचार पढे छि हजारौं पाठकले टिप्पणी लेखे।
'मुलुकलाई अहिले सच्चा पुलिस चाहिएको छ,' राजदूत मधुवन पौडेलले कुवेतबाट लेखे, 'प्रतिबद्धता पूरा होस् भन्ने कामना छ।' यस्ता टिप्पणी र प्रतिक्रियाको ओइरोले संकेत गर्ने कुरा पनि स्पष्ट छ, आशा जगाउने व्यक्तिको देशमा खाँचो छ। यसैले त काठमाडौंका रोशन प्रधानले लेखे, 'थुप्रैथुप्रै खरेल जन्माइदिन पशुपतिनाथसँग कामना गर्छु।' 
सबै टिप्पणी पक्षमै मात्र पनि आउँदैनन्। टिपिकल नेपाली, लन्डनको नाममा आएको प्रतिक्रियाचाहिँ अलि बेग्लै थियो, 'हाहा, पुलिस, आर्मीमा पनि नेताजस्तो भाषण दिने प्रवृत्ति सुरु भयो। बोल्नु र गर्नुमा धेरै फरक छ। सोझो जनतालाई लाटो बनाउने सजिलो आइडिया।'
रमेशलाई भदौ ३१ गते चेन अफ कमान्ड उल्लंघन गरेको भन्दै महानगरीय प्रहरी आयुक्त मदन खड्काले लिखित चेतावनी दिएको समाचार आएपछि पाठकहरू आक्रोश छताछुल्ल भएको थियो। 'राम्रो काम गर्दा हाकिमबाट डराउनु पर्दैन,' आङछिरङि शेर्पा -अमेरकिा) ले लेखेका छन्, 'अघि बढ जनता तिम्रा साथ छन्।' 'एसपी खरेललाई म सलाम गर्छु,' काठमाडौंका रूपकले हौस्याएका छन्, 'तपाई कति पनि विचलित नभई अघि बढ्नोस् हामी तपाईको साथ छौं।' गणेश पौडेलले थपेका छन्, 'रमेश खरेल रक्स, हामीलाई यस्तै पुलिस चाहिया छ।'
धनुषाका कृष घिमिरले व्यङ्ग्यको शैलीमा अरूलाई आरोप लगाएका छन्, 'के गर्नु एसपीसाब डान्सबारको आम्दानी सुकाइदिनुभो। तपाईं पो लिनु हुन्न ठूलालाई त चाहिन्छ नि। तलबले मात्र माथिकाको ठाँटबाँट कहाँ चल्छ ? कुरा नबुझेर व्यर्थमा फसादमा पर्नु भएन ?' कतारबाट राजुको आक्रोश थियो, 'नेपाली जनताले चाहेको जोसिलो इमानदार पुलिस अफिसरमाथि भ्रष्टहरूले गरेको घात हो।' 
'राम्रो काम गर्नेलाई कसैले देखी सहँदैन। बिचरा रमेशजी पोखराबाट पनि लखेटिनुभयो। यहाँ पनि लखेट्ने ? आफ्नै जन्मथलो पुर्‍याउने विचार छ कि क्या हो। चिन्ता नलिनुस् आफ्नै जन्मथलो बनाउनुपर्छ। काभ्रेमा तपाईंलाई स्वागत छ,' राजाराम श्रेष्ठ, भकुन्डे।
अनलाइनमा टिप्पणी गर्नेमा नेपालभित्रका पाठको तुलनामा बिदेसिएका बढी छन्। उग्र समर्थन र उग्र विरोध दुवै खेमामा बाहिरएिका पाठक अगाडि छन्। देशभित्रका धेरैजसो पाठकको टिप्पणी सन्तुलित र 'तटस्थ' हुने गरेको छ। वास्तविक नामबाट भन्दा धेरै बढी प्रतिक्रिया 'निक नाम'बाट आउने गरेका छन्। कसैकसैले चाहिँ आरोपित गर्न पनि यस्ता नाम प्रयोग गर्छन्। धेरैजसोले चाहिँ अरू नै नामबाट लेख्दा मनका कुरा लेख्न सकिने भएकाले यस्तो गर्छन्। 
माक्र्स भुसाल, इंगल्यान्ड यस्तै निक नाम हो। 'पीएचडी गरेपछि क्रान्तिमा होमिएको अरू कुनै नेता छैनन्, मुलुकमा। यो नै देश र जनताप्रति प्रेमको प्रमाण हो। अरू नेताको उनीसँग तुलना हुन सक्तैन,' उनले बाबुरामका विषयमा टिप्पणी गरेका छन्।
पार्टीमा कमजोर भए पनि अनलाइन पाठकहरूबीच बाबुरामले अध्यक्ष प्रचण्डलगायतका सबै नेतालाई उछिनेका छन्। कक्षामा सधैं पहिलो हुँदै एसएलसीमा बोर्ड फस्ट भई पीएचडी गरेका उनी बुद्धिजीवीहरूको रोजाइमा पर्ने हुन्। अर्थमन्त्रीको रूपमा नौ महिना काम गर्दा उनको लोकपि्रयताको ग्राफले उचाइ लियो। भन्सारबाट 'महिनावारी'को अपेक्षा गरिने मन्त्रालयमा उनको स्वच्छ छविको पहिचान कायम भयो। गत पुस महिनामा खन्ना गार्मेन्टमा प्रचण्डले प्रधानमन्त्री बनाउन भारतले दबाब दिएको भन्दै बाबुरामलाई भारतपरस्तको आरोप गढेको समाचार पढेपछि बाबुरामको समर्थनमा अनलाइनमा धेरैले शब्द खर्चेका थिए। 'योभन्दा राजनीतिक बेइमानीको उदाहरण कांग्रेस र एमालेमा पनि छैन,' रूपेश बस्यालले साइप्रसबाट लेखे। 'बाबुराम भिजन भएका इमानदार नेता हुन्,' सिड्नीबाट सुमनले लेखे, 'भारत समर्थक भए दक्ष इन्जिनियर उनले मुलुकका लागि ज्यान जोखिममा पार्ने थिएनन्।'
उनले 'सहमति भए प्रधानमन्त्री बन्न तयार छु,' भनेपछि पाठकहरू उनको समर्थन गर्न पछि परेनन्। उनीबाट धेरै आस गर्दै टिप्पणी लेखियो। 'सक्षम नेता बाबुरामलाई एकपल्ट प्रधानमन्त्री बनाउनुपर्छ,' सोह्रखुट्टेका विकास राउतले टिप्पणी गरेका थिए, 'उनले मुलुकलाई सही दिशामा लैजान सक्छन्।' 
'पार्टी होइन मुलुकको पक्षमा निर्णय लिन सक्ने सक्षम नेतृत्वको खाँचो छ,' कीर्तिपुरका सुरेन्द्र महर्जनले लेखेका छन्, 'बाबुराममा त्यस्तो क्षमता भएकाले उनको समर्थन गर्छु।' अस्टे्रलियाका दीपक राईले लेखेका छन्, 'नेपालको विकासका लागि भिजन भएका बाबुरामलाई हामीले नेपालको उत्कृष्ट राजनेताको रूपमा मानेका छौं।'
पूर्वप्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाको मृत्युलगत्तै बाबुरामले राष्ट्रिय सहमतिका लागि एउटा खाकासहितको लेख प्रकाशित गरेपछि उनको तारपिm गर्नेको ओइरो लागेको थियो। झापाका एलिस पनेरूले लेखेका थिए, 'अरू नेताहरूको सोच पनि बाबुरामको जस्तो भइदिए मुलुकले निकास पाइसक्ने थियो।' सिन्धुपाल्चोकका रामबाबु नेपालले बाबुरामलाई मुलुकका चम्किला गहना मानेका छन्। 
'तपाई साँच्चिकै संकटमोचक हुनुहुन्छ। मुलुकलाई अघि बढाउने त तपाईंको दिएको सुझाव एक मात्र उपाय हो। तर तपाईंको पार्टीले यो सुझाव मान्ने कुरामा दुविधा छ,' शेखर न्यौपानेले क्यानाडाबाट लेखे।
लामो समयको द्वन्द्वबाट मुक्त भएलगत्तै ठूलो राजनीतिक आन्दोलन बेहोरेको मुलुकलाई उन्नतिको बाटोमा डोर्‍याउने 'नेता'को आवश्यकता भएको पाठकहरूका प्रतिक्रियाबाट बुझिन्छ। इकान्तिपुरमा प्रकाशित यिनै प्रतिक्रियाबाट नै सम्पूर्ण सत्य थाहा पाउन सकिँदैन होला। तर, यसैलाई आधार मान्ने हो भनेचाहिँ धेरैले गगन थापा, बाबुराम भट्टराई र रमेश खरेलमा त्यो आशाको किरण भेट्टाएका छन्। कोही यिनलाई माथ गर्ने गरी राम्रो काम र छवि लिएर आउँछ भने इन्टरेनटको संसारले तिनको पनि भव्य स्वागत गर्नेछ !
from..kantipur online