फिल्म राम्रो बनाउन कथा नयाँ चाहिन्छ भन्ने सधैं अनिवार्य हुँदैन। 'के देखाइएको छ' भन्दा पनि 'कसरी देखाइएको छ' भन्ने कुराले फिल्ममा बढी अर्थ राख्छ। फिल्म 'फस्ट लभ'को कथा पनि नौलो होइन। रोचक पात्र, रमाइला घटना र रचनात्मक दृश्यमार्फत् कथा देखाइएकोले यो फिल्म सराहनीय बनेको छ।
अरू समकालीन नेपाली फिल्ममा नपाइने र यसमा पाइने भनेको पात्रहरूको मनोविज्ञान हो। मनोविज्ञानमात्र होइन उनीहरूका संवेदनाको यात्रा पनि सन्तुलित छ। यसको जस निर्देशक सिमोश र लेखक प्रचण्ड श्रेष्ठको परिपक्वतालाई जान्छ।
संवेदनालाई अझ गाढा बनाउन विम्बात्मक दृश्यको सहारा लिइएको छ। आभा (निशा अधिकारी)लाई आफ्नो बनाउन नसक्दा गौरव (कर्म)ले आँसु झारेपछिको झरी र आयुष (आर्यन सिग्देल)बाट धोका पाउँदा आभाले आफूलाई धारामा भिजाइरहेको दृश्यले मनको गहिरो चोटलाई प्रतिविम्बित गर्छ। 'भिजुयल ल्याङ्ग्वेज'को सशक्त प्रयोग हो यो।
कलाकारहरूको चर्को (लाउड) अभिनयबाट मुक्त छ 'फस्ट लभ'। बलात्कारपछि नीतु (ऋचा शर्मा) रोएको दृश्य 'लाउड' हुनसक्थ्यो तर सँगै रहेको रोहण -विनय श्रेष्ठ)को सन्नाटाले स्थिति सम्हालिएको छ। अभिनयप्रति निर्देशकको ठीक बुझाइ र त्यसलाई आत्मसात गर्ने कलाकारले गर्दा यो सम्भव भएको हो। फिल्ममा छोटो भूमिका निर्वाह गर्ने कलाकारले समेत अभिनयमा हेल्चेक्राइँ गरेका छैनन्।
अरू फिल्मले जस्तै यसले पोखराको दृश्य छुटाएको छैन। तर, पोखराको प्रसंग तर्कसंगत र कथालाई उपयोगी छ। पोखरामै नीतुको रहस्य खुल्दै आउँछ। आभा र आयुषको सम्बन्ध शरीरको तहसम्म पुग्छ। आफू साँच्चिकै एक्लिएको महसुस गौरवलाई हुन्छ।
रोहणले नीतुलाई प्रेमप्रस्ताव राख्ने दृश्य र गौरव र आभाबीचको उत्तरार्द्धका प्रसंगहरू सुन्दर अनि मार्मिक छन्रु। फिल्मको सुरुवाततिरु गौरुवको घरुमा आयुष रु रुोहण केटी लिएरु आउने एउटै दृश्यबाट तीन मुख्य पात्रको चरुित्रचित्रण गर्न निर्देशक सफल भएका छन। फिल्मको सुरुवाततिर गौरवको घरमा आयुष र रोहण केटी लिएर आउने एउटै दृश्यबाट तीन मुख्य पात्रको चरित्रचित्रण गर्न निर्देशक सफल भएका छन्। आयुषले आफ्नो काखमा बसेकी युवती गौरवलाई दिने दृश्यले कथाको भविष्यबारे अग्रिम संकेत दिन्छ। नेपाली फिल्मलाई एउटा फोटो-एल्बम मान्ने हो भने 'फस्ट लभ'का आर्यन, निशा, कर्म, विनय र ऋचा यो एल्बममा विविधता थप्ने अनुहारहरू साबित भएका छन्।
आयुषले आभालाई र रोहणले नीतुलाई प्रेम प्रस्ताव राखेपछि केही 'डिटेल' दृश्यहरू सिर्जना गरिएको भए 'इमोसन'को 'ग्याप' देखिँदैनथ्यो। पूर्वाद्धका दृश्यहरूमा साँघुरा 'सट साइज'हरूले उकुसमुकुस बनाउँछ, जबकि ती दृश्यहरूमा फराकिला फ्रेम उपयुक्त हुन्थे। कुनै-कुनै दृश्यमा 'क्यामेरा प्लेसिङ' सही विन्दुमा नहुँदा र अनुहारको 'एक्सप्रेसन'ले पुग्ने दृश्यमा अनावश्यक संवाद ठोस्दा कलाकारले अभिनय नै गर्न नजानेको जस्तो देखिएको छ।
रोहण र नीतुबीचको प्रसंग हिन्दी फिल्म 'दस कहानिया'को 'जाहिर' भन्ने कथाबाट प्रभावित छ। छोटो फिल्मको त्यो 'थिम'लाई 'फस्ट लभ'मा घुसाउँदा कथाको मिठास घटेको छ।
फिल्मका पात्रहरूले बोल्ने अधिकांश संवाद बोलीचालीको लाग्दैन, लेख्य संरचनाको छ। अर्थात् पात्रहरू सधैं पूरै वाक्य र व्याकरण मिलाएर बोल्छन्। संवादलाई पात्रको स्तरभन्दा बढी साहित्यिक र दार्शनिक बनाइएको छ।
अन्त्यतिरको 'कन्फेसन'को झमेलाले फिल्मको बहावमा अवरोध पैदा हुन्छ। 'कन्फेसन'मा 'इमोसन'लाई ज्यादै 'स्विङ' गराइएको छ। ती सबै उतारचढाव घटनाहरूमा खण्डित गरिनुपर्थ्यो।
आयुषले आभालाई फोन नगरीकन नै चीन जानुको कारण खुल्दैन। उसले चीनबाट पनि आभासँग फोनमा कुरा गर्नसक्थ्यो। ऊ वास्तवमै धोकेबाज हो कि भन्ने भ्रम खडा गरिएको छ, जुन तर्कसंगत छैन। फिल्ममा बिझाउने पक्ष भनेको फाइट र गीत हो। फाइट अनावश्यक लामा छन् भने गीतले त 'इमोसन' ब्रेक नै गरिदिएको छ।
मान्छेको पहिलो प्रेम सफल हुनुपर्छ भन्ने निर्देशकको ढिपीसित सहमत हुने ठाउँ छैन। नीतु र रोहणको प्रेम सफल र आयुष र आभाको असफल देखाइएको भए, पहिलो प्रेम कसैको सफल त कसैको असफल हुन्छ भन्ने ध्रुवसत्यमा बल पुग्थ्यो। आखिर निर्देशक सिमोशको फिल्मप्रतिको प्रेम पनि दोस्रोमा मात्र सफल भएको हो।
from:nagariknews.com












